s

महामारीले पिरोलेपछि खाडीको बाटो

मधु शाही

बाँके — साँझ–बिहानको छाक जुटाउन समस्या भएपछि लालाबाला चटक्क छाडेर धन कमाउन घर छाड्ने धेरै छन् । तिनैमध्येकी एक हुन्, कमला तामाङ (नाम परिवर्तन) । ‘कमाइ गर्ने श्रीमान् गाउँ डुलेर समय कटाउँछन्,’ उनले भनिन्, ‘उल्टै रक्सी खाएर कुटपिट गर्छन् ।’

सिन्धुपाल्चोक घर भएकी यिनले लकडाउन अवधिभर शारीरिक हिंसा खप्नुपरेको दुखेसो पोखिन् । ‘आर्थिक संकट भोग्नुपर्‍यो,’ उनले भनिन्, ‘अन्तिममा हरेस खाएर कमाउन खाडी जाने निधो गरें ।’

अभाव बढेपछि चिनजानका मान्छेसँग विदेश जाने निर्णय गरी उनी नेपालगन्ज आइपुगेकी हुन् । तर, उनीसित आवश्यक कागजपत्र थिएन । त्यसैले नेपालगन्ज हुँदै गैरकानुनी ढंगले विदेश जान लागेको उनले सुनाइन् । यहाँबाट भारत प्रवेशका लागि जमुनाह नाका पुगिन् । त्यहाँ रहेको माइती नेपालको युनिटले उनलाई मानव बेचबिखनको जोखिमपूर्ण यात्रा गर्न लागेको दाबीसहित नियन्त्रणमा लियो ।

महामारीका बेला आर्थिक भार थेग्न नसकेर मकवानपुरकी अर्की एक महिला पनि गैरकानुनी बाटो अपनाउँदै भारत जाँदै थिइन् । श्रीमान्सँग सम्बन्धविच्छेद नभए पनि पारिवारिक कलह र मनमुटावले उनलाई वैदेशिक रोजगारीमा जान प्रेरित गरेको थियो । वरपर छिमेकका दिदीबहिनीले विदेश गएर कमाएको देखेपछि आफूलाई पनि उतै जान मन लागेको उनले बताइन् । कोरोना महामारीका कारण रोजगारी गुमाएकी उनले यहाँ बसेर आर्थिक आर्जन गर्ने अरू कुनै विकल्प नदेखेपछि भारत हुँदै विदेश जाने योजनामा घर छोडेर हिँडेको सुनाइन् । नेपालगन्ज जमुनाह नाकामा माइती नेपालले उनलाई पनि नियन्त्रणमा लिएको थियो ।

यसरी माइती नेपाल नेपालगन्ज शाखाले पछिल्ला दुई सातामा गैरकानुनी बाटो अपनाएर भारत हुँदै खाडी मुलुकमा रोजगारीका लागि हिँडेका १४ महिलालाई नियन्त्रणमा लिएको छ । गत डिसेम्बरमा ६ जना र जनवरीमा ८ जना महिलालाई नियन्त्रणमा लिएको हो । एक त भारतको बाटो हुँदै खाडी मुलुक जानु गैरकानुनी आधार हो । अर्को, कुनै कागजातबिना मान्छेले बोलाएको भरमा सीमा पार गर्नु आफैंमा मानव बेचबिखनको उच्च जोखिमपूर्ण यात्रा भएको माइती नेपाल नेपालगन्जका संयोक केशव कोइरालाले बताए । 

काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, भोजपुर, कपिलवस्तु, तनहुँ, लमजुङ र चितवनलगायत ठाउँबाट नेपालगन्ज नाका प्रयोग गरी सीमापार गर्न लागेका थिए । कोइरालाका अनुसार सीमामा समातिएका महिलासँग सोधपुछ गर्दा कुनै पनि वैदेशिक कागजात नरहेको सुनाए । उनीहरू २२ देखि ४५ वर्ष उमेर समूहका छन् । कुन देश जाने, कसले लैजाँदै छ ? कुनै पनि जानकारी नखुलाउँदा बेचबिखनको जोखिम प्रबल हुन सक्ने कोइरालाले सुनाए । खासगरी प्रकोप, महामारीजस्ता संकटका बेला मानव बेचबिखनका घटना झनै सलबलाउने उनले बताए । ‘आर्थिक समस्या उत्पन्न भएसँगै महिला तथा बालबालिका उच्च जोखिममा देखा पर्छन्,’ उनले भने, ‘महामारीले आर्थिक संकट बढ्दा धेरै महिला पारिवारिक विचलनका कारण जोखिम मोलेर सीमा पार जान थालेका छन् ।’

उद्धार गरिएकालाई माइती नेपालले मानव बेचबिखनदेखि सुरक्षित हुने खालका परामर्श दिने गर्छ । ‘अनि, आफन्तको जिम्मा लगाउँछौं,’ कोइरालाले भने । उनका अनुसार सन् २०२० मा वैदेशिक रोजगार र भारत जाने भन्दै जोखिमपूर्ण यात्रामा रही सिमानाबाट २ सय ६७ जनालाई उद्धार गरिएको छ । त्यस्तै, भारतका विभिन्न स्थानबाट १२ जना महिलालाई उद्धार गरिएको छ । राज्यको मानव बेचबिखनसम्बन्धी उच्च संयन्त्र नहुँदा सीमापार महिलाको पूर्ण रूपमा उद्धार गर्न नसकिएको उनले सुनाए ।

Published on: 8 January 2021 | Kantipur

 

Link

Back to list

;