s

मजदुरी छाडेर फर्किए मतदाता

जनक नेपाल, प्रकाश अधिकारी
 
बराहताल गाउँपालिका ६ बिउरेनीका उदयराज गिरी सिन्धुपाल्चोकको चौतारामा डकर्मीको काम गर्छन् । प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा मतदान गर्न उनी घर फर्किएका छन् । उनीसँगै त्यहॉ पुगेका तीन युवा पनि मतदानका लागि आएका छन् । 
 
रोजगारीका लागि पहिले भारत जाने गिरी डेढ महिनाअघि भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माणका लागि पुगेका हुन् । चुनाव सकिएको भोलिपल्टै फर्किने गरी आफ्नै खर्चमा घर आएको उनी बताउ‘छन् । ‘इन्डिया जानाले सूचीमा नाम नहु‘दा स्थानीय चुनावमा घरमै भएर पनि भोट हाल्न पाइएन,’ अमरज्योति आधारभूत विद्यालय बिउरेनी केन्द्रमा मतदाता परिचयपत्र लिन आएका उनले कान्तिपुरसित भने, ‘भदौमा परिचयपत्रका लागि फोटो खिचाएर उता (सिन्धुपाल्चोक) गएको हुँ । राम्रो नेताले जिते विकास होला भन्ने ठानेर फर्किएँ ।’
 
गिरीसँगै जितबहादुर नेपाली र रंगलाल नेपाली पनि भोट खसाल्नकै लागि काम छाडेर आएका छन् । भोट दिन फर्किएका मतदाताका कारण गाउ‘मा चलहलपहल बढेको छ । ‘रोजगारी पाए घर छाडेर टाढा जानुपर्दैन,’ रंगलालले भने, ‘गाउ‘घर र आफ्नै जिल्लामा रोजगारी भए को विदेशिन्थ्यो, को भौतारिन्थ्यो ? कलकारखाना खोल्ने सरकार बन्नुपर्छ ।’ कच्ची सडक बने पनि बिजुली नहुँदा गाउँमै व्यवसाय गर्न समस्या भएको उनले बताए । सिन्धुपाल्चोकमा डकर्मी र सिकर्मीको काम गरिरहेका बिउरेनीका ४० जना मतदाता चुनावकै मुखमा घर फर्केका छन् । सुकुटेमा भूकम्पपीडितको घर निर्माणमा संलग्न पोखरीकाँडाका लक्षुमन बुढा पनि मतदानकै लागि मंगलबार आफ्नो चार जनाको टोलीसहित फर्किए । ‘अब चुनिने जनप्रतिनिधिले गाउँको विकासमा ध्यान दिऊन् भन्ने मेरो चाहना छ,’ लक्षुमनले भने । वीरेन्द्रनगरमा व्यापार गर्दैआएकी पोखरीकॉडाकी तुल्सी बीसी पनि पसल बन्द गरेर भोट हाल्न गाउ‘ पुगेकी छन् । उनको सिंगो परिवार र आफन्त पनि फर्किएको छ । ‘पॉच वर्षमा आउने चुनाव हो । राम्रो मान्छे जिताउन सके मात्र विकास होला भन्ने लाग्छ,’ उनले भनिन्, ‘भोट नदिए नेतालाई गाली पनि कसरी गर्नु ?’ सिद्धपाइला कलेजमा बीबीएस पढ्दै गरेकी शान्ति बीसी पनि मतदानका लागि घर फर्केकी छन् । प्रतिनिधिसभा सदस्य छनोट गर्न उनले पहिलोपल्ट मतदान गर्न लागेकी हुन् । 
 
मतदान गर्न विभिन्न पेसा व्यवसायका क्रममा गाउँ बाहिर रहेकाहरू धमाधम फर्किएका छन् । कतिपय मतदातालाई उम्मेदवार एवं उनीहरूका शुभेच्छुकले यातायात खर्चको बन्दोबस्तसमेत गरिदिएका छन् । धेरै मतदाता हुने ठाउँबाट गाडी रिजर्भसहित मतदाताहरूलाई गाउँ फर्काएको दलका नेता/कार्यकर्ता बताउ‘छन् । विशेषगरी काठमाडौं, नेपालगन्ज र वीरेन्द्रनगरमा रहेका आ– आफ्ना पार्टीनिकट मतदातालाई प्रतिस्पर्धीहरूले गाडी रिजर्भको व्यवस्था मिलाएका हुन् । मतदानको अघिल्लो दिन गाउँ फर्किनेहरूको जताततै लस्कर देखिएको थियो । 
 
Published on: 7 December 2017 | Kantipur

Back to list

;