s

मजदुरी गर्न भारत लगिएका लखनको ठेकेदारको कुटपिटबाट मृत्यु

सौरभ यादव

भारतको समाना पटियालामा मजदुरी गर्न लगिएका सप्तरीको कञ्चनरूप नगरपालिका– २ रामटोलका ५२ वर्षीय लखन राम मुसहरको शंकास्पद मृत्यु भएको छ । गत १८ असोजमा ठेकेदार इनरजित यादव र लक्ष्मी दासले मुसहरलाई चार हजार रुपैयाँ दिएर पन्जाबको समाना पटियालास्थित मित्तल राइस सेल कम्पनीमा मजदुरी गर्न लगेका थिए । दैनिक आठ घन्टा काम गर्ने सर्तमा लगिएका मुसहरलाई १८ घन्टासम्म काममा लगाइएको उनीसँगै गएका सहकर्मीको भनाइ छ । सुतेकै ठाउँमा उनी आइतबार बिहान कोठामा मृत फेला परेका थिए । उनको शव मंगलबार नेपाल आइपुगेको छ ।

लखनसँगै कञ्चनरूपका अन्य सातजना पनि त्यही राइस मिलमा काम गर्न गएका थिए । २२ वर्षीय नरेश रामले ठेकेदारले १८ घन्टासम्म काम लगाएको र एक छाक मात्र खाना दिने गरेको बताए । ‘ठेकेदार इनरजित यादव र लक्ष्मी दासले आठ घन्टा काम गराउने सर्तमा लिएर गएका थिए । लखन काकाले तोकिएभन्दा बढी समय काम नगरेपछि ठेकेदार इनरजितले कुटपिट गरेका थिए,’ उनले भने, ‘त्यही कारण उहाँको राति सुतेकै ठाउँमा मृत्यु भयो ।’

लखनकी श्रीमती दोमानीदेवीले धेरै घन्टा काममा लगाएर खानै नदिई कुटपिटबाट श्रीमान्को मृत्यु भएको बताइन् । ‘आठ घन्टा काम र दुई छाक खान–बस्नेसहित मासिक १६ हजार नेपाली रुपैयाँ दिन्छु भनेर मेरो पतिलाई लिएर गएका थिए । तर, १५ देखि १८ घन्टासम्म कम गराउन थालियो । उहाँले नमानेपछि कुटपिट गरिएको मलाई फोनमा भन्नुभएको थियो,’ उनले भनिन् । दोमानीदेवीका अनुसार धेरै समय काममा लगाएपछि आफूले काम गर्न नसकेको लखनले बताएका थिए । उनलाई एउटा रुममा बन्द गरेर दुई दिनसम्म खानै नदिई यातना दिइएको थियो । ‘एउटा रुममा बन्द गरेर राखेको छ । दुई दिनदेखि भोकै छु । खाना पनि दिएको छैन । सुत्न पनि समस्या छ । बोरा ओढेर सुतेको छु,’ लखनले फोनमा भनेको कुरा उद्धृत गर्दै दोमानीदेवीले भनिन् । आइतबार बिहान नरेश रामले फोन गरेर लखनको मृत्यु भएको खबर सुनाएपछि दोमानीदेवी बेहोस भएकी थिइन् । ‘मेरो श्रीमान्को मृत्यु ठेकेदारकै कारण भएको हो । दोषीलाई कारबाही हुनुपर्छ । हामीलाई न्याय चाहियो,’ उनले भनिन् ।

लखनसँगै गएका ६ मध्ये दुईजना लखनको शव लिएर मंगलबार आएका छन् । अर्का एकजना दुई महिनाअघि नै भागेर घर आएका थिए । तीनजना अझै ठेकेदारको बन्धकीमा रहेको ४० वर्षीय देवसुन्दर रामले बताए । अझै राइस सेल मिलमा रहेकामा ३५ वर्षीय किशोरी राम, १५ वर्षीय मोहम्मद निराज र २५ वर्षीय मोहम्मद रहिम छन् ।

कञ्चनरूप नगरपलिका– ९ का ठेकेदार इनरजित यादव र लक्ष्मी दासविरुद्ध पीडित परिवारले बुधबार इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दर्ता गराएका छन् । ठेकेदारको बन्धकीमा रहेका ३५ वर्षीय किशोरी रामकी श्रीमती करयाहीदेवी राम, मोहम्मद निराजकी आमा खुबिया खातुन, मोहम्मड रहिमकी आमा हजमुल खातुन, नरेश राम र देवसुन्दर रामले ठेकेदार संयुक्त रूपमा इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएका हुन् ।

इलाका प्रहरी कार्यालयका डिएसपी रामकुमार यादवले ठेकेदारसँग सम्पर्क गर्न प्रयास भइरहेको बताए । ‘ठेकेदार इनरजित यादव र लक्ष्मी दास भारतमै छन्, उनीहरूसँग सम्पर्क गर्न कञ्चनरूप नगरपालिकामा रहेको उनको परिवारसँग प्रयास भइरहेको छ,’ उनले भने । लखन रामको परिवारले हालसम्म जाहेरी नदिएको र जाहेरी परे कानुनअनुसार कारबाही गर्ने उनले बताए ।

Published on: 29 December 2022 | Naya Patrika

Link

Back to list

;