s

मजदुर र विपन्नलाई राहत दिन नगरपालिकाद्वारा १५ लाख विनियोजन

केदार थापामगर, खोटाङ्ग

 

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउन १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। 

नगरपालिकाको ‘लोककल्याणकारी नीति’अनुसार लकडाउनको मारमा परेका मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले बजेट विनियोजन गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए। 

‘अब लकडाउनकै कारण नगरपालिकाभित्र कसैले पनि भोकभोकै बस्नुपर्ने छैन,’ उनले भने, ‘विपन्न परिवार र दैनिक ज्यालादारी मजदुरलाई आवश्यकताको पहिचान गरेर खाद्यान्न उपलब्ध गराउने नीति हामीले लिएका छौँ।’ 

खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापनका लागि प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ। १५ वडा रहेको नगरपालिकाले यसअघि दिक्तेल–खानीडाँडा सडक निर्माणको काममा खटिएका उदयपुर र पथरी मोरङका १९ कामदार तथा दिक्तेल बजारका १७ विपन्न परिवारलाई १५ दिन पुग्ने खाद्यान्न उपलब्ध गराएको थियो। 

विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण नियन्त्रणका लागि पूर्वतयारी थालेको नगरपालिकाले चैत महिनाको घर तथा जग्गा भाडासमेत छुट गर्न घर तथा जग्गाधनीलाई आग्रह गरेको छ। लकडाउनको कारण मारमा परेका नगरवासीका लागि नगरपालिकाले चैत महिनाको फोहाेरमैला व्यवस्थापन शुल्क नलिने निर्णयसमेत गरेको छ। 

लकडाउनको समयमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीको कामको उच्च मूल्यांकन गर्दै उचित प्रोत्साहन भत्ताको व्यवस्थासमेत गरिने मेयर रिजालले बताए। 

१५ जना होम क्वारेन्टाइनमा

दिक्तेल नगरपालिकामा विदेशबाट फर्किएका १५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ। नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनभन्दा होम क्वारेन्टाइन उपयुक्त भएकाले स्वास्थ्यकर्मीको निगरानीमा उनीहरूलाई होम क्वारेन्टाइन राखिएको नगरप्रमुख रिजालले बताए। नगरपालिकामा ३६ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। नेपाली सेनाको सहयोगमा निर्माण गरिएको ३६ शय्याको क्वारेन्टाइनमा हालसम्म एकजना पनि बसेका छैनन्। 

विदेशबाट फर्कने व्यक्तिलाई जनप्रतिनिधिले नै घरमा क्वारेन्टाइनमा बस्न सल्लाह दिने गरेका छन्। यसले जिल्लामा कोरोना संक्रमण फैलिने त्रास बढेको स्थानीयको भनाइ छ। खोटाङ जिल्लामा अहिलेसम्म आठजनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ।

Published on: 2 April 2020 | Nayapatrika

Link

Back to list

;