s

महिला कामदारले उद्योगलाई सजिलो

माधव ढुंगाना

भैरहवा — काममा श्रमिकको निरन्तरता नहुँदा उद्योगमा उत्पादनको लक्ष्य र योजना जहिल्यै फेल हुने पीडा बेहोर्दै आएका भैरहवा आसपासका उद्योगी व्यवसायी अहिले यस्तो समस्याबाट मुक्त भएका छन् । आफ्ना श्रमिक तथा कामदार कता गए भन्दै काममा ल्याउन उनीहरूलाई खोज्दै हिँड्नुपर्ने समस्याबाट ग्रस्त उनीहरू महिला कामदारलाई उद्योग व्यवसायमा काम दिन थालेपछि समस्याबाट मुक्त भएका हुन् ।

महिनौं दिनसम्म काम सिकाउँदै दक्ष बनाइएका कामदार सीप सिकेपछि भारतलगायत अन्य मुलुकमा पलायन हुने, तलब बाँडेपछि केही दिनसम्म कामदार कामका लागि देखै नपर्ने र स्थानीय हाटबजार, मेलापर्व लाग्नासाथ कामदार बिनाजानकारी बिदामा बसिदिने जस्ता समस्याबाट यहाँका उद्योगी व्यवसायी हैरान थिए । पुरुषको स्थानमा महिला कामदारलाई काममा प्राथमिकता दिन थालेपछि यस्तो समस्याबाट मुक्ति मिलेको जगदम्बा स्पिनिङ उद्योगका सञ्चालक निर्देशक चिरञ्जीवी रायमाझीले बताए । पहिला उनको उद्योगमा शतप्रतिशत पुरुष कामदार राखिएको थियो । पुरुषलाई मात्र काम दिँदा यसखाले समस्या आएपछि विकल्पका रूपमा महिला कामदारलाई प्राथमिकतासाथ काममा लगाउने योजना बनाइएको उनको भनाइ छ ।

‘महिला कामदारलाई प्राथमिकतामा राखेर काममा लगाउँदा सकारात्मक परिणाम आउन थालेका छन्,’ रायमाझीले भने, ‘महिलाले उद्योगमा काम गर्न थालेपछि पहिला जस्तो काममा निरन्तरता नहुने, कामदार आफूअनुकूल समयमा मात्र काममा आउनेलगायत समस्या भोग्नुपरेको छैन ।’ तुलनात्मक रूपमा पुरुषभन्दा महिला जिम्मेवार र संवेदनशील भएर काम गरेको उनको दाबी छ । काम सिकेपछि विदेश वा अर्को उद्योगमा पलायन हुने, स्थानीय कामदारले काममा निरन्तरता नदिने, आफूअनुकूलको समयमा मात्रै कामका लागि आइदिने स्वदेशी कामदारको प्रवृत्तिबाट यस क्षेत्रमा उद्योगी व्यवसायी पीडित थिए । काम सिकाएर दक्ष बनाइएका नेपाली कामदारलाई समान खालका भारतीय उद्योगमा लैजान श्रमिक आपूर्ति गर्ने ठेकेदारले विभिन्न प्रलोभनमा पारेर लैजाने गर्दा पनि नेपाली व्यवसायीले श्रमिक अभावको सामना गर्नुपर्थ्यो ।

दैनिक सात सय हाराहारीमा कामदार चाहिने जगदम्बा स्पिनिङ उद्योगमा पहिला सबै पुरुष थिए । सुटिङसर्टिङ कपडा उत्पादनका लागि धागो उत्पादन गर्ने उद्योगको उत्पादन टर्की र भारत निर्यात हुँदै आएको छ । उद्योगको दैनिक उत्पादन क्षमता ३० टन छ । माग उच्च रहेकाले उद्योग चौबिसै घण्टा चलाउनुपर्छ । तर विभिन्न कारणले कामदारको निरन्तरता नभएपछि उत्पादन प्रभावित हुने गरेको थियो । दुई महिनादेखि महिला कामदार राखेर काम गर्न थालेपछि यो समस्या हटेको रायमाझीले बताए ।

पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, बाजुरा, उदयपुरलगायत जिल्लाका १ सय ३० जना महिला कामदार यहाँ कार्यरत छन् । दैनिक घरबाट आउनजान नभ्याउने महिलालाई उद्योग आसपासका घरमा कोठाभाडामा लिएर राखिएको छ । कतिपय परिवारसहित बसेका छन् । उनीहरू समयमै काममा आइपुग्छन् । पूरै समय खटेर ड्युटी गर्छन् । ससाना छोराछोरी भएका महिलाले दिउँसोको सिफ्टमा काम गर्छन् । रातिमा आफूले छोराछोरी हेरेर श्रीमान्‌लाई काममा पठाउने गरेका छन् । 

‘महिला कामदारले सजग बनेर हल्का रूपमा मेसिन तथा उपकरण चलाउने गरेकाले उपकरण टुटफुट र बिग्रिने सम्भावना अति कम हुन्छ,’ रायमाझीले भने, ‘दुई महिनामा यसरी काम गर्दा हुने उपकरण मर्मत खर्चमा पनि कमी आएको छ ।’ महिला कामदारले पाएको तलब पूरै घरपरिवारमा जाने र दुरुपयोग नहुने गरेको उनले बताए ।

पुरुष कामदारबाट काममा नियमितता नहुँदा पारेको असरले क्षमताअनुरूपको उत्पादन लक्ष्य भेट्न पहिला कामदारलाई ओभरटाइमसमेत दिनुपर्थ्यो । अहिले महिला कामदार आएपछि त्यो समस्या हटेको उनले सुनाए । जगदम्बा सेन्थेटिक्स उद्योगले काम जानेका कामदारको अभाव हुन नदिन बर्सेनि कामदार खोजेर तालिमको समेत व्यवस्था गर्ने गरेको छ । दक्ष कामदार उत्पादन गर्दै आए पनि श्रमिक अन्यत्र पलायन हुने, काममा निरन्तरता नदिने जस्ता कारणले अभाव नै हुने गरेको छ ।

स्पिनिङ उद्योगमा आफूलाई आवश्यक दक्ष जनशक्ति उद्योगभित्रै तयार गर्ने क्रम १४ वर्षदेखि जारी छ । अहिलेसम्म करिब ६ हजार जना कामदारलाई तालिम दिएर दक्ष बनाइएको उद्योगको दाबी छ । सेन्थेटिक्स उद्योगले पनि दैनिक आठ सय कामदार आवश्यक पर्नेमा अहिलेसम्म करिब १५ हजारलाई दक्ष बनाए पनि झन्डै पाँच सयको संख्यामा मात्र उद्योगमा उपलब्ध छन् । एक जना कामदारलाई रोजगारीसहित तीनमहिने प्रशिक्षण दिँदा न्यूनतम पनि ४५ हजार रुपैयाँ खर्च लाग्ने उद्योगको दाबी छ ।

‘जतिसुकै तालिम दिएर दक्ष बनाए पनि सधैं कामदार अभावको समस्या आउने भएपछि अब हामीले पनि महिला कामदारलाई प्राथमिकतामा राखेर रोजगारी दिने योजना बनाएका छौं,’ जगदम्बा सेन्थेटिक्स उद्योगका व्यवस्थापक रतन आचार्यले भने, ‘परीक्षणका लागि तत्कालै ६०/७० जना महिला कामदार राख्ने सोच छ ।’

सात वर्षअघिसम्म ९० प्रतिशत कामदार भारतीय रहेकामा स्वदेशीलाई प्राथमिकता दिने भन्दै अहिले ९० प्रतिशत नेपाली कामदारलाई रोजगारी दिइएको उनले जनाए । व्यवसायीका अनुसार पुरुष कामदार साना वा ठूला हरेक जात्रा, पर्व, हाटबजारका बेला काममा उपस्थित हुँदैनन् । तलब बाँड्नुअघि शतप्रतिशत क्षमतामा चलेका उद्योग तलब बाँडेको तीन दिनसम्म उत्पादन ६० प्रतिशतमा झर्ने गरेका उदाहरण धेरै छ । ‘यसको मुख्य कारण पुरुष कामदार तलब हात पर्नासाथ फजुल खर्च गर्नु र कामप्रतिको जिम्मेवारीबोध नहुनु हो,’ पश्चिमाञ्चल सिमेन्ट उत्पादक संघ रूपन्देहीका महासचिव विदुर ढुंगानाले भने, ‘यसको विपरीत प्रायः महिला कामदार आफ्नो घरपरिवार र कामप्रति संवेदनशील हुने गरेकाले काममा सुनिश्चितता छ ।’

सिमेन्ट, सेन्थेटिक्स, स्पिनिङ, स्टिल, कागज, प्लाइउड, खाद्यान्नसहित २६ वटा उद्योग रहेको लुम्बिनी करिडोरमा मात्रै प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब पाँच हजार कामदार कार्यरत छन् । भैरहवा–परासी औद्योगिक करिडोर, भैरहवा–बुटवल औद्योगिक करिडोरमा समेत गरी झन्डै पाँच दर्जन उद्योग सञ्चालनमा छन् ।

Published on: 10 February 2021 | Kantipur

Link

Back to list

;