s

मजदुरी गर्न भारत गएका २६ बालकलाई नेपाल फर्काइयो

मनिका झा

नेपालबाट मजदुरीका लागि भारत गएका २६ बालकलाई २३ दिनपछि घर फर्काइएको छ।  धनुषा, महोत्तरी, सिरहा र सप्तरीबाट विभिन्न समूहमा मजदुरीका लागि  भारत गइरहेका बालकहरुलाई चैत १३ गते भारतको बाल कल्याण समिति अन्तर्गतको बालबालिका सुरक्षा समूहले नियन्त्रणमा लिएको थियो। 

बिहार राज्यको सीतामढीमा बसमा चेकजाँचका क्रममा बालकहरुलाई नियन्त्रणमा लिइएको थियो। बालकहरु मद्रास र चेन्नई गएर मजदुरी गर्ने योजना बनाइ बसमा जाँदै गरेका थिए। उनीहरुले भारतीय  सुरक्षा अधिकारीसमक्ष योजना सुनाएपछि नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएका बालकहरुमा धनुषाका ९ जना, महोत्तरीका १२ जना, सिरहाबाट ३ जना र सर्लाहीका २ जना थिए।  १४ देखि १८ वर्ष उमेर समूहका बालकहरुलाई सीतामढीकै बरियापुर स्थित बालगृहमा राखियो। 
 
नेपालबाट आएका बालकहरुलाई घर फिर्ता पठाउनका लागि भारतीय बालकल्याण समितिका पदाधिकारीहरुले नेपालमा सामाजिक अभियन्ता सरोज राय र केन्द्रीय बाल कल्याण समितिका कार्यक्रम अधिकृत संजीव महतोलाई फोनमार्फत सम्पर्क गरेको थियो। भारतीय बालगृहमा रहेका बालकहरुलाई घर पठाउन अधिकारिक दस्तावेजको माग भारतीय प्रशासनले ग¥यो। सोहीबेला प्रदेश २ को बारा र पर्सामा हावाहुरी आउँदा उनीहरुलाई फर्काउन ढिलाई भयो। 
 
बालकहरुको घर परिवार पहिचान गरी जिल्ला प्रशासन कार्यालय धनुषाको तर्फबाट बालकहरु फर्काउन भारतीय बालकल्याण समितिलाई परिपत्र गरिएको थियो। समितिले केन्द्रीय बालकल्याण समितिको पत्र नआएसम्म नफर्काउने जवाफ पठायो। समितिले एकसाताअघि भारतको बालगृहमा रहेका २६ नेपाली बालकहरुको पहिचानसहित पत्र भारतीय पक्षलाई पठायो। सो पत्रमा केन्द्रीय बालकल्याण समितिका तर्फबाट कार्यक्रम अधिकृत संजीव महतो, छोराछोरी नेपाल गैरसरकारी संस्थाका प्रतिनिधि र सामाजिक अभियन्ता सरोज रायलाई आधिकारीक व्यक्ति तोकेर बालकहरुलाई जिम्मा लगाउन अनुरोध गरिएको थियो। 
 
पत्र पाएको तीन दिनपछि भारतीय पक्षले बच्चाहरुलाई जिम्मा लिन आधिकारिक पत्र पठाउँदै अनुरोध गरेपछि शुक्रबार तोकिएका प्रतिनिधिहरुले सीतामढीको बालगृहबाट बच्चाहरुलाई उद्यार गरी नेपाल ल्याएका हुन्। ‘हामीले बच्चाहरुको जिम्मेवारी लिएर आउँदा पनि भारतीय समितिका तर्फबाट एकजना पदाधिकारी सीमासम्म छाड्न आएका थिए,’ सामाजिक अभियन्ता रायले बताए। भारतबाट उद्धार गरी ल्याइएका बालकहरुमध्ये धनुषाका ९ जनालाई शुक्रबार राति नै प्रमुख जिल्ला अधिकार प्रदीप कणेलको उपस्थितिमा परिवारको जिम्मा लगाइयो। त्यसैगरी महोत्तरीका १२ जनालाई पनि परिवार घर लगे। सिरहा र सर्लाहीका ५ जनालाई शुक्रबार राति जनकपुरमै एक गैरसरकारी संस्थाको संरक्षणमा राखी शनिबार बिहान परिवारको जिम्मा लगाइएको बालकल्याण समितिका महतोले जानकारी गराएका छन्। 
 
अति विपन्न परिवारका बालकहरु परिवारकै सहमतिमा  श्रम गर्न भारत जान लागेका थिए। बालमजदुरीलाई नियन्त्रण गर्न तथा मानव तस्करीबाट जोगाउन पछिल्लो समय भारतीय प्रशासनले बढाएको निगरानीका कारण बालकहरु नेपाल फर्काइएका अभियन्ता रायले बताएका छन्।
 
Published on: 21 April 2019 | Annapurna Post

Back to list

;