s

मागपत्र ल्याउँदा म्यानपार व्यवसायी नै ठगिए

तुलसी सुवेदी

म्यानपावर व्यवसायी तथा एजेन्टले कामदार नठगेको दिनै हुँदैन। विभिन्न बहानामा एजेन्ट तथा व्यवसायीले कामदारको शोषण गर्दै आइरहेका छन्। तर पछिल्लो समयमा म्यानपावर व्यवसायी पनि ठगिएका छन्। 

वैदेशिक रोजगार विभागका अनुसार पहिलोपटक म्यानपावर कम्पनी ठगीमा परेको उजुरी परेको छ। विभागका अनुसार ललितपुरको सानेपास्थित खोजी रिक्र्युटमेन्ट सर्भिस प्रालि ठगीमा परेको उजुरी विभागमा परेको छ। कम्पनीका सञ्चालकले आफू ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।
 
खोजी म्यानपावरले विभागमा दिएको उजुरीमा 'कतारको अल रसिद ट्रेडिङ एन्ड कन्ट्रास्टिङ कम्पनी (आरटीसीसी) कम्पनीबाट ठगिएको' उल्लेख छ। मागपत्र पाउने आशमा म्यानपावरले २५ हजार रियाल उक्त कम्पनीलाई बुझाएको उजुरीमा उल्लेख छ। उक्त रकम कम्पनीलाई बुझाए पनि कम्पनीले नक्कली डिमान्ड पठाएर ठगी गरेको उजुरीमा जनाइएको छ।
 
म्यानपावरका सञ्चालक मोहम्बद जुनैदले एजेन्ट र कतारको कम्पनीले दुःख दिएको बताए। दुई सय कामदारको मागपत्रका लागि जुनैदले २५ हजार रियाल बुझाएको दावी गरे। रकम बुझाए पनि मागपत्र नै गलत भएको प्रमाणित भएपछि उनले उजुरी दिएका हुन्।
 
कतारको आरटीसीसी कम्पनीका तर्फबाट रौटतहका अब्दुल सलायर र सेख अमान्डुला कामदारको छनोट गर्न अन्तर्वार्ता लिन काठमाडौं आएका थिए। पहिलो चरणमा ८० जना कामदार पठाउने भन्दै दुई सय कामदारको अन्तर्तवार्ता लिइएको थियो। तर कसैको पनि भिसा नआएपछि म्यानपावर नै ठगिएको सञ्चालक जुनैदले चाल पाएको बताए।
 
म्यानपावरका सञ्चालक जुनैदले नक्कली मागपत्र बनाएर ठगी गरेको भन्दै कतारको कम्पनीविरुद्ध कतारस्थित नेपाली राजदूतावासमा उजुरी दिए।
 
कतारको कम्पनीले आफूले नभई नेपालकै दुई एजेन्टले ठगी गरेको भन्दै राजदूतावासमा ती व्यक्तिलाई बुझायो। ठगीमा संलग्न हुने व्यक्ति प्रक्राउ पर्न थालेका छन्।
 
वैदेशिक रोजगार विभागका निर्देशक राजेश्वर अर्यालले नयाँ प्रकृतिको ठगीको उजुरी परेको बताए। ‘अनुसन्धान गरेर कारबाही हुन्छ’, उनले भने, ‘म्यानपावर ठग्ने व्यक्ति कारवाहीको दायरामा आउँछन्।’
 
Published on: 23 May 2019 | Annapurna Post

Back to list

;