s

ज्यालामा विभेद महिलालाई ५००, पुरुषलाई १०००

राजकुमार कार्की 

कमलामाई नगरपाालिका–२ की सीतामाया भोलन र आफ्ना श्रीमान् जगतसँगै खेतीको काममा जान्छन् । उनीहरू दैनिक ज्यालादारी गर्छन् । दिनभरको कामपछि सीताले पाँच सय रुपैयाँ थाप्छिन् भने जगतले एक हजार । काम उत्तिकै हो, श्रीमान् हलो जोत्छन्, श्रीमती रोपाइँ गर्छिन् । यहाँ कामदार पुरुष र महिलाको ज्याला वर्षौंदेखि फरक–फरक छ ।

‘उहाँले (श्रीमान्) हलो जोत्ने, पटाहा, आली लगाउने, बाउसेलगायतका काम गर्नुहुन्छ, म छुपुछुपु धान रोप्ने काम गर्छु,’ सीताले भनिन्, ‘काम उस्तै हो तर ज्याला आधा मात्र हुन्छ ।’ काम नगरे छाक टार्न समस्या हुने भएकाले असमान ज्यालामा पनि महिला कामदार दलिन बाध्य छन् । सीता मात्र हैन, सयौं महिला कामदार असमान ज्यालाबाट पीडित छन् ।

‘घर निर्माण, सडक, खेतबारी काम होस् या अन्य कुनै सबैमा महिलालाई कम ज्याला दिने गरिएको छ, सँगै डोकामा गोबर दिनभर बोक्दा पनि ज्याला भने कम पाइन्छ,’ कमलामाईं नगरपालिका ५ पोखरेल गाउँकी सीता सार्कीले गुनासो पोखिन्, ‘हिउँदमा होस या वर्षामा महिनालाई पुरुषसरह ज्याला दिइँदैन ।’

असमान ज्यालाका कारण महिलाहरू पुरुषबाट प्रताडितसमेत हुने गरेका छन् । सँगै काम गर्दा धेरै ज्याला पाउने हुनाले पुरुषले मदिरा सेवन गर्दासमेत केही बोल्न नसक्ने सीताको ठहर छ । ‘तैलेभन्दा बढी कमाएको छु, भनेर हप्कीदप्की गर्छन्, केही बोल्न सकिन्न,’ उनले भनिन् ।

पहिलादेखिकै चलन भएकाले ज्याला कम दिने गरेको काम लगाउनेहरूको भनाइ छ । महिला कामदारले भन्दा पुरुषले बढी जोखिमका काम गर्ने भएकाले ज्याला बढी दिनुपरेको कनपा ४ ढुंग्रेवासका कृषक केदार दाहालको भनाइ छ । ‘महिला कामदारले मिस्त्री, हलो जोत्नेदेखि जोखिमका कुनै काम गर्न सक्दैनन्,’ उनले भने, ‘पुरुषसरह दिन थाल्यो भने कामदार नै पाइँदैन ।’

महिलालाई धेरै ज्याला दिँदा हेपिएको महसुस गर्दै पुरुष कामदार काममै नआउने गरेको कनपा ६ का लोकविक्रम थापाले बताए । हेपिएको अथवा काम बढ्ता हुने गरेको भन्दै पुरुष कामदार नै बढी ज्याला माग्ने गर्नाले समान बनाउनै नसकिने उनको तर्क छ । ज्यालामा मात्र हैन खानेकुरामा समेत महिलाहरू हेपिने गरेका छन् ।

रोपाइँमा पुरुष कामदारलाई खान दिएपछि मात्र महिलालाई दिने गरेको कनपा ६ अधेरीकी दिलमाया रम्तेलले बताइन् । ‘पुरुषलाई अघाउजी खाजा दिइन्छ, तर हामीलाई भने बचेखुचेको दिने गरिएको छ,’ उनले भनिन्, ‘ज्याला त कम दिइन्छ नै, खानेकुरामा समेत भेदभाव छ ।’

महिलालाई निजी क्षेत्रमा मात्र हैन, सरकारी काममा समेत असमान ज्याला रहेको भेटिन्छ । जिल्ला दररेटअनुसार महिला हुन् या पुरुष दुवै कामदारले न्यूनतम ६ सय कायम गरिएकाले असमान ज्याला दिएको उजुरी परे कारबाही गरिने जिल्ला प्रशासनले जनाएको छ ।

Published on: 27 July 2019 | Kantipur

Back to list

;