s

महासंघको रोजगार मेला सुरु

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा रोजगार मेला सुरु भएको छ। नेपाल उद्योग रोजगार मेलाको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार विशेष समारोहका बीच उद्घाटन गरे।

महासंघको सचिवालयमा आयोजना गरिएको रोजगार मेला जेठ १७ गतेसम्म सञ्चालन हुनेछ। रोजगार मेलालाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोग र रोजगार सेवा केन्द्र एवं मेरो जबको प्राविधिक सहायता रहेको छ।

कामको खोजीमा रहेका युवाहरूलाई मेलामा सहभागी कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सिप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गरिएको हो।

कार्यक्रममा महासंघका अध्यक्ष ढकालले रोजगार मेलालाई महासंघले क्यालेण्डर इभेन्टको रूपमा अगाडि बढाउने बताए। श्रम बजारमा रहेको रोजगारीको मिस म्याच समस्या समाधान गर्न रोजगार मेला जस्ता कार्यक्रमले सघाउने धारणा अध्यक्ष ढकालको थियो।

बजारमा दक्ष जनशक्तिको अभाव पनि छ, काम नपाएर विदेशिनेको संख्या पनि बढ्दो छ, यो मिस म्याचलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा महासंघ केन्द्रित छ, अध्यक्ष ढकालले भने।

कूल गार्हस्थ उत्पादनमा करिब ८१.५५ प्रतिशत योगदान रहेको निजी क्षेत्रको रोजगारीमा समेत ठूलो योगदान छ। केही समयदेखि अर्थतन्त्रमा आएका अवरोधका कारण निजी क्षेत्र विस्तार हुन नसक्दा रोजगारी सृजना र अर्थतन्त्र विस्तारमा समेत समस्या आयो, अध्यक्ष ढकालले भन्नुभयो।

महासंघको वर्तमान नेतृत्वले अगाडि सारेका प्रमुख पाँच प्राथमिकताहरूमा दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जना समेत रहेकाले रोजगार मेलाले उक्त प्राथमिकतालाई पूरा गर्न सघाउने विश्वास व्यक्त गरे।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले रोजगार मेलाले कामको खोजी गरिरहेका युवा र जनशक्ति खोजिरहेका उद्योग प्रतिष्ठान कम्पनी बीच पुलको काम गर्ने बताए। उद्घाटन कार्यक्रमको प्रारम्भमा महासंघको रोजगारदाता परिषद्का सभापति हेमराज ढकालले रोजगार मेलामा ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको जानकारी दिए।

मेलामा कम्पनीहरूले ६ सय भन्दा बढी रोजगारीको अवसर पेश गरेका छन्। दुुई दिने मेलामा करिब ५ हजार ‘जब सिकर’ले अवलोकन गर्ने लक्ष्य राखिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनका राष्ट्रिय परियोजना संयोजक सौरभराम जोशीले महासंघसँग मिलेर रोजगार मेला आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे।

प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक एवं श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले रोजगार मेला नेपालमा रहेको श्रम शक्तिको पहिचान गर्ने एउटा महत्वपूर्ण माध्यम हुने र सरकारले पनि यस्ता कार्यक्रमको प्रवद्र्धनमा विशेष सहयोग गर्ने नीति रहेको बताए।

रोजगार मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ।

Published on: 31 May 2023 | Nagarik

Link

Back to list

;