s

महिनामै ७३ अर्ब रेमिटेन्स

चालु आर्थिक वर्षको साउनमा वैदेशिक रोजगारमा गएका कामदारले ७३ अर्ब ७५ करोड रुपैयाँ रेमिटेन्स नेपाल पठाएका छन्। चालू आव वैदेशिक रोजगारबाट भित्रिएको रेमिटेन्स गएको आवको साउनभन्दा ३३ प्रतिशतभन्दा बढी हो। गत वर्ष सोही महिना ५५ अर्ब ५५ करोड रेमिटेन्स भित्रिएको थियो।

यस वर्ष रेमिटेन्स बढ्नुको प्रमुख कारण डलरको मूल्य वृद्धि भएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए। ‘कामदार बढेका कारण रेमिटेन्स बढेको नभइ डलरको मूल्य बढेकाले हो’, उनले भने, ‘गत वर्षको साउनमा ३१ हजार तीन सय नौ कामदार रोजगारीका लागि विदेश गएका थिए।’ तर, यस वर्षको साउनमा त्यो करिब साढे १० हजारले घटेर २० हजार आठ सय २४ मा सीमित भएको छ।

गएको आवमा जम्मा सात खर्ब ५५ अर्ब रेमिटेन्स भित्रिएको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा रेमिटेन्स उल्लेख्य रूपमा बढेको उल्लेख छ। यसैगरी राष्ट्र बैंकले साउनमा ४.२ प्रतिशत मूल्य वृद्धि रहेको देखाएको छ।

गएको आवमा यस्तो मूल्य वृद्धि दुई दशमलव तीन प्रतिशत थियो। त्यस अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य बढेका कारण समग्रमा मूल्य वृद्धि बढ्न गएको हो। गएको आवको अन्तिम महिना असारमा यस्तो वृद्धिदर ४.२ प्रतिशत थियो। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि दुई दशमलव नौ प्रतिशत छ। गएको आवमा यो समूहको मूल्य वृद्धि एक प्रतिशतले ऋणात्मक थियो।

यस आवको साउनमा गैरखाद्य वस्तु तथा सेवा समूहको मूल्य वृद्धि पाँच दशमलव दुई प्रतिशत छ। गएको आवमा वृद्धिदर चार दशमलव नौ प्रतिशत थियो। मूल्य वृद्धिको अवस्थालाई क्षेत्रगत रूपमा हेर्दा पहाडमा सबैभन्दा बढी र हिमालमा सबैभन्दा कम मूल्य वृद्धि देखिएको छ। साउनमा पहाडमा ५.३, तराईमा ४.१, काठमाडौंमा उपत्यकामा ३.५ र हिमालमा २.७ प्रतिशतले मूल्य वृद्धि भएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

तीनै तहमा सरकार गठन भइ बजेट समेत कार्यान्वयनमा आइसकेकाले आर्थिक गतिविधि सकारात्मक हुँदै गएको राष्ट्र बैंकले जानकारी दिएको छ।

साउनमा सरकारको चालु खाता घाटा २५ अर्ब ३८ करोडमा सीमित भएको छ। गत आवको साउनमा सरकारको चालु खाता ५ अर्ब ९८ करोडमात्रै थियो। त्यसैगरी गत आवको साउनमा तीन अर्ब २९ करोड घाटामा रहेको समग्र शोधानान्तर स्थिति समीक्षा अवधिमा बढेर २४ अर्ब ७७ करोड पुगेको छ। 

घट्यो विदेशी सञ्चिति

यस वर्षको साउनमा विदेशी सञ्चिति घटेको छ। गएको आवको साउनमा नौ खर्ब ८९ अर्ब ४० करोड रहेको विदेशी सञ्चिति यस वर्षको साउनमा घटेर नौ खर्ब ६५ अर्ब ३० करोडमा सीमित छ।

राष्ट्र बैंकको ढुकुटीमा विदेशी सञ्चिति घटे पनि बैंक तथा वित्तीय संस्थासँग भने बढेको छ। गत साउनमा बैंक तथा वित्तीय संस्थासँग विदेशी विनिमय सञ्चिति एक खर्ब १३ अर्ब रहेकामा यस वर्षको साउनमा बढेर एक खर्ब २७ अर्ब पुगेको छ।

Published on: 30 September 2018 | Annapurna Post

Back to list

;