s

मजदुर आन्दोलनको महत्व

पुरुषोत्तम बस्नेत

१८ औं शताब्दीको उत्तराद्र्धतिर अमेरिका क्रमशः औद्योगिक मुलुकको रूपमा विकसित हुँदै थियो। हजारौं मानिसहरू औद्योगिक प्रतिष्ठानहरूमा मजदुरको रूपमा काम गर्न लागिरहेका थिए। तर त्यसबेला मजदुरहरूको हक र हितका कुनै पूर्वाधार र प्रावधानहरू थिएनन्। बिहान उज्यालो भएदेखि साँझसम्म मजदुरहरूले काममा व्यस्त रहनु पथ्र्यो। यसरी एघार–बाह्र घन्टासम्म हरेक दिन मजदुरहरूले अनवरत तवरले काम गर्थे। तर ज्याला थोरै पाउँथे।

कतिपय कारखानाहरू अस्वस्थकर अवस्थामा थिए। त्यसबाट मजदुरहरूको स्थास्थ्यमा प्रतिकूल असर पथ्र्यो। कतिपय मजदुरहरू गम्भीररूपमा बिरामी परिरहन्थे। तर उनीहरूको उपचारको कुनै व्यवस्था थिएन। उद्योगपतिहरूले प्रशस्त नाफा कमाउथे। मजदुरहरूलाई सुविधा र सहुलियत दिने उदारता उनीहरूमा थिएन। शोषण र थिचोमिचो चरम अवस्थामा पुुगेपछि विस्तारै मजदुरहरू विस्तारै संगठित हुन थाले। आफ्नो वर्गीय हक र हितका बारेमा छलफल गर्न थाले। विचार आदान–प्रदान गर्न थाले।
 
अन्ततः मजदुरहरूले प्रत्येक दिन आठ घण्टाभन्दा अधिक समय काम गर्न नपरोस् भन्ने प्रमुख माग राखेर सन् १८८४ को मे १ मा अमेरिकाको धेरै कारखानाहरूमा आन्दोलन प्रारम्भ गरे। त्यो आन्दोलनमा हजारौं मजदुरहरू सम्मिलित भए। त्यसले मजदुरहरूमा ठूलो उत्साह, साहस र आत्मविश्वासको वृद्धि गरायो। उनीहरू अझ संगठित हुँदै गए। एउटा संगठित आधार हासिल गरिसकेका मजदुरहरूले त्यसपछि फेरि सन् १८८६ को मे १ कै दिनदेखि आफ्ना माग राखेर अर्को आन्दोलन सुरु गरे। त्यसबेला उनीहरूले काम गर्नुपर्ने समय आठ घन्टा निर्धारण होस् भन्नेसहित आफ्नो वर्गीय हितका थप माग राखेर आन्दोलन सुरु गरे।
 
प्रारम्भमा आन्दोलनको मुख्य केन्द्र सिकागो सहर भए पनि त्यसपछि तुरुन्तै यो आन्दोलन अमेरिकाको अरू कतिपय सहरमा पनि फैलियो। मजदुरहरूको यो आन्दोलनको दमन गर्न सरकारले सैनिक बलको प्रयोग गर्‍यो। मे ३, ४ र ५ मा अनेक ठाउँमा निहत्था मजदुरमाथि गोली चलाइयो। धेरै मजदुर नेताहरू घाइते भए, अनेकौं मारिए। तर पनि मजदुरहरू आफ्नो आन्दोलनबाट पछि हटेनन्। उनीहरूका बीचको अटुट एकता, वर्गीय हितप्रतिको निष्ठा र आफ्नो न्यायोचित अधिकार प्राप्त गर्ने दृढताबाट उनीहरूले आफ्ना कतिपय माग पूरा गराइछाडे। त्यसैले मे महिनाको पहिलो दिनलाई मजदुरहरूले दृढ साहस र संकल्पका साथ लडेर आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको रूपमा स्मरण गरिन्छ। यसै दिनले मजदुरहरूलाई ‘प्रत्येकका लागि संगठन र संगठनका लागि सबै’ भन्ने एकता र भाइचाराको सूत्रमा आवद्ध हुन प्रेरणा थियो।
 
नेपालमा पनि मजदुर आन्दोलन नेपालको प्रजातान्त्रिक संघर्षको इतिहासको एक अभिन्न अंग भएर जोडिएको छ। २००३ माघ १२ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भयो। त्यसको डेढ महिना पनि नपुग्दै–२००३ को फागुन २१ देखि विराटनगरमा ऐतिहासिक मजदुर आन्दोलन प्रारम्भ भयो। त्यसबेला विराटनगर औद्योगिक नगरको रूपमा देखा पर्न थालेको थियो।
 
विराटनगरको दक्षिण किनारको करिब डेढ माइल क्षेत्रफलको भू–भागलाई औद्योगिक क्षेत्रको रूपमा छुट्याइएको थियो। त्यसैमा जुट मिल, कटन मिल, राइस मिल, तेल मिल, सलाई कारखाना, केमिकल कारखानाहरू खुलेका थिए। ती सबैमा कार्यरत मजदुहरूको संख्या करिब पच्चीस–तीस हजार पुगिसकेको थियो। त्यहाँको कटन मिलमा गिरिजाप्रसाद कोइरालाले काम गर्न थालेका थिए। त्यसरी नै जुट मिलमा तारिणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारी एवं केमिकल कारखानामा मनमोहन अधिकारी काम गर्नुहुन्थ्यो। त्यसबेला सबै मिलहरू राम्रो हालतमा चलिरहेका थिए र राम्रो नाफा कमाइरहेका थिए। तर मजदुरहरूको हितप्रति मिल मालिकहरूको कुनै चासो थिएन।
 
मजदुरहरूलाई बीमा, बोनस आदिको कुनै प्रबन्ध थिएन। विराटनगरकै सीमावर्ती स्थान— भारतको जोगवनीको मीलहरूमा काम गर्ने मजदुरहरूलाई दिइएको जस्तो सुविधा, ज्याला विराटनगरका मजदुरहरूलाई दिइएको थिएन। मील मालिकले कुनै पनि मजदुरलाई कुनै पनि बेला हटाउन सक्थे। मजदुरहरूले कति घण्टा काम गर्नुपर्ने हो, त्यसको निर्धारण गरिएको थिएन।
 
त्यस स्थितिमा आफूहरूमाथि शोषण भइरहेको छ भन्ने कुरा तमाम मजदुरहरूले महसुस गरेका थिए। तर त्यो शोषणको अन्त्य कसरी गर्ने ? उनीहरूको आपसमा बसेर छलफल गर्ने, विचार आदान–प्रदान गर्ने कुनै सामूहिक ठाउँ वा मञ्च, केही थिएन। शोषण, असुविधा र असुरक्षालाई सबैले एक्लाएक्लै बेहोरिरहेका थिए। त्यसैले गिरिजाप्रसाद कोइराला मजदुरहरूलाई एक सूत्रमा आवद्ध गर्ने र मीलहरूको अवस्थामा केही सुधार गर्ने कार्यमा लागे।
 
उहाँले २००३ को फागुन १९ मा आफू कार्यरत रहेको कटन मीलको सामान्य रुपमा सफाइ गराए। त्यसले मील मालिकलाई कुनै नोक्सान वा अतिरिक्त बोझ पुर्‍याएको थिएन। तर उनको अनुमित बिना किन यसो गरियो भनेर मील मालिक रिसाए। यसले केबल गिरिजाप्रसाद कोइरालालाई मात्र होइन, सम्पूर्ण मजदुर वर्गलाई उत्तेजित र आक्रोशित गरायो। फागुन २० कै साँझ मजदुरहरूले आफ्नो माग राखेर हड्ताल प्रारम्भ गर्ने निर्णय गरे। त्यसक्रममा मजदुरहरूले आफ्नो एक छुट्टै युनियन बनाउने निर्णय गरे। त्यसको नाम— ‘विराटनगर मजदुर युनियन’ राखियो। त्यही आमसभाको सर्वसम्मतिले गिरिजाप्रसाद कोइरालालाई त्यो युनियनको अध्यक्ष छान्यो।
 
यो आन्दोलनलाई सहयोग पुर्‍याउन केही दिनपछि बीपी कोइराला र नेपाली राष्ट्रिय कांग्रेसका अरू नेताहरू पनि विराटनगर आए। सरकार आन्दोलनलाई कठोरतापूर्वक दबाउन उद्यत भयो। काठमाडौंबाट पठाएको दुई सय ५० जनाको सैनिक टोली चैत १० मा विराटनगर आइपुग्यो। त्यसले चैत १२ मा बिहानै बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई पक्राउ गर्‍यो।
 
पक्राउ गरिएका नेताहरूको रिहाइको थप माग राखेर चैत १४ मा मजदुरहरूले विशाल जुलुस प्रर्दशन गरे। जुलुसमा सेनाले निर्ममतापूर्वक गोली वर्षायो। मजदुर नेता तुलाराम तामाङको घटनास्थलमै मृत्यु भयो, अन्य धेरै घाइते भए। त्यसै दिन महिलाहरू दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरी तथा बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई समेत धेरैलाई पक्राउ गरियो। पक्राउ गरिएका सबैलाई धनकुटा लगियो। बीपी कोइरालालगायत ६ जनालाई धनकुटाबाट काठमाडौं ल्याइयो।
 
यो आन्दोलन मजदुरहरूमा मात्र सीमित रहेन। यो सम्पूर्ण जनतासम्म पुग्यो। चैत १६ मा नेपाली राष्ट्रिय कांग्रेसले आन्दोलन स्थगन गर्‍यो र पक्राउ गरिएका सबैलाई चैत मसान्तभित्र रिहा नगरे, २००४ वैशाख १ देखि देशव्यापी सत्याग्रह गर्ने निर्णय गर्‍यो। चैत मसान्तभित्र कसैको रिहा भएन। नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वमा देशका धेरै ठाउँमा सत्याग्रह आन्दोलन भयो। राणाहरूको एकतन्त्रीय हुकुमी शासनबाट भइरहेको निर्मम कुटपिट र अरू अनेक अमानुसिक यातनाको अगाडि उभिएर अनेकौं साहसी देशभक्तहरू आन्दोलनमा समाहित भए। काठमाडौंको सत्याग्रह आन्दोलन प्रत्येक दिन अझ सशक्त हुँदै गयो। यसले राणा प्रधानमन्त्रीलाई झुक्न वाध्य पार्‍यो। जेठ २ मा—‘ श्री ३ महाराज’ पद्मशम्शेरले आन्दोलन रोक्न आग्रह गर्दै, राजबन्दीहरूको रिहा गर्न र वैधानिक सुधार गर्न आफू तयार रहेको बताए। जेठ २१ देखि नेपाली राष्ट्रिय कांग्रेसले सत्याग्रह आन्दोलन स्थगन गर्‍यो।
 
मे १ सँग मजदुरहरूको इतिहास, उनीहरूको संघर्ष र अरु यावत विषयहरू आवद्ध भएर रहेका छन्। यस दिनले नेपालको मजदुर आन्दोलनलाई पनि सम्झाउँछ। त्यो नेपालमा भएको पहिलो ऐतिहासिक आन्दोलन थियो। नेपालमा प्रजातन्त्रको स्थापना र पुनस्र्थापनाको लामो संघर्षबाट गणतन्त्रसम्म आइपुग्दा, ती सबैको गन्तव्यमा पुग्ने पहिलो पाइला वा प्रस्थानविन्दु विराटनगरको यही मजदुर आन्दोलन थियो।
 
Published on: 4 May 2018 | Annapurna Post

Back to list

;