s

मजदुरले ज्याला पाएनन्

देहिमाडौं–गिरेगाडा सडकखण्डमा काम गरेका २ सय मजदुरले १९ महिनासम्म पनि पारिश्रमिक पाएका छैनन् । गत वर्ष असार र साउन महिनामा उक्त सडकमा ग्राभेल बिछयाइँदा काम गरेका कामदार र उधारोमा सामान दिएका व्यापारीले आफूलाई दिन्छौं भनेको पैसा काम सकिएको १९ महिना बित्दासमेत नदिएको दशरथचन्द ग्वाल्लेकका देवीदत्त जोशीले बताए । ‘हामीले साउनको झरीमा भिजेर काम गर्‍यौं,’ उनले भने, ‘काम सकियो तर ज्याला अझै पाएका छैनौं । हामी सडकमै काम गरेर गुजारा चलाउने मान्छे, कसरी बालबच्चा पाल्ने कसरी छाक टार्ने ? हामीलाई गुजारा गर्न समस्या छ ।’
 
मलेसियाको रोजगारीमा रहेका ग्वाल्लेककै गणेशदत्त जोशीले र केही दिनको बिदामा घर आउँदा उक्त सडकमा काम गरेका थिए । काम गरेपछि पैसा नपाएकाले यता न उताको भएको उनले बताए ।
 
‘विदेशमा जसोतसो पसिना बगाइरहेको थिएँ, त्यहाँको काम पनि कष्टपूर्ण नै थियो, घर आएको बेला यतै सडकमा काम पाएँ तर काम गरेको पारिश्रमिक पाइएन,’ उनले भने, “यता न उताको भएँ, अब के गरूँ ? दुई वर्ष पुग्न लाग्यो घरमै बेरोजगार बसेको छु, हामी कामदारले ज्याला नपाए कसरी घर खर्च चलाउने ?’ समितिले पैसा नदिएको कामदारको गुनासो आइरहँदा उपभोक्ता समितिले भने रकम निकासा नभएको बताएको छ । सुरेन्द्र बोहोराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको खातामा अहिलेसम्म ८ लाख रुपैयाँ मात्रै आएको बताए । सडक ग्राभेलका लागि सम्झौता भएको जम्मा रकम ३७ लाख ७१ हजार रुपैयाँमध्ये ३० लाख उपभोक्ता समितिले पाउने र बाँकी ७ लाख ७१ हजारको श्रमदान गर्ने सहमति भएको हो ।
 
Published on: 9 March 2018 | Kantipur

Back to list

;