s

माहुरीपालन व्यवसायबाट लाखौं आम्दानी

मालाती मोक्तान 

धनकुटाको पाख्रिबास नगरपालिका वडा नं ९ मजुवाका कृषक सुक्रबहादुर राईले यो वर्ष मह तथा दुई सयभन्दा बढी माहुरीको घार बिक्री गरेर लाखौं आम्दानी गरेका छन्। आजभन्दा १० वर्षअघि विदेशमा राम्रो कमाइ नभएपछि विदेशबाट घर र्फकेर व्यावसायिक रुपमा कृषि क्षेत्रमा लागेका सुक्र राईले अहिले कृषि पेशाबाट मनग्य आम्दानी लिन थालेको बताए। 

२०७२ सालदेखि व्यावसायिक रुपमा कृषि क्षेत्रमा लागेका राई अहिले माहुरीपालन व्यवसायबाट राम्रो आम्दानी लिइरहेका छन्। व्यावसायिक रुपमा उनको अहिले ८५ वट भन्दा माथि सेरेना जातका माहुरी पालेका छन्।  

यो वर्ष २ सय ७० केजी मह उत्पादन गरेर ३ लाख आम्दानी लिन सफल भएको कृषक राईले बताए। त्यस्तै गरी माहुरीको घार पनि बनाउने भएकाले माहुरीको आधुनिक घार यसवर्ष ९० ओटा ५ हजारका दरले प्रतिगोटा घार बेचेर ४ लाख ५० हाजार आम्दानी भएको राईले बताए।  

त्यस्तै गरी उनले माहुरी माहु सहितको ५ वटा घार र  माहुरीको गोला मात्रका घार २८ वटा पनि १ लाख ९० हजारमा बिक्री गरेको राईले जानकारी दिए। अझै पनि जिल्ला कृषि ज्ञान केन्द्र लगायतबाट २२ वटा माहुरीको घारको माग भइरहेको बताए। उनले माहुरीको घार तथा मह जिल्लाको विभिन्न स्थानीय तह तथा बाहिर जिल्ला सुनसरी, मोरङ, उदयपुर, भोजपुर लगायतका जिल्लामा निर्यात हुने गरेको बताए। 

माहुरीको मह भने प्रतिकिलो १ हजार रुपैंयामा बेच्ने गरेको छ। अहिलेसम्म बजार अभाव होइन माग धान्न भने गाह्रो भइरहेको राईको भनाइ छ। ‘पहिला पैसा कमाउने सपना बोकेर मलेसिया कतारजस्ता विदेश धाए पनि अन्तिममा मेरो भविष्य आफ्नै देशको माटोमा रहेछ, अहिले कृषि पेशाबाट खुसी र सन्तुष्ट छु’, राईले सुनाए।

Published on: 22 May 2021 | Nagarik

Link

Back to list

;