s

महानगरले एक वर्षमा पाँच हजार रोजगारी सिर्जना गर्ने

काठमाडौं महानगरपालिकाले हरेक वर्ष पाँच हजार जनालाई रोजगारी सिर्जना गर्ने भएको छ। महानगरका प्रमुख बालेन्द्र साहले आइतबार फेसबुकमा भिडियो सन्देश सार्वजनिक गर्दै एक वर्षमा कम्तिमा पाँच हजार जनालाई रोजगारी सिर्जना गर्ने बताएका छन्।

‘महानगरको बेरोजगारीसम्बन्धी समस्या तीन वर्षभित्र समाधान गर्न रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि, गौरब योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएका छौं,’ नगरप्रमुख साहले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो सन्देशमा भनेका छन्, ‘हरेक वर्ष कम्तिमा एक हजार पाँच सय जनालाई सिपमूलक तालिम दिने र कम्तिमा हजार जनालाई नयाँ नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ रोजगारी र आयवृद्धि काठमाडौंको समृृद्धि, गौरब योजना ल्याइएको हो।’

नगरप्रमुख साहले महानगरमा रहेका दक्ष, अर्धदक्ष र अदक्ष कामदार र रोजगार दाताहरूलाई एउटै प्लेटफर्ममा ल्याई श्रम बैंकको स्थापना गरी रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सिपयुक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्यसहित श्रम बैंक स्वर्णिम योजना सञ्चालन ल्याएको बताए।

‘महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरू तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरू श्रम बैंकमा आबद्ध हुन सक्नेछन्,’ उनले भने ‘श्रम बैंकमा आबद्ध भएका दक्ष कामदारहरूलाई अन्तर्वार्ता तयारीका साथ सोझै काममा लगाउनेछ।’

महानगरका अनुसार अर्धदक्ष जनशक्तिलाई स्किल अपग्रेडका लागि तालिम दिएर काममा लगाइने बताइएको छ। त्यसैगरी अदक्ष कामदारहरूलाई रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि गौरव योजनामार्फत तालिम दिई सिपयुक्त जनशक्ति निर्माण गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने महागरको उद्देश्य रहेको बताइएको छ। महानगरका अनुसार श्रम बैंकमा आबद्ध जनशक्तिलाई तीन क्षेत्रहरूमा व्यवस्थापन गरिने जनाइएको छ।

महानगरभित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाइ, सामाजिक विकास लगायतका क्षेत्रहरूमा आन्तरिक व्यवस्थापन गरिनेछ। त्यसैगरी महानगर जब पोर्टलमार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरूमार्फत गरिनेछ। महानगरको श्रम बैंक एपमार्फत ‘पार्ट टाइम जब’ को रूपमा सबै सेवाहरू घन्टाका आधारमा तथा पटकेका रूपमा जुन सुकै काम गर्न मिल्ने व्यवस्था मिलाइने बताइएको छ।

महानगरका अनुसार सबै किसिमका कामदारलाई काम गर्दा अनिवार्य बिमाको व्यवस्था गरिने बताइएको छ। गौरवका योजनामार्फत विभिन्न १५ स्थानहरूमा महानगरको आफ्नै ट्रेनिङ सेन्टरको स्थापना गरी बाह्रै महिना बिहानदेखि साँझसम्म रेगुलर तालिम सञ्चालन गरिने बताइएको छ। त्यसका लागि महानगरले बजारमुखी पाठयक्रम पनि तयारी गरिरहेको छ।

Published on: 9 October 2023 | Nagarik

Link

Back to list

;