s

मजदुरले ६ महिनादेखि ज्याला पाएनन्

मेघराज तामाङ

अरुण तेस्रो प्रवेश मार्गमा कार्यरत मजदुरले ज्याला नपाएको भन्दै काम गर्न छाडेका छन् । लुम्बिनी, एमके सिंह एन्ड ब्रदर्स जेभीले ६ महिनादेखि सडक मार्गमा काम गरेको ज्याला नदिएको भन्दै उनीहरुले काम छाडेका हुन्।

अरुण तेस्रो जलञविद्युत् आयोजना अन्तर्गत छ्याङ्कुटीदेखि दिदिङको पुखुवासम्म निर्माणाधीन सडकमा काम गर्ने एक सय ५० मजदुरले ज्याला नपाएपछि ठेकेदार खोज्दै उनीहरु सदरमुकाम खाँदबारी आइपुगेका छन्।
 
ठेकेदारले ६ महिनादेखि ज्याला नदिएका कारण काम छाडेर ठेकेदार खोज्दै खाँदबारी आएको मजदुर कमल राईले बताए । उनले भने, ‘सडक निर्माणमा काम गरेको ज्याला प्रतिव्यक्ति ६० हजार देखि ९० हजार रुपैयाँसम्म मजदुरले लिन बाँकी रहेको उनको भनाइ छ । सडक निर्माणमा काम गर्न खोटाङ, उदयपुर, दोलखालगायत जिल्लाबाट मजदुर आएका छन्।
 
अर्का मजदुर लक्ष्मण राईले पनि काम गरेको ज्याला नपाएपछि ठेकेदार खोज्दै खाँदबारी आएको बताए । उनले सडक निर्माणका पेटी ठेकेदार हिक्मतसिंह राईले काम गर्न लगाएको र पेटी ठेकेदारसँग ज्याला माग्दा कम्पनीले दिएपछि दिने भन्दाभन्दै ६ महिना बितिसक्दा पनि घर जान नसकेको बताए।
 
अहिले एक सयभन्दा बढी मजदुर खाँदबारी नगरपालिका छेउको सडक किनारमा बिग्रिएका ट्याक्टर र खुल्ला आकाुमुनि त्रिपाल लगाएर कष्टकर दिन बिताइरहेका छन् । मजदुर राईले भने, ‘घर जाँउ पैसा छैन, खाने बस्ने ठाउँ पनि नभएपछि अहिले सबैजना ट्याक्टर माथि पाल ओढाएर ट्याक्टरमुनि सामान्य कपडा ओछ्याएर रात बिताउँदै आएको दुःखेसो गरे । अहिले ज्याला नपाएपछि केही मजदुर घरतर्फ लागेका छन् भने अधिकांश ज्याला पाउने आशामा तीन दिनदेखि कष्टकर दिनरात बिताइरहेका छन्।
 
कम्पनीका प्रतिनिधि माधव खनालले भने अरुण तेस्रो प्रवेश मार्ग कार्यालयले काम गरेबापतको रकम दिएपछि मजदुरलाई ज्याला दिने बताए । उनले कार्यालयबाट भुक्तानी हुनासाथ मजदुरलाई ज्याला दिने बताएका हुन् ।
 
Published on: 20 March 2018 | Nagarik

Back to list

;