s

मैनालीलाई ७ करोड रुपैयाँ क्षतिपूर्ति

देवेन्द्र भट्टराई

युवती बलात्कार र हत्या अभियोगमा प्रमाणित आधार नभइकन १५ वर्ष ३ महिना जेल सजाय बेहोर्ने इलामेली गोविन्दप्रसाद मैनालीले जापान सरकारबाट करिब ६ करोड ८० लाख रुपैयाँ (७ करोड ८० लाख येन) बराबर क्षतिपूर्ति पाउने भएका छन् । 'जिल्ला अदालतबाट यो क्षतिपूर्तिबारे बिहीबारै निर्णय भएको खबर पाएको हुँ, तर यसको सम्पूर्ण प्रक्रिया र कागजी आधारबारे जानकारी आउन बाँकी छ,' मैनालीले कान्तिपुरसँग भने ।

जापानको शिबुया स्टेसन नजिकै एउटा अपार्टमेन्टमा मृत भेटिएकी यासुको वातानावेको हत्यासँग जोडेर १९९७ को मार्च २२ देखि २०१२ जुलाई ७ सम्म अनाहकको कारागार सजाय बेहोरेका मैनाली अदालतबाट निर्दोष सावित भएर घर फिरिसकेका छन् । हत्या तथा बलात्कारका घटनामा प्रमाण जुटाउन सकिने डीएनए परीक्षणसमेत नगरी र कानुनी उपचारको बाटो बन्द गरेर मैनालीलाई कोसुगे तथा योकोहामा कारागारमा थुनिएको थियो । गत वर्ष जुलाईमा जेलमुक्त भएपछि जापानको कानुनअनुसार क्षतिपूर्ति दाबी गर्दै मैनालीले मुद्दा दायर गरेका थिए । यो नियममा दैनिक १२ हजार ५ सय येनसम्म क्षतिपूर्ति पाउन सकिने व्यवस्था छ ।

मैनालीले आफ्नो कारागार जीवन र जापानी अवैज्ञानिक अनुसन्धान पद्धतिमाथि लेखेको पुस्तक 'परिबन्दका १५ वर्ष' बुधबार मात्रै बजारमा आएको छ । जिल्ला अदालतबाट एक पटक निर्दोष प्रमाणित भइसकेका मैनालीको मुद्दा उल्टाउँदै थुन्ने काम भएपछि सन् २००१ जनवरी १५ मा 'निर्दोष गोविन्द सहयोग समिति' गठन भएको थियो । 'आफूले मुद्दा जितेसँगै क्षतिपूर्ति आएपछि नेपालको कुनै गाउँमा एउटा स्कुल निर्माण गरेर त्यसमा सहयोग समितिकै नामकरण गरिने' मनसाय गोविन्दले पुस्तकमा व्यक्त गरेका छन् ।

'म अझै पनि सामाजिक र मानसिक रूपमा घुलमिल हुन प्रयासरत छु,' मैनालीले भने, 'क्षतिपूर्ति भनेर आउने पैसाको हिसाब मात्रै गरिनुको अर्थ रहन्न । मैले जीवनमा गुमाएको उर्बर समय र सपनाको हिसाब पनि गरिनुपर्छ ।' उनले आफूजस्तै अनाहकको अभियोग बेहोरेर दुःख पाइरहेका र वषौर्ंवर्षदेखि न्यायिक लडाइँ लड्न नसकिरहेका नेपालीका लागि कोष खडा गरेर केही 'अर्थपूर्ण' काम गर्ने प्रतिबद्धता मैनालीले जनाएका छन् ।

Published on: 25 May 2013 | Kantipur

Back to list

;