s

महिला बेचबिखन आरोपमा पक्राउ

नुवाकोट ध्याङफेदी गाविस वडा ६ की एक महिलालाई बेचबिखन गरेको भन्दै प्रहरीले एक व्यक्तिलाई पक्रेको छ। महिलालाई फकाई काम लगाइदिन्छु भन्दै भारत लगेर बेचेको भन्दै प्रहरीले ध्याङफेदी गाविस ७ का आइत तामाङलाई पक्रिएको प्रहरीले जनाएको छ।

पीडित महिला शारीरिक तथा मानसिक अवस्था विक्षिप्त अवस्थामा भारतको रिड्स नामक संस्था र भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाएको विज्ञप्तिमा उल्लेख छ।

अभियुक्तलाई गत बिहीबार काठमाडौं जोरपाटी गाविस ३ पप्पुधारामा बसिरहेको अवस्थामा पक्रिएको प्रहरीले जनाएको छ। साथै, उनको साथबाट ३ हजार सात सय १० भारु बरामद भएको प्रहरीले जनायो।

अनुसन्धानबाट पीडितले पनि तामाङलाई पहिचान गरेको खुलेको छ। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ४ को उपदफा २ (क र ख) कसुर अपराधमा दफा १५ (१) ङ (१) अनुसार विदेश लैजानेलाई १० देखि १५ वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनुपर्ने कानुनी प्रावधान छ।

Published on: 29 October 2013 | Nagarik

Back to list

;