s

मजदुरी गर्दै कविता कोर्दै

स्थायी ठेगाना स्याङ्जाको क्याक्मीमा भए पनि भारतको मेघालय सिलोङमा १५ जेठ २०२० मा जन्मेका हुन् कवि इन्द्र राना । उनको बुबाआमा रोजगारको क्रममा भारत गएका थिए । उनी भारतकै विद्यालयमा पढ्न थाले । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उनले कक्षा पाँचसम्म मात्र अध्ययन गर्न सके । त्यसपछि उनी कामको खोजीमा लागे । १३ वर्षको उमेरदेखि मजदुरी सुरु गरे । सुरुमा पानी वितरण गर्ने सबडिभिजनमा काम गरे । त्यसवेला उनको दैनिक ज्याला मात्र तीन रुपैयाँ थियो । पानीको काम तीन चार वर्ष गरे । त्यसपछि अन्य ज्यालादारी र मजदुरीका काममा समय बिताए ।

करिब २२ वर्ष भारतमै बसेर ०४२ सालमा नेपाल फर्के । भन्छन्, ‘मलाई भारत बसिरहन मनै लागेन ।’ नेपाल फर्केपछि उनी आफ्नो पुख्र्याैली थलो क्याक्मी आएर एक वर्ष बसे । विद्यालय भर्नासमेत भए, तर विज्ञान र गणित पढ्न गाह्रो भएपछि उनले पढाइ छाडे । त्यसपछि रोजगारीको खोजीमा ०४३ सालमा पोखरा आए ।

पोखरा आएपछि सुरुमा चाइनिज कम्पनीको निर्माण क्याम्पमा बसे र ओल्डिङको काम गरे । ती दिन सम्झिँदै उनी भन्छन्, ‘तलब मासिक १३ सय रुपैयाँ थियो । त्यहाँ ३० महिना काम गरे ।’ त्यसपछि उनले पोखराको न्युरोडमा दैनिक ३५ रुपैयाँमा ज्यामी काम गरे । पछि मिस्त्री बने । मिस्त्री बन्दा उनको ज्याला दैनिक ५० रुपैयाँ पुग्यो । पछि रंगको काम पनि सिके । त्यसपछि उनको ज्याला बढेर ६० रूपैयाँ पुग्यो ।

घर रंग्याउने काम सधैँ पाएनन् । त्यसपछि पोखराको नारायणस्थान मन्दिरमुनिको सेती नदी किनारबाट बालुवा बोक्ने र चाल्ने काम गरे । पोखरामा यसरी नै उनको करिव ३७ वर्ष वित्यो । हाल उनले विगत ६ महिनादेखि पोखराको विन्ध्यवासिनी मन्दिरमा कर्मचारीको रूपमा नरिवल फुटाउने र प्रसाद बनाउने काम गर्दै आएका छन् ।

कवि इन्द्रले ०३९ सालमा विहे गरे । नेपाल आउँदा एक छोरीको जन्म भइसकेको थियो । त्यसपछि एक छोरी र दुई छोराको जन्म भयो । चार वर्षअघि श्रीमतीको मृत्यु भयो । ठूली छोरीको बिहे भइसक्यो । ठूलो छोरा रोजगारीका लागि विदेशमा छन् भने सानो छोरा प्लस टु र छोरी एसइई दिएर बसेकी छिन् ।

 यसरी गयो साहित्यतिर मन

‘भारतमा हुँदा थुप्रै हिन्दी पत्रपत्रिकाहरू पढ्थेँ । वेद प्रकाश शर्मा, ओम प्रकाश शर्मा लगायतका लेखकहरूको उपन्यास पढेँ,’ उनी भन्छन् । पछि सुवास घिसिङ, प्रकाश कोविदहरूको उपन्यास र अन्य किताब पनि पढ्न सुरु गरे । पत्रपत्रिका र उपन्यास पढ्ने क्रममा लेख्ने बानी बढ्दै गयो । फुटकर कविता लेखे । एक दिन उनको साथी वीरेन्द्र तुम्बापो ‘प्रतीक’ उनको कोठामा आए । उनले इन्द्रले लेखेका कविताहरू देखे । छापिन लायक कविताहरू देखेपछि उनले लिएर गए ।

इन्द्रका अनुसार त्यसवेला ‘सहकारी समीक्षा’ भन्ने मासिक पत्रिका छापिन्थ्यो । सोही पत्रिकामा पहिलोपटक उनको एउटा कविता छापियो । शीर्षक थियो, ‘अधिकार लिन जुटाैँ ।’ इन्द्र भन्छन्, ‘यो ०३७ सालको कुरा हो ।’ पत्रिकामा आफ्नो नामसहित कविता छापिएपछि उनी दंग परे । ‘मेरो नाम पनि पत्रिकामा छापिएछ, भन्दै उनी धेरै खुशी भए,’ इन्द्र हाँस्दै सुनाउँछन्,‘मैले पनि लेख्न सक्ने रहेछु भन्ने आँट आयो ।’

इन्द्रको आत्मविश्वास बढ्यो । त्यसपछि उनले अन्य पत्रपत्रिकामा पनि कविता पठाउन थाले । भारतमा रहँदा उनका एक दर्जन कविता विभिन्न पत्रपत्रिकामा छापिए । इन्द्र भन्छन्, ‘सायद मेरो भेट प्रतीकसँग नभएको भए आजको अवस्था आउने थिएन । उहाँको प्रेरणाले उपन्यास र पत्रिका पढ्न थालेँ । आज मैले कविका रूपमा जसरी परिचय बनाएको छु यसमा प्रतीकको योगदान ठूलो छ ।’ भारतमा रहँदा उनले २५ बटा कविता सिर्जना गरेका थिए । त्यसमध्ये एक दर्जन पत्र–पत्रिकामा छापिए ।

नेपाल आएपछि लमजुङका कवि तथा प्रकाशक दीपक सोतीसँग इन्द्रको भेट भयो । दीपकले त्यसवेला ‘समय धारा’ भन्ने मासिक पत्रिका प्रकाशन गर्थे । दीपकले उनलाई पोखराका लेखकहरूलाई चिनाउन मदत गरे । लेखकहरूसँगको चिनजानपछि साहित्यका विभिन्न कार्यक्रममा जाने बानी बस्यो । त्यसपछि उनको हिम्मत झनै बढ्यो । स्थानीय पत्रपत्रिकामा आफ्नो रचना पठाउन सुरु गरे । विस्तारै उनी पोखरामा स्थापित भए ।

विगत केही वर्षदेखि स्याङ्जाका व्यवसायी सुरज उपाध्यायले पनि उनलाई सहयोग गरिरहेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उनले मजदुरी नगरी सुखै थिएन । भन्छन्, ‘यहाँ काम गर्नुभन्दा पहिले म दिनभरि मजदुरी गर्थें, अनि बेलुकी घरमा गएर कविता लेख्न बस्थेँ । कुनै कविता पूरा गर्न केही महिना लाग्थ्यो । केही एक दिनमै तयार हुन्थे ।’

कविता त्यत्तिकै लेख्न नहुने र कविमा जिम्मेवारीबोध हुनुपर्ने इन्द्रको भनाइ छ । सिर्जनाका लागि कसरत गर्नुपर्ने पनि उनी बताउँछन् । भन्छन्, ‘सिर्जनाका लागि ठूलो कसरत गर्नुपर्छ ।’ केही साताअघि मात्रै उनको कवितासंग्रह ‘भुइँ मान्छेका कविता’ काठमाडौंमा विमोचन भयो । कवितासंग्रह प्रकाशित भएपछि अब केही गर्नुपर्छ भन्ने आँट र जाँगर बढेको उनी सुनाउँछन् । भन्छन्,‘जबसम्म आँट र जाँगर रहिरहन्छ तबसम्म मेरो कलम रोकिँदैन ।’

कवि इन्द्र मान्छे मरेर जान्छ, तर विचार कहिल्यै मरेर जाँदैन भन्छन् । उनी विचारको लडाइँ लड्न छाड्नु हुँदैन र कहिल्यै पनि थाक्नुहुँदैन भन्छन् । आफ्नो विचार धारिलो बनाउन उनले पुस्तक किनेर पढे । अग्रज लेखकका पुस्तक अध्ययन गर्न थालेपछि बलियो र सशक्त कविताहरू सिर्जना गर्ने क्षमता बढेको उनको अनुभव छ । भन्छन्, ‘विनाअध्ययन सिर्जना गर्न सकिँदैन । खुराकका लागि पनि पढ्न त पर्‍यो । समय मिलेसम्म म दिनभर पढेर बस्छु । नपढीकन त आजकाल निद्रै नलाग्ने भइसक्यो ।’

विश्व मजदुर दिवसका दिन १९ वैशाखमा उनको कवितासंग्रह बजारमा आयो । यो पहिलो संग्रहमा ३३ वटा कविता छन् । सोही दिन काठमाडाैंमा उनको पहिलो एकल कवितावाचन कार्यक्रमसमेत भएको थियो । सोही कार्यक्रममा उनले ५१ हजार राशीको पुरस्कार समेत पाए । उनको कवितासंग्रह ‘बुक्स हिमालय’ले प्रकाशन गरेको हो । कवितासंग्रह बिक्रीबाट आएको शतप्रतिशत रकम प्रकाशकले स्रष्टालाई नै दिने र वर्षको एउटा किताब प्रकाशन गर्ने बचन समेत दिएको छ । इन्द्र भन्छन्, ‘बाल्यकालमा मेरा केही सपना थिएनन् । तर, अहिले धेरै सपनाहरू सजाएको छु । केही गर्नुपर्छ भन्ने आँट र विश्वास ममा पलाएको छ ।’

Published on: 14 June 2023 | Naya Patrika

Link

Back to list

;