s

मजदूर भोक भोकै बस्नु पर्दैन : भरतपुर महानगरपालिका

चितवन - भरतपुर महानगरपालिकाले दैनिक ज्यालादारी गरी जीवन गुजार्ने मजदूरलाई  बन्दाबन्दी (लकडाउन) समयमा आफ्नो घर जान नपर्ने जनाएको छ। कोभिड–१९को जोखिम हुन नदिन सरकारले लकडाउन जारी राखेको छ।मजदूरलाई खानका लागि राहतको व्यवस्था गरेको जनाउँदै  महानगरपालिकाले जहाँ रहेको हो त्यही ठाउँमा बसेर लकडाउनको पालना गर्न आग्रह समेत गरेको छ। 

महानगपरपालिका प्रमुख रेनु दाहालले पहिलो चरणमा १२ हजार ८ सय ३६ परिवारलाई राहत वितरण गरिसकेको र राहतको अवश्यकता भएका ज्याला मजदूरी गरेर बस्नेलाई  राहत प्रदान गर्दै जाने  बताइन। उनले भनिन, खानाको अभावले बाहिर भौतारिनु पर्दैन। उद्योग, कलकारखाना, व्यवसायीक प्रतिष्ठान जहाँ रहेका छन् ती ठाउँहरुमा काम गर्नेहरुलाई सम्बन्धित कम्पनीहरुले समेत खानाको व्यवस्था गरिरहेका छन्। असंगठित ठाउँमा काम गर्ने मजदूर समस्यामा परेका हुन। 

उनीहरुलाई महानगरले राहत दिएको छ। सङकटको घडिमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै उनले अत्यावश्यक भएका परिवारले मात्र राहत लिइदिन आग्रह गरेकी छिन्। वडा कार्यालयबाट राहत बितरण गरिएको छ। काठमाण्डौँ सहित विभिन्न शहरबाट भरतपुर महानगर हुँदै आ–आफ्नो गन्तव्य हिडेकाहरुलाई यहाँ खानाको व्यवस्था समेत गरिएको छ। नेपाली युवा उद्यमी मञ्चले नारायणगढ र स्थानीयले रामनगरमा पैदल यात्रु र खान नपाएकाहरुलाई स्थानीय तहसंग सहकार्य गरेर दिनहुँ खानाको प्रबन्ध मिलाउँदै आएका छन्। 

भरतपुर महानगरपालिकाले पहिलो चरणमा १ हजार २ सय १७ कुइन्टल चामल, १ सय १९ कुइन्टल दाल, ४ हजार २ सय ५१ लिटर तेल, १ हजार ३ सय ७५ किलो नुन, ३ हजार २ सय ५६ गोटा साबन, २ हजार ४ सय १५ क्रेट अण्डा, १५ कुईन्टल आलु र चना, २ हजार ३६ प्याकेट भुजा वितरण गरेको जनाएको छ।

Published on: 14 April 2020 | Nagarik

Link

Back to list

;