s

मजदुर भन्छन्- ‘सरकार घर पुर्‍याइदेऊ’

गणेश राई

काठमाडौँ — सल्यानको त्रिवेणी–१ की चम्पा गोतामे यतिखेर ललितपुरको नख्खुखोला किनारमा पालमुनि दिन काटिरहेकी छन् । माइतमा आमा बिमारी भएको खबरले राम्ररी निद्रा पनि परेको छैन । ‘घरबाट फोन आएको आइछ ।

जाऊँ कसरी जाऊँ, लकडाउन छ,’ आँसु झार्दै उनले भनिन्, ‘लौन सर, हामीलाई घरसम्म पुर्‍याउने व्यवस्था गरिदिनुपर्‍यो।’

चम्पा गत माघमा काठमाडौं आएकी हुन्। त्यसयता अधिकारसम्पन्न वाग्मती एकीकृत विकास समितिअन्तर्गत नख्खुखोला करिडोर निर्माणमा दैनिक ज्यालादारीमा काम गर्दै आएकी छन्।

उनको घरमा टीबीका बिरामी श्रीमान्, आफूबाट बच्चा नभएपछि भित्र्याइएकी सौतेबैनी र दुई छोराछोरी छन्। श्रीमान्को कमजोर स्वास्थ्यकै कारण मजदुरी गर्न काठामाडौं आएको उनले सुनाइन्। 

चम्पासँगै जाजरकोटको भेरी–३ की प्रमिला विक र बाँके, कोहलपुरकी अमृता खत्री बस्छन्। खोला किनाराको उराठलाग्दो बगरमा एउटै पालमुनि गुम्सिएर बस्नुपरेको उनीहरूले सुनाए। अमर कन्स्ट्रक्सन कम्पनीअन्तर्गत कार्यरत उनीहरू ललितपुर–१५ र २५ मा पर्ने भैंसेपाटी मुनिको खोलामा काम गर्दै आएका छन्।

लकडाउनपछि पालभित्रबाट आफ्नो ‘लेडिज ब्याग’ चोरी भएको चम्पाले बताइन्। ‘पैसा धेरै थिएन तर त्यसभित्रको सामान झिकेर लगेछ, झोलाचाहिँ च्यातेर फालेको फेलापर्‍यो,’ उनले सुनाइन्।

सरकारले लकडाउन गरेपछि यस करिडोरमा काम गर्दै आएका ९० जना मजदुरले काम गर्न पाएका छैनन्। तीमध्ये करिब १५ जना महिला छन्। ‘हामीलाई ठेकेदारले चामल, दाल, नुन, तेल दिनुभएको छ,’ बर्दियाको मधुवन–६ का शिवहरि नैनावस्तीले भने, ‘सागसब्जी आफैं किन्छौं। खानेपानीचाहिँ पारि भैंसेपाटीको ढुंगेधारामा लाइन बसेर ल्याउँछौं।’

यो फाँटमा करिब २५ वटा पाल टाँगिएका छन्। पाल राति सित छेक्नमात्र ठिक्क छ। दिउँसो घाम चर्किंदा अन्यत्र छेलिनुपर्छ। चैतको हावा, हुन्डरीले पाल उडाउने जोखिम रहेको उनीहरूले बताए। 

बर्दियाका शिव घर्तीमगर र केशरबहादुर घर्तीमगरको टोलीलाई उस्तै छटपटी छ। ‘हामी त अब काम गर्दैनौं, गाउँ जाने हो,’ बुढ्यौली उमेरका केशरले भने, ‘हाम्रो घरपरिवार, छोराछोरीको चिन्ता बढेको छ। सँगै बस्न पाए मरे पनि सँगै, बाँचे पनि सँगै हुन्थ्यौं। कम्पनीले पास दियो भने घर गइहाल्छौं।’ 

जाजरकोटका रुद्र विकको चिन्ता उस्तै छ। ‘अस्ति दुई दिन लकडाउन खुल्छ भनेपछि आँधीहुरीझैं हत्तपत्त तयार भयौं तर खुलेन। अब फेरि लकडाउन बढ्यो। हामीलाई कसैले घर पुर्‍याइदिए हुन्थ्यो,’ उनले भने। ठेकेदारले सित्तैमा दिएको दाल, चामल खाएर मात्रै नहुने उनले बताए। ‘यसरी काम नगरी थुनिएर बस्नु ठीक छैन,’ विकको भनाइमा मोरङ उर्लाबारीका विशाल थापाले सही थापे। 

नयाँ वर्ष २०७७ को पहिलो दिन यी मजदुरले समस्या सुनाइरहँदा हावा चलेर त्रिपाल उडाउलाझैं वातावरण बन्यो। खोला किनारामा चारवटा एक्स्काभेटर, दुईवटा ट्र्याक्टर, तीनवटा मिक्सचरसँगै सिमेन्ट, बालुवा, गिट्टीजस्ता निर्माण सामग्री थुपारिएका छन्। 

कन्स्ट्रक्सन कम्पनीका सबइन्जिनियर सुनिलकुमार सुनारले लकडाउनले काममा धेरै असर गरेको जानकारी दिए। लेखापाल हरि सापकोटाले सबैजना घर जाने हतारोमा रहेको बताए। ‘अब लकडाउन खुले पनि कामदार काम गर्ने पक्षमा छैनन्,’ उनले भने, ‘सरकारले उनीहरूलाई घर पठाउने वातावरण बनाइदिए हुन्थ्यो।’ 

प्रोजेक्ट म्यानेजर सुशीलकुमार झाले यो वर्ष खोलाको दायाँबायाँ पर्खाल लगाएर बीचबाट पानी बग्न दिने र अर्को वर्ष दायाँबायाँ सडक निर्माण गर्ने योजना रहेको बताए। ‘तर लकडाउनले सम्भव भएन,’ उनले भने, ‘लकडाउन हुनुअघि नै केही कामदार घर फर्किसकेका छन्। अब बाँकी रहेका पनि खुला भएलगत्तै फर्किने तयारीमा छन्।’ उक्त निर्माण कम्पनीले काठमाडौंको गोकर्ण–तारेभीर सडक निर्माण जारी राखेको जानकारी दिए। त्यहाँसमेत गरी उक्त कम्पनीअन्तर्गतका १ सय ३० जना कामदार छन्। 

नख्खु करिडोर तल्लो भेगमा कालिका कन्स्ट्रक्सनले ३५ सय मिटर करिडोर निर्माण गर्दै आएको आयोजना प्रमुख प्रकाश खरेलले बताए। सोही कम्पनीले भक्तपुरको हनुमन्ते खोला करिडोर र वाग्मतीको गुह्येश्वरी–सिनामंगल खण्डमा निर्माण जारी राखेको छ। ‘हाम्रो कम्पनीका धेरै कामदार फर्किसकेका छन्, अहिले १ सय ९२ जना बाँकी छन्,’ खरेलले भने, ‘लकडाउनका बेला साताको एक दिन रासन दिँदै आएका छौं।’ 

उक्त कम्पनीले लकडाउन सुरु भएलगत्तै गाडी रिजर्भ गरेर कामदारलाई गाउँ फर्कने व्यवस्था गरेको थियो। ‘तर दोलखाका कामदारलाई सिन्धुपाल्चोकबाट र लमजुङकालाई दमौलीबाट काठमाडौं फर्काइदिए,’ प्रमुख खरेलले भने। उनका अनुसार अधिकतर कामदार उपत्यका बाहिरका छन्। उनले भने, ‘सरकारले पासको व्यवस्था गरे कामदारलाई सम्बन्धित जिल्लामा पुर्‍याउन गाडीको व्यवस्था गर्न तयार छौं।’ 

वाग्मती करिडोर निर्माणमा संलग्न समानान्तर कन्स्ट्रक्सनमा कार्यरत करिब सय जना मजदुर घर फर्किने साइत कुरेर बसेका छन्। सरकारले अनुमति दिए फर्किने उनीहरूले बताए। साना–साना निर्माण व्यवसायी र तिनका कामदारसमेत लकडाउनका कारण बिचल्लीमा परेका छन्। एकातर्फ ठेकेदारले पारिश्रमिक उपलब्ध गराउन नसक्दा रासनको समस्या खेपिरहेका छन् भने अर्कोतर्फ घरभाडाले पिरोलिएको जनाइएको छ।

Published on: 16 April 2020 | Kantipur

Link

Back to list

;