s

महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो

कृष्ण ढुंगाना
 
वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डेलाई बुधबार चावहिलस्थित घरबाटै पक्राउ गरी अख्तियारले अनुसन्धानलाई तीब्रता दिएको हो।
 
'सर्वोच्च अदालतले एक मेनपावरको कारोबार फुकुवा गर्न भनेको थियो। विभागले त्यसमा आनाकानी गरी अनियमितता गरेको देखियो', अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले नागरिकन्युजसँग भने, 'यही प्रकरणमा दश लाख रुपैयाँ घुससहित विभागका दुई कर्मचारी हिजो पक्राउ परेका थिए। त्यसकै फलोअपमा बुधबार पाण्डे पक्राउ परेका हुन्।'
 
अख्तियारको टोलीले हिजो मंगलबार विभागका अधिकृत कृतिवल्लभ पौडेल र नासु खडक केसीलाई नयाँ वानेश्वरको इन्द्रेणी फुडल्यान्डबाट पक्राउ गरेको थियो। उनीहरु घुसबापतको १० लाख रुपैयाँसहित पक्राउ परेका थिए। साँझ ६ बजे पक्राउ परेका उनीहरुले बयानमा महानिर्देशक पाण्डेसँगको मिलेमतोमा घुस लेनदेनमा संलग्न रहेको बताएका थिए। त्यही बयानका आधारमा अख्तियारले बुधबार महानिर्देशक पाण्डेलाई पक्राउ गरेको उल्लेख गरेको छ।
 
सुभद्राको योजनामा महानिर्देशक पक्राउ
 
वैदेशिक रोजगार विभागका बरिष्ठ अधिकारी पक्राउको कथा महाराजगञ्ज कार्यालय रहेको एसआरएस ओभरसिजसँग गएर जोडिएको छ। मानव तस्करीका लागि बद्‌नाम सो मेनपावरबाट गत वर्ष सेक्युरिटी गार्डका लागि ५२ व्यक्ति युएई गएका थिए। प्रतिव्यक्ति ८ लाख रुपैयाँ बुझाएर गएका उनीहरुले अलपत्र परेपछि नेपाल फर्किएर एसआरएसविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा विभागले एसआरएसको कारोबार रोक्का गरेको थियो। ५२ जना पीडितको दवाब थेग्न नसकेपछि विभागले मेनपावरको कारोबार रोकेको थियो।
 
कारोबार रोक्का भएपछि मेनपावर सञ्चालक सुभद्रा बराल भागेर आबुधावी पुगेकी थिइन्। लामो समयसम्म त्यहाँ बसेकी उनले उतैबाट रोक्का फुकुवाका लागि कानुनी प्रक्रिया सुरु गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाउँदै एसआरएस ओभरसिजलाई सफाइको आदेश दिएको थियो।
 
सर्वोच्चको आदेशपछि राहत अनुभव गरेकी उनले रोक्का फुकुवाका लागि वैदेशिक रोजगार विभागमा प्रक्रिया सुरु गरेकी थिइन्। वैदेशिक रोजगार विभागका कर्मचारीले त्यसमा आनाकानी गर्दै घुस मागेका थिए। त्यतिबेला पैसा माग्ने विभागका कर्मचारीसँगको फोनटेप गरी सुभद्राले अख्तियारलाई बुझाएकी छिन्।
 
उनकै योजनाअनुसार मंगलबार साँझ ६ बजे १० लाख रुपैयाँ लिन विभागका दुई कर्मचारीलाई नयाँ वानेश्वरको इन्द्रेणी फुडल्यान्ड पुगे। त्यहाँ उनले पूर्व कुराकानीअनुसार वैदेशिक रोजगार विभागका अधिकृत पाैडेल र नासु केसीलाई १० लाख रुपैयाँ थमाइन्। तर उनले यो जानकारी पहिलै अख्तियारलाई दिइसकेकी थिइन्। अख्तियारको टोलीले घुस लिँदालिँदै पाैडेल र केसीलाई रंगेहात पक्राउ गर्‍यो।
 
'मेनपावर सञ्चालकसँग विभागका कर्मचारीले पैसा बार्गेनिङ गरेको टेप हामीले पाएका छौं', अख्तियार स्रोतले नागरिकन्युजसँग भन्यो, 'महानिर्देशक पाण्डेले मेनपावर सञ्चालकसँगको बार्गेनिङ गरेको त्यो टेपसिहतका प्रमाणमा अनुसन्धान भइरहेको छ।'
 
वैदेशिक रोजगार विभागमा भ्रष्टाचार खुलेआम हुने गरे पनि सो कार्यलयबाट सहसचिव तहको कर्मचारी घुस प्रकरणमा पक्रउ परेको यो पहिलो घटना हो।
 
Published on: 15 November 2017 | Nagarik

Back to list

;