s

मजदुर संगठनको माग– श्रमिकको तलब भुक्तानी देऊ

१३ वैशाख, वीरगञ्ज । विभिन्न पार्टी निकट मजदुर संगठनले श्रमिकको पारिश्रमिक भुक्तानी गर्न माग गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्षहरुले संयुक्त विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेका हुन् ।

सरकारले २०७६ चैत १६ गते औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुले खाइपाइ आएको सम्पूर्ण पारिश्रमिक उपलब्ध गराउनु पर्ने निर्णय गरेको भन्दै उनीहरुले श्रमिकको पारिश्रमिक उपलब्ध गराउन माग गरेका हुन् । सोही अनुसार श्रम कार्यालय वीरगञ्जले सबै प्रतिष्ठानहरुमा परिपत्र गरी सके  पनि हालसम्म अधिकांश प्रतिष्ठानहरुले तलब भुक्तानी नगरेको विज्ञप्तिमा उल्लेख छ ।

संकट अवस्थाबाट गुज्रीरहेको उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा ल्याउन सहमतिका साथ सहकार्य गर्न तत्पर रहने प्रतिबद्धताका साथ श्रमिकहरुको हालसम्मको खाईपाई आएको सम्पूर्ण तलब सुबिधा भुक्तानीको लागि विज्ञप्तिमा माग गरिएको छ । त्यस्तै अत्यावश्यक सेवा अन्र्तगतका उद्योग प्रतिष्ठानहरुमा विश्व स्वास्थ्य संगठनद्वारा निर्धारित करोना माहामारी रोकथामको लागि अपनाउनु पर्ने प्रावधानका साथ सामाजिक दुरी कायम राख्दै उत्पादन कार्यमा संलग्न रहन विज्ञप्तिमा अपिल गरिएको छ । 

वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत करिब २०० जना कर्मचारीहरुलाई सेवाबाट हटाइएको विषयमा पनि ट्रेड युनियनले ध्यानाकर्षण भएको जनाएका छन् । कर्मचारीलाई विषम परिस्थितिमा बेरोजगार बनाइएको कार्यप्रति घोर भत्र्सना गर्दै सेवाबाट हटाइएका ती कर्मचारीहरुलाई स–सम्मान पुर्नबहाली गरी तलब भता उपलब्ध गराउन माग गरिएको छ । 

नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष कमलेश झा, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन चिमरिया र नेपाल ट्रेड युनियन कांग्रेस तथा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश कमिटिका अध्यक्ष लक्ष्मणप्रसाद कुर्मीले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । 

अनावश्यक भ्रम सिर्जना गरी श्रमिकको पारिश्रमिक तथा अन्य सुबिधा कटौती गरे औद्योगिक वातावरणमा खलल पुग्ने र त्यसको जिम्मेवार सम्बन्धित पक्ष नै हुने समन्वय केन्द्र प्रदेश कमिटिका अध्यक्ष कुर्मीले बताए ।

Published on: 25 April 2020 | Onlinekhabar

Link

Back to list

;