s

मजदुरको बन्दले यात्रुलाई सास्ती

दिल्लीमा मजदुरी गर्ने कैलाली बौनियाका भगि साउद शनिबार बिहानै महेन्द्रनगर पुगे । शनिबार दिउँसो घर पुग्न सकिने भए पनि उनी साँझसम्म महेन्द्रनगर बसपार्कमै अलपत्र परेका थिए । यातायात मजदुरले शनिबारदेखि पूर्वजानकारीबिना सार्वजनिक यातायात बन्द गरेपछि भारतबाट घर र्फकने साउदजस्तै सयौं यात्रु बसपार्कमै अलपत्र परेका हुन् ।

'बिहानै यहाँ पुगेर घर जाने तयारीमा थियौं,' महेन्द्रनगर बसपार्कमा भेटिएका भगिले भने, 'तर यहाँ त गाडी नै बन्द रहेछ, अब कसरी घर जाने ।' उनले र्फकेर फेरि दिल्ली नै जान पनि सामान धेरै हुँदा समस्या भएको बताए । 'सामान कम भए त फेरि दिल्ली जान सकिन्थ्यो,' उनले भने ।दिल्लीमै २ महिना उपचार गरी घर फर्किएका कैलाली, बनभेडाका नौली साउद पनि बसपार्कमै अलपत्र छन् । 'उपचार गराएर घर फर्किन लागेको बाटामै अलपत्र परेर फेरि बिरामी भइन्छ कि,' उनले भने । सामान कम भए त मोटरसाइकलको व्यवस्था गरेर पनि घरसम्म जान सकिने उनी बताउँछन् । 

यातायात बन्दले भारतमा मजदुरी र उपचार गरी घर फर्किनेहरू बढी समस्यामा छन् । 'होटल पनि भरिभराउ छन्,' नौलीले भने, 'खाली भएकामा पनि भाडा महँगो भनिरहेका छन् ।' उनी दिनभर बसपार्कमै सामान राखेर त्यतै बसेका थिए । सरकारले ल्याउन लागेको सार्कजनिक यातायातसम्बन्धी नयाँ नियमावलीको विरोध गर्दै महाकाली अञ्चलभरिका मजदुरले सार्वजनिक यातायात साधन बन्द गरेका हुन् । 'सरकारले ल्याउन लागेको नयाँ नियमावलीको विरोधस्वरूप मजदुरले महाकाली अञ्चलमा यातायात बन्द गरेका हुन्,' नेपाल यातायात मजदुर संगठन महाकालीका अध्यक्ष गणेश नाथले भने, 'सुदूरपश्चिमका पहाडी जिल्लामा प्रहरीले यातायात मजदुरसँग गर्ने अभद्र व्यवहारको समेत विरोध गरेका छन् ।' उनले सरकारले ल्याउन लागेको नयाँ नियमावली तत्काल लागू नहुनेबारे मजदुरलाई सम्झाउने काम भइरहेको बताए । 

तीनबुँदे सहमतिपछि यातायात खुल्यो

सुर्खेत (कास)- क्षमताभन्दा बढी यात्रु बोक्ने बसका चालक र सहचालकविरुद्धका सार्वजनिक मुद्दा छिटो टुंग्याउने र समस्या समाधानका लागि छलफल गर्ने सहमतिपछि तीन दिनदेखि अवरुद्ध यातायात शनिबारदेखि खुलेको छ । सुर्खेत उद्योग वाणिज्य संघको पहलमा यातायात मजदुर, स्थानीय प्रशासन र यातायात व्यवसायीबीच तीनबुँदे सहमति भएको हो । सिट क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनुसन्धानमा रहेका मुद्दालाई आइतबार जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी प्रक्रियालाई छिटो टुङ्ग्याउने सहमति भएको छ । त्यस्तै, यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरोकारवालाबीच छलफल गरी समस्या समाधान गर्न पहल गर्ने र बन्द यातायात शनिबार अपरान्हबाटै खुलाउने सहमति भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । 

कालिकोटको जितेबाट कैलाली टीकापुरका लागि हिँडेको ना४ख ६८५७ नम्बरको बस गत आइतबार पोखरीकाँडामा भएको दुर्घटनामा १८ जनाको मृत्यु हुनुका साथै ४९ जना घाइते भएपछि प्रहरी र प्रशासनले सवारी चालकमाथि कडाइ गरेको हो । दुर्घटना भएको उक्त बसमा क्षमताभन्दा दोब्बर यात्रु बोकेको देखिएपछि प्रहरीले धेरै यात्रु बोक्ने गाडी र चालक तथा सहचालकलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन थालेको छ । 

बढी यात्रु बोकेको आरोपमा पक्राउ परेका ३७ वटा गाडीका चालक र सहचालकमध्ये १३ वटा चालक र सहचालकविरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशकुमारलाल कर्णले बताए । २४ वटा गाडीलाई यातायात नियमअनुसार २ हजार रुपैयाँ जरिवाना गरी छोड्न यातायात कार्यालयलाई सिफारिस गरिएको बताएका छन् ।

Published on: 14 December 2014 | Kantipur

Back to list

;