s

मजदुरले गाउँमै पाए रोजगारी

ध्रुव बीसी

अछामको चौरपाटी गाउँपालिका–५ का बहादुरे बोहरा ज्याला मजदुरीका लागि १६ वर्षको उमेरदेखि भारत धाउने गर्थे । कमाइजति सबै लुगाफाटो किन्नमै सकिन्थ्यो । नुनतेलको जोहो गर्न साथीभाइसँग ऋणसापट गर्नुपर्ने अवस्था थियो । चौरपाटीका अन्य पुरुषको अवस्था पनि बहादुरेकै जस्तो थियो । उनीहरू लत्ताकपडा, भाडाकुँडा र नुनतेलको जोहो गर्नकै लागि हरेक वर्ष भारत जान्थे । स्याउ टिप्ने, ढुंगा फुटाउने, चौकीदारी गर्ने र बजारमा झाडु लगाउने कामको खोजीमा भारत जाने स्थानीय युवा अहिले भने आफ्नै गाउँमा रोजगारी पाउँदा खुसी भएका छन् ।

तीन सय ६१ किमि सडक सुधार
 
तिनै समूहमार्फत चालू आर्थिक वर्षको अहिलेसम्ममा तीन सय ६१ किमि सडक सुधार गरिएको र्‍यापथ्रीका जिल्ला इन्जिनियर चेतन न्यौपानेले बताए । चालू आर्थिक वर्षका लागि सामान्य सडक मर्मत समूहका मजदूरका लागि दुई करोड ४६ लाख ५९ हजार ८६ रुपैयाँ र विशेष मर्मत समूहका लागि ५६ लाख रुपैयाँ गरी जम्मा तीन करोड ६ लाख ५९ हजार ८६ रुपैयाँ छुट्याइएको थियो । मजदुरका लागि छुट्याइएको रकम उनीहरूले आफैँले कामका आधारमा हाजिर गरेर पारिश्रमिक बुझ्ने गरेका कीर्तिखाम चौरपाटी सडक मर्मत समूहका सदस्य पहराम साउदले बताए । ‘गाउँमै काम गरेर राम्रो कमाइ भइरहेको छ,’ उनले भने, ‘भारत जाने पुरुष मात्र होइन, सधैँ चुलोचौको गर्ने महिला पनि रोजगार बनेका छन् । गाउँमै काम गरेर मनग्गे आम्दानी गरिरहेका छौँ ।’
 
महिला पुरुष समूह बनाएर सडक निर्माण
 
अहिले अछामका एक सय ८२ जना पुरुष समूह निर्माण गरेर आफ्नै गाउँका सडक मर्मतमा व्यस्त छन् । उनीहरूसँगै समूहमा एक सय ५३ जना महिला पनि काम गरिरहेका छन् । जिल्लाका तीन सय ३५ महिलापुरुष कामदारका लागि यो अवसर ग्रामीण पहुँच कार्यक्रम (र्‍यापथ्री) ले जुराइदिएको हो । अछामका चार नगरपालिका र ६ गाउँपालिकाका स्थानीय ग्रामीण सडक मर्मतका लागि जिल्लामा ३७ वटा मर्मत समूह र पाँचवटा विशेष मर्मत समूह गठन गरिएको छ ।
 
घरको काम गर्दै सडक निर्माण
 
साँझबिहान मेलापात, घाँसदाउरा र घरको काम पनि हुने र दिउँसो सडक मर्मत गरेर कमाइ गर्न पाएपछि स्थानीय महिला खुसीले दंग छन् । ‘श्रीमान् भारत जाने हामी घर सम्हाल्ने चलन थियो,’ स्थानीय मनसरा विकले भनिन्, ‘अहिले त्यस्तो छैन । सँगै काम गरेर कमाइ गर्छौं । घर–व्यवहार पनि राम्रो चलेको छ । छोराछोरीलाई पढाएर बचत पनि गर्छौं ।’ बनेका सडक समयमै मर्मत हुन थालेपछि अचेल अछामका सबै दुर्गम गाउँमा सहजै पुग्न सकिन्छ । के हिउँद के वर्षा सधैँ गाडी गुड्ने बनाउन र्‍यापथ्रीसँग समन्वय भइरहेको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताए । ‘मर्मतको काम असाध्यै राम्रो छ,’ उनले भने,‘अब वर्षामा पनि यी सडकमा गाडी चलाउन समस्या छैन । गाउँले आफैँले गरेको काम भरपर्दो छ ।’
 
Published on: 11 March 2018 | Naya Patrika

Back to list

;