s

महिला तस्करीको नयाँ रुप–विश्व स्वास्थ्य संगठनको रिपोर्ट बोकेर २ जना महिला केन्या पुगेर फर्किए

लक्ष्मण खनाल
 
कुवेतमा रोजगारीको लागि भिषा आएको भन्दै भारतको बाटो हुँदै अफ्रिकी मुलुक केन्या पुगेर फिर्ता आएका २ नेपाली महिलाहरुलाई युएई स्थित शारजाह विमानस्थलबाट उद्दार गरी नेपाल पठाइएको छ । सुनसरीकी चन्द्रकुमारी विक र सिन्धुपाल्चोककी माया तामाङ्गलाई युएईबाट उद्दार गरी नेपाल पठाइएको हो । महिला उद्दारमा भुमिका निभाएका दिपिका भण्डारी र एलिनले उनीहरुलाई अलपत्र अवस्थामा शारजाह विमानस्थलमा भेटेका थिइन् । पासपोर्ट पनि साथमा नभएको अवस्थामा भेटिएका उनीहरुलाई एअरपोर्टमा पासपोर्ट खोजी नेपाल फिर्तीको टिकट बनाएर नेपाल पठाइएको हो ।
 
धरानका राजन भनिने दलाल मार्फत भारत पुगेका उनीहरुलाई युएईको भिजिट भिषा बनाएर युएई हुँदै केन्या पुर्याइएको थियो । भारतमा रहेर दलाली गर्ने बंगलादेशी मुलका केदार भनिने एक व्यक्तिले उनीहरुको सबै कागजात तयार गरेका थिए । उनीहरु केन्या विमानस्थलमा पुगे लगतै त्याहाँको स्थानिय पुलिसले उनीहरुलाई कब्जामा लिएको बताउछन् । केन्या पुलिसले एक दिन जेल राखेर भोली पल्ट उनीहलाई पुनः युएई फिर्ता पठाएको थियो । भन्छन्–‘केन्या पुगेपछि मात्र हामीलाई थाहा भयो हामी त दलालमार्फत ठगिएका रहेछौ । विना भिजा नक्कली कागज बनाएर हामीलाई अलपत्र परियो । एक दिन जेलमा घर सम्झेर रुँदै बस्यौ ।’
 
शारजाह विमानस्थलमा आएपछि उनीहरुको पासपोर्ट विमानस्थल प्रशासनले लिएको थियो । बैदेशिक रोजगारीको लागि कुवेत पुगेर पैसा कमाउने सपना बोकेर आएका उनीहरु शारजाह विमानस्थलमा दिपिकासँग भेटिएपछि आफ्नो वास्तविकता बताएका थिए । दिपिका भण्डारी र एलिनको पहलमा नेपाल फिर्तिको टिकट बनाएर बुधवार साँझ ४ बजेको उडान मार्फत नेपाल फर्किएका उनीहरु दलालको विरुद्धमा उजुरी दिने बताए । आफुहरुलाई दलालले फकाएर मिठा मिठा सपना देखाएका कारण आफ्नो घर परिवारसँग झगडा गरेर बैदेशिक रोजगारीको लागि आएको उनीहरुको गुनासो छ ।
 
विश्व स्वास्थ्य संगठनको परिचय पत्रको आडमा तस्करी
 
केन्या पुगेर फर्किएका सुनसरीकी चन्द्रकुमारी विक र सिन्धुपाल्चोककी माया तामाङ्गलाई दलालले विश्व स्वास्थ्य संठनको परिचय पत्र दिएर झुट बोल्न लागाएको उनीहरु बताउछन् । शारजाहमा अलपत्र अवस्थामा भेटिएका उनीसँग विश्व स्वास्थ्य संगठनको परिचय पत्र पनि रहेको छ । तर त्यो सक्कली हो या नक्कली यकिन भने हुन सकेको छैन ।
 
उनीहलाई भारतमा रहेको केदार भनिने दलाले आवश्य परेको ठाँउमा कसैले सोध्यो भने भ्याक्सिन (सुइ) लगाउनको लागि केन्या हिँडेको ८ तारिक भ्याक्सिन लगाउने समय रहेको भनेर झुट बोल्न लगाएको र सोही अनुसार दिल्ली विमानस्थल र युएई विमानस्थलमा उनीहरुले झुट बोलेका थिए । झुट बोलेकै आधारमा केन्या विमानस्थलमा उनीहरुलाई प्रहरीले पक्रिएको थियो ।
 
यसरी विभिन्न नक्कली कागजात बनाएर विभिन्न देशमा सञ्जाल बनाएर महिला तस्करी गर्दै आइरहेका दलालहरुले विश्व स्वास्थ्य संगठनको परिचय पत्रको आडमा तस्करी गरेको खुल्न आएको छ ।
 
Published on: 16 November 2017 | Naya Patrika

Back to list

;