s

महिला बालबालिका हराउँछन्, भेटिँदैनन्

नवीनराज कुइँकेल

बेसीसहर नगरपालिकाका–८ फुलबारी चोककी अमृता श्रेष्ठ साउन २ गतेदेखी परिवारको सम्पर्कमा छैनन् । उनी अहिलेसम्म फेला परेकी छैनन् । लामो समयसम्म सम्पर्कमा नआएपछि खोजीका लागि परिवारले प्रहरीमा उजुरी दिएका छन् । राइनस नगरपालिका–१० की २८ वर्षीया लक्ष्मी गुरुङ पनि परिवारको सम्पर्कमा छैनन् । दुई छोरा र छोरी घरमै छाडेर हिँडेकी लक्ष्मीको अहिलेसम्म अत्तोपत्तो छैन । उनी फर्केर आउँछिन् कि भनेर परिवारका सदस्यले लामो प्रतिक्षा गरे । सम्भावित ठाउँमा खोजतलास पनि गरे । तर, कुनै खबर नपाएपछि परिवारले हराएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

राइनसकै २७ बर्षिया सरस्वती भुजेल पनि गत वर्षको जेठ ९ मा घरबाट माइत हिडेकोमा अझै घर फर्किएकी छैनन् । सोधीखोजी गर्दा पत्तो नलागेपछि ससुरा हरिबहादुरले जिल्ला प्रहरी कार्यालयमा बुहारी हराएको उजुरी दिएका छन् । गोरखा पालुङटार नगरपालिकाका १६ वर्षीय नौलो गुरुङ २९ असोजमा बेसीशहरबाट हराए । आमा सरस्वती गुरुङले छोराको खोजी गरिदिन प्रहरीमा उजुरी दिएकी छिन् । तर उनको अत्तोपत्तो छैन । यी प्रतिनिधि घटना मात्र हुन् । यस्ता समस्या लमजुङमा प्रत्येक वर्ष बढ्दै गएको छ ।

लमजुङबाट वर्षेनी सयौंको संख्यामा महिला तथा बालबालिका हराउने गरेका छन् । हराएका मध्ये कमै मात्र भेटिन्छन् भने अधिकांश बेखबर छन् । हराएकाको अवस्था के छ भन्ने बारे सरकारी निकाय बेखबर छ ।

प्रत्येक वर्ष हराउनेको संख्या बढ्दो

जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा १ सय २१ जना मानिस हराएका छन् । हराउनेमा ७३ जना महिला, २५ जना बालिका र ६ जना बालक छन् । यी मध्ये ५२ महिला, २० बालिका ४ र बालक भेटिएका छन् भने बाँकीको अत्तोपत्तो छैन् । आर्थिक वर्ष ०७४ /०७५ मा जिल्लाबाट ८० महिला र बालबालिका हराइसकेका छन् । जसमध्ये महिला १३, बालिका ६ र बालक ३ जना मात्रै भेटिएका छन् । ३७ जना महिला, १२ बालिका र ९ जना बालक भने भेटिएका छैनन् । आर्थिक वर्ष ०७३/७४ मा ९५ जना हराएका थिए । जसमा ६५ जना महिला, १३ जना बालक र १७ बालिका थिए । जसमध्ये अहिलेसम्म १६ महिला, ८ बालिका र ४ जना बालक मात्रै भेटिएका छन् । बाँकी ६७ जना अझै पनि सम्पर्कबाहिर रहेका जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक बुद्धीसागर पुरीले बताए । ०७२/७३ मा ४६ जना मानिस हराएका थिए । जसमध्ये महिला २८, बालक १० जना र बालिका ८ जना छन् । हराएकामध्ये ८ महिला, ३ बालक र ६ बालिका जना गरी १७ जना मात्रै सम्पर्कमा आए । अहिलेसम्म २९ जना सम्पर्कविहिन छन् ।

किन हराउँछन् ?

हराउनेमध्ये १५ देखि २८ वर्ष उमेर समूहका युवती बढी छन् । पछिल्लो समय पति विदेशमा भएका महिला हराउने क्रम बढेको छ । कतिपयले पतिले विदेशबाट पठाएको पैसासमेत लिएर हिड्ने गरेका छन् । शारीरिक अपांगता, मानसिक असन्तुलन, परिवारमा हुने झै–झगडा, सामाजिक अवहेलनाजस्ता कारणले गर्दा पनि मानिस बेपत्ता हुने गरेका प्रहरी निरिक्षक बसन्त पाण्डे बताउँछन् ।

प्रहरीको महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख नन्दु अधिकारीले महिला तथा बालबालिका हराउने संख्या बढ्दै जानु गम्भीर भएको बताइन् । हराउने क्रम बढ्नुमा प्रहरीले दिएको कारणबाहेक अरू पनि हुन सक्ने भन्दै यसको खोजी हुनुपर्नेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । मानव अधिकारकर्मी कृष्ण प्रसाद अधिकारीले जिल्लाबाट मानिस हराउने क्रम बढ्दै जानु प्रहरी संगठन र जिल्लाकै लागि चुनौतीको विषय भएको बताए । उनले भने विगतका वर्षदेखि नै लमजुङमा महिला र बालबालिका हराउने क्रम बढ्दो छ ।

हराउनेमा महिला र बालबालिका बढी

जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार जिल्लाबाट हराएका महिला र बालिकाको संख्या धेरै छ । आर्थिक वर्ष ०७५/०७६ मा हराएका १ सय २१ मध्ये ७३ जना महिला रहेका छन् भने २५ जना बालिका र ६ जना बालक छन् । जिल्लाबाट एक वर्षमा १७ जना पुरुष हराएका छन् । हराएकामध्ये १३ पुरुष फेला परेका छन् भने ४ जना अझै सम्पर्कमा छैनन् । विगतका वर्षलाई हेर्ने हो भने पनि हराउनेमा महिला र बालबालिका नै बढी छन् ।

भेटिए पनि प्रहरीमा खबर गरिदैन

परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् । तर हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेका प्रहरी निरिक्षक पाण्डे बताउँछन् । हराएका कतिपय भेटिए पनि प्रहरीलाई खबर नगर्दा हराउनेको सूची धेरै भएको हुन सक्ने उनको भनाइ छ । कतिपय महिला र किशोर किशोरीले भागी विवाह गर्छन् । महिला तथा बालबालिका केन्द्रकी प्रमुख नन्दु अधिकारीका अनुसार उमेर पुगेका विवाह भएका केहि युवती अन्यत्रै विवाह गरेर गएको हुनसक्ने देखिन्छ । घरबाट हिड्नासाथ प्रहरीमा उजुरी दिन्छन् । पछि अन्तै विवाह गरेर गएको थाहा पाएपछि प्रहरीको सम्पर्कमा आउदैनन् । प्रहरीमा परेका उजुरी हेर्दा वैदेशिक रोजगारमा गएका युवाको श्रीमती बढी देखिएको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार हराएको निवेदन आएपनि फेला परेको जानकारी नआउने भएकालेपनि फेला पर्नेको सङ्ख्या नघटेको हो । प्रहरीले हराएका महिला तथा बालबालीकाको खोजीकार्य तिव्र पारीएको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख अधिकारीले बताईन् ।

Published on: 20 August 2019 | Annapurna Post

Back to list

;