s

'माइतीको आँगन टेकेझैं ढुक्क भएको छ'

लीला श्रेष्ठ

भक्तपुर — सुनसरी धरानकी ४० वर्षीया विमला विक ५ वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत गइन् । बालबच्चा स्याहार्ने र घरायसी कामका लागि पुगेकी उनले डेढ वर्ष एकै घरमा काम गरिन् ।

तर काम चित्तबुझ्दो भएन । तलब पनि भनेजति दिएनन् । साना बालबच्चाको पालनपोषण र रोगी श्रीमान्‌को उपचार खर्च जुटाइरहेकी उनी तत्काल नेपाल फर्कन पनि सकिनन् । केही उपाय नलागेर गैरकानुनी रुपमा लुकेर काम गर्ने निर्णय गरिन् । 

‘दुईपल्ट पेटको अप्रेसन गरेको श्रीमान्‌लाई रोजगारीका लागि विदेश पठाउने कुरा आएन,’ बिहीबार सूर्यविनायक–५ सल्लाघारीस्थित प्रदेश नम्बर १ को होल्डिङ सेन्टर इम्पेरियल बैंक्वेटमा कुरा गर्दै उनले भनिन्, 'तीन सन्तान श्रीमान्‌को जिम्मा लगाएर गएको थिएँ । आपतको घडीमा फर्किंदा अहिले माइतीको आँगन टेकेझैं ढुक्क अनुभव भएको छ ।’

अझै केही वर्ष गैरकानुनी रुपमै भए पनि काम गर्ने सपना बुनेकी उनलाई कोभिड–१९ ले स्वदेश फिर्न बाध्य बनायो । ‘डेढ महिनादेखि केही काम गर्न पाइनँ, लुकेरै भए पनि राम्रै काम पाइरहेकी थिएँ,’ उनले भनिन्, ‘रहरले होइन, बाध्यताले लुकेर काम गरेको हो ।’ कोरोना महामारी सकिएपछि पुनः कुवेत फर्किने उनको योजना छ ।

उनीसँगै कुवेतबाट फर्किएकी मोरङकी रीता चौधरीको भोगाइ पनि उस्तै छ । दुई वर्षअघि घरायसी कामका लागि पुगेकी उनले निकै दुःख भोगिन् । ‘भनेजति तलब दिएन, काममा विभिन्न अपजस आइरह्यो,’ उनले भनिन्, ‘त्यो घरमा टिक्न धेरै गाह्रो भयो । बाध्यताले भागेर अन्यत्रै गएँ ।’ उनले करिब दुई महिना क्वारेन्टाइनमा बस्नुपर्‍यो । काम गर्ने वातावरण मिलेन । भनिन्, ‘केही सिप नलागेर स्वदेश फर्किएँ ।’ महामारीमा स्वदेश फर्किन पाउँदा निकै खुसी लागेको उनले सुनाइन् ।

कुवेतबाट बिहीबार ३ सय ६ जना नेपाली महिला स्वदेश आइपुगेका छन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साझा बस चढाएर नेपाली सेनाले राजधानीको तीन जिल्लाको प्रदेशगत ‘होल्डिङ सेन्टर’ पुर्‍याएको छ ।

जजिरा एयरलाइन्सको जे ९१५४१ नम्बरको पहिलो उडानमा १ सय ५७ जना र जे ९१५४३ जहाजमार्फत १ सय ४९ जना आएका हुन् । गैरकानुनी हैसियतमा बसिरहेका उनीहरुले आममाफी पाएका थिए । उनीहरुलाई गत अप्रिल २६ देखि कुवेतले अस्थायी क्याम्प र डिपोर्टेसन सेन्टरमा राखिएको थियो ।

कुवेतबाट फर्किएका मध्ये प्रदेश १ र २ का १ सय ८ नेपाली महिलाहरुलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा ल्याइएको छ । उनीहरुलाई होल्डिङ सेन्टरमा विश्राम गराई बिहीबार राति नै सम्बन्धित प्रदेशका जिल्लाहरुमा पठाइने वीरदल गण सूर्यविनायकका प्रमुख सेनानी शिवप्रसाद पौडेलले बताए ।

उनीहरुका लागि आवश्यक परे पैसा साट्न राष्ट्रिय बाणिज्य बैंक सूर्य विनायक शाखाले होल्डिङ सेन्टरमै काउन्टरको व्यवस्था गरेको छ भने नेपाल टेलिकमले निःशुल्क सिम कार्डको व्यवस्था गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको समन्वयमा ‘होल्डिङ सेन्टर’मा उनीहरुको व्यक्तिगत विवरण संकलन गर्नुका साथै शरीरको तापक्रम परीक्षण गरिएको छ ।

Published on: 11 June 2020 | Kantipur

Link

Back to list

;