s

मजदुर पीडित उद्योगी, अत्याधुनिक उपकरणतर्फ

लीलावल्लभ घिमिरे

धान्नै नसक्ने गरी मजदुरले विभिन्न माग राखेर बारम्बार उद्योग बन्द गर्न थालेपछि उद्योगीहरू यसको विकल्पमा जुटेका छन् । केहीले मजदुर प्रतिस्थापनको विकल्पसमेत कार्यान्वयन थालिसकेका छन् । केही कार्यान्वयन गर्नेतर्फ लागेका छन् । त्यो हो, अत्याधुनिक उपकरण ल्याउने र जनशक्तिको उपयोग घटाउने ।

त्यसको पछिल्लो उदाहरण हो, एभरेस्ट सल्भेन्ट उद्योग ।

यो उत्पादनमूलक उद्योगका लागि सयौं संख्यामा मजदुरको आवश्यकता पर्छ । तर यसमा कसैले नसोचेको संख्यामा रहेका मजदुरले उद्योग सञ्चालन गरेका छन् ।

हो, १८ करोडका लगानीमा स्थापित उद्योगमा जम्मा २० मजदुर छन् । मजदुरमा पर्ने भार रकम भने उद्योगीले अत्याधुनिक उपकरणमा खर्चेका छन् ।

त्यसले उद्योगीले मजदुरको अनावश्यक तनाव मात्र मुक्ति पाएका छैनन््, गुणस्तरीय उत्पादनले बजारमा पकडसमेत जमाउँदै गएको छ । 'मेसिन अत्याधुनिक नभएको भए सयभन्दा बढी मजदुर लाग्थे,' उद्योग सञ्चालक एवं मोरङ व्यापार संघ अध्यक्ष अविनाश बोहोरा भन्छन्, 'छिटो र गुणस्तरीय उत्पादनका साथै मजदुर समस्याबाट मुक्ति पाइएको छ ।'

त्यसो त बोहरा मात्र हैन, यति बेला मजदुरको विकल्प रोज्नेमा । हेटौंडास्थित एमएम पोलिमर्सले पनि १२ जना मजदुरबाट सम्पूर्ण उद्योग चलाएको छ । अत्याधुनिक कप्युटर प्रणालीले रोबटमार्फत काम गर्छ यो उद्योगमा । 'मजदुर राखेर काम गर्ने वातावरण नै बन्न छाड्यो,' पोलिमर्सका सञ्चालक सुयश प्याकुरेल भन्छन्, 'न तलब बढाउनुपर्‍यो न कुनै संगठनको झन्झट न नारा जुलुस । एकपटक लगानी

गरेपछि ढुक्क ।'

बोहोरा र प्याकुरेलजस्ता विराटनगरका धेरै उद्योगीहरू यतिबेला अत्याधुनिक उपकरण भित्र्याएर मजदुरको भार कम गर्ने सोचाइमा छन् । उद्योगी राकेश सुराना पनि नयाँ प्लान्ट थाप्दा अत्याधुनिक मेसिन ल्याउने बताउँछन् । मजदुरको दिनहुँको गनगनबाट मुक्ति पाउन उनलाई जति सक्दो कम जनशिक्त लाग्ने उपकरणको आवश्यकता छ । हुन त अहिले सञ्चालन गरिरहेको उद्योगमा पनि १७ जना मजदुरले काम चलेको छ । 'अत्याधुनिक उपकरण जडान नगरेको भए ८० जनाभन्दा बढी

जनशक्ति चाहिन्थ्यो,' उनले भने, 'हिजोआज बरु हात्ती पाल्न सजिलो होला मजदुर भारी पर्न थाले ।'

बजारमा दक्ष मजदुर नपाइनु र मजदुरमा राजनीतिकरण हाबी भएकाले उद्योगीहरू मजदुरप्रति संवेदनशील हुन छाडेका हुन् । उद्योगीले गरेको पछिल्लो निर्णयले धेरै सम्भावित जनशक्तिले काम पाउन सकेनन् भने उद्योगीका लागि टाउको हलुको हुने विषय बनेको छ ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा करिब ५० अर्ब रुपैयाँको हाराहारीमा बैंकहरूको लगानी छ । उद्योगीको लगानीसमेत जोड्दा करिवब१ खर्ब पुग्छ । यो करिडोरमा विशेष गरी खाद्य सामग्री उत्पादक उद्योगहरू छन् । यस अतिरिक्त निर्माण सामग्रीका उद्योग पनि छन् । यहाँ उत्पादित चामल, दाल, तोरी तेल तथा रिफाइनरी तेल, मैदा, आँटा, घिउ, चाउचाउ, चिउरा, भुजिया, बिस्कुट, चकलेटजस्ता उपभोग्य वस्तु मुलुकभरि पुग्छन् । तर बारम्बार मजदुरको अवरोधले मागअनुसार उत्पादन गर्न नसकेको र करोडौं घाटा बेहोर्नुपरेको उद्योगीको गुनासो रहँदै आएको छ ।

Published on: 7 June 2013 | Kantipur

Back to list

;