s

मजदुरले ज्याला पाएनन्

संखुवाुसभाको अरुण तेस्रो प्रवेश मार्गमा कार्यरत मजदुरले ६ महिनादेखि ज्याला नपाएको गुनासो गरेका छन् ।लुम्बिनी, एमके सिंह एण्ड ब्रदर्श जेभीले मजदुरलाई ज्याला नदिएको हो । छ्याङ्कुटीदेखि दिदिङको पुखुवासम्म निर्माणाधिन सडकमा काम गर्ने १ सय ५० जना मजदुरले ज्याला नपाएका हुन् । ठेकेदार कम्पनीले काम लगाएर ज्याला नदिएको मजदुर कमल राईले बताउनुभयो ।
 
उहाँका अनुसार काम गरेदेखि ठेकेदारले रकम दिएका छैनन् । एक जना मजदुरले कम्तिमा पनि ६० हजार देखि ९० हजार रुपैयाँसम्म रकम लिन बाँकी रहेको उहाँले बताउनुभयो । ज्याला नपाएपछि एकसातादेखि मजदुरले काम छाडेका छन् । उनीहरु ठेकेदारसँंग ज्याला माग्दै सदरमुकाम खाँदबारी आएका छन् ।
 
रकम नपाएपछि सडकको काम पनि ठप्प भएको छ । यहाँ काम गर्न खोटाङ, उदयपुर, दोलखालगायतका जिल्लाबाट मजदुर आएका छन् । सडक निर्माणको लुम्बिनी, एमके सिंह एण्ड ब्रदर्श जेभीले पेटी ठेकेदारलाई काम गर्न लगाएको मजदुरको आरोप छ । ज्याला नपाएपछि सरोज, टिकाराम र लक्ष्मण राईको टोली घर फर्किसकेका छन् ।
 
Published on: 19 March 2018 | Ujyaaloonline

Back to list

;