s

मजदुरको आफ्नो कोही हुन्न ‘सय मुन्टाको, सय गुन्टाको’

जयसिंह बोहरा भारतमा मजदुरी गरेर दसैँ मान्न घरपरिवारलाई नयाँ लुगाफाटोको पोका पुन्तरा बोकेर सीमा क्षेत्रमा पुग्दा निकै आश्चर्यमा पर्नुभयो । सीमा नाकामा बसेका भारतीय प्रहरीका व्यवहारले मन खिन्न भएर नेपाल प्रवेश गरेको बोहरालाई नेपाली प्रहरी र भन्सारका कर्मचारीको व्यवहार पनि फरक लागेन । भारतबाट मजदुरी गरेर ल्याएको थोरै पैसामा सीमा नाकामा बस्ने प्रहरी र भन्सार कर्मचारीले आँखा लगाएर बचेको रकम सवारी साधनले मनपरी ढङ्गले लिन थालेपछि बोहराजस्ता मजदुरको पक्षमा बोल्ने कोही पनि रहेन छ भन्ने आभास हुन्छ । बोहरा एक सय रुपियाँ मुन्टाको र एक सय रुपियाँ गुन्टा (पोका पुन्तरा) को भाडा तिरेर झुलाघाटबाट बैतडी सदरमुकाम पुग्नुभयो ।

मजदुरी गरेर घर फर्किदा सवारीसाधनले मान्छेको टाउको गनेर यात्रुको जति भाडा हो, त्यत्ति नै झिटीगुन्टाको पनि थप भाडा लिने गरेको भन्दै बोहराले भन्नुभयो, हामी मजदुरहरू घर फर्किंदा सवारीसाधनले सय मुन्टाको सय रुपियाँ गुन्टाको भन्दै यात्रु बराबर सामानको पनि थप भाडा लिने गरेका छन् ।

दसैँ नजिकिँदै गर्दा भारतमा मजदुरी गर्न गएका सुदूरपश्चिमका बैतडी, बझाङ, अछामलगायत जिल्लाका मजदुरले सवारी साधन भरिभराउ हुन थालेका छन् ।

बैतडी सदरमुकामबाट सीमानाका झुलाघाटसम्म चल्ने छोटो दूरीका जिपहरूले मजदुरबाट सामान्य झोलाको समेत चर्को भाडा असुल्ने गरेको घर फर्किंदै गरेका मजदुर कृष्ण लुहारले बताउनुभयो ।

मजदुरी गर्न भारत गएका नेपाली दैनिक सय जनाकोे सङ्ख्यामा सीमानाकाबाट घर फर्किने गरेको झुलाघाट सीमा प्रहरीले जनाएको छ । हुन त यात्रुको सहजताका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले प्रत्येक प्रहरी चेक पोस्टमा नागरिक सहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

यातायातका साधनले मनलाग्दी भाडा लिने गरेको र होटलमा गुणस्तरहीन खाना खुवाउने गरेको यात्रुहरूले गुनासो गरेका छन् ।

बैतडीलगायत पहाडी जिल्लाबाट तराईका कैलाली, कञ्चनपुर र काठमाडौँबाट घर फर्किनेहरू बढेका छन् । दसैँं मान्न अधिकांश सरकारी कार्यालयका कर्मचारीहरू पनि घर फर्किने क्रम बढेको छ ।

देशभित्र चल्ने लामो दूरीका बसमा यात्रा गर्ने यात्रुहरूले बस चालकले आफूलाई कमिसन दिने होटलमा लगेर यात्रुहरूलाई बासी तथा सडेगलेको खाना खुवाउने गरेको यात्रुहरूले गुनासो गरेका छन् । बैतडी, बझाङ, दार्चुला र डोटीबाट छुट्ने रात्रि बसहरूले यात्रुहरूलाई समयमै खाना नखुवाई आफूलाई कमिसन र सित्तैमा खाना खुवाउने होटलमा लगेर रोक्ने गरेको लोहियाले बताउनुभयो ।

डडेल्धुराको भातकाँडा छेउको बालुवाटार भन्ने स्थानमा खुलेको होटलमा यात्रुले सादा खानाको १५० रुपियाँ अग्रिम पैसा तिरेर कुपन लिनु पर्ने र टेबुलमा बसी सकेपछि समयमा खाना नआउने, चिसो भात खुवाउने गरेको यात्रुहरूले गुनासो गरेका छन् । दसैँको बेलामा राजमार्ग छेउका होटल र सार्वजनिक सवारीसाधनहरूमा प्रशासनले अनुगमन गर्नुपर्ने यात्रुहरूको भनाइ रहेको छ ।

Published on: 11 October 2018 | Gorkhapatra

Back to list

;