s

माघमा ५२ हजार वैदेशिक रोजगारीमा गए, पोल्याण्ड जाने २ सय १ जना

कतार पुनः नेपाली कामदारको पहिलो रुचीको मुलुक बनेको छ । वैदेशिक रोजगार विभागले तयार पारेको तथ्यांकका आधारमा पुस महिनामा मलेशिया नेपाली कामदारको पहिलो रुचीको देश बनेको थियो तर माघ महिनामा संस्थागत रुपमा मलेशिया भन्दा कतार जाने कामदारको संख्या बढेको छ ।
 
गत माघ महिनामा संस्थागत २८ हजार ४ सय १५ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा कतार जानेको संख्या ९ हजार ६ सय ७७ जना रहेको छ । अघिल्लो पुस महिनामा ८ हजार ६ सय ४० जना कतार गएका थिए । पुस महिनामा पहिलो स्थानमा रहेको मलेशिया जाने कामदारको संख्या माघ महिनामा भने केही घटेको छ । पुसमा १० हजार १ सय ४४ जना गएको मलेशियामा माघ महिनामा  ८ हजार ६ सय ९८ जना गएका छन् ।
 
यस आर्थिक वर्षका अघिल्ला ४ महिनामा सबैभन्दा बढी नेपाली मलेशिया जाने गरेकोमा मंसिर महिनामा पनि मलेशिया दोस्रो बनेको थियो । गत मंसिरमा ८ हजार ३ सय ६५ जना मलेशिया गएका थिए । मंसिरको तुलनामा पुसमा मलेशिया जानेको संख्या करीब १ हजार ८ सय बढी थियो ।
 
खाडीमा मुलुकमा देखिएको अनिश्चितता र मलेसियन मुद्रा रिंगिटमा आएको क्रमिक सुधारले नेपाली कामदार मलेशिया जाने कार्यमा सुधार आएको देखिएको थियो ।
 
विभागको तथ्यांक अनुसार तेस्रो स्थानमा रहेको यूएईमा माघ महिनामा ४ हजार ४ सय १८ जना गएका छन् । साउदी अरब चौथो स्थानमा रहेको छ । माघमा साउदी अरबमा ३ हजार १ सय ६० जना गएका छन् । पुसमा पनि लगभग यति नै कामदार साउदी गएका थिए । कुवेतमा माघ महिनामा ९ सय ९३ जना गएका छन् ।
 
गत माघ महिनामा बहराईनमा ३ सय ९८ जना, टर्कीमा १ सय ९१ जना गएका छन् भने म्यानपावर व्यवसायीबीच चर्चाको विषय रहेको पोल्याण्डमा २ सय १ जना गएका छन् । त्यस्तै ओमानमा २ सय ५ जना, जोर्डनमा १ सय १३ जना, मकाउमा २७ जना र हङकंङमा ३ जना वैदेशिक रोजगारीका लागि गएका छन् ।
 
त्यस्तै माघमा अफगानिस्तानमा एक जना गएका छन् भने जापानमा एक जना पनि गएनन् ।माघमा वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्या १ हजार ६ सय १२ रहेको छ  । त्यसमध्ये सबै भन्दा बढी यूएईमा ४ सय ११ जना, कतारमा ३ सय ६० जना, त्यसपछि मलेशियामा २ सय ६८ जना कुवेतमा १ सय ६२ गएका छन् । जोर्डन जाने महिलाको संख्या ६६ रहेको छ ।
 
समग्रमा गत माघ महिनामा ५२ हजार भन्दाबढी नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा संस्थागत अर्थात् म्यानपावर कम्पनीबाट जानेको संख्या २८ हजार ४ सय १५ रहेको छ
 
व्यक्तिगत रुपमा रिइन्ट्रीका माध्यमबाट २१ हजार ४ सय ८० जना, बैधानिकीकरणका माध्यमबाट १ हजार ७ सय ५२ जना र व्यक्तिगत नयाँ ७ सय १० जना गएका छन् ।
 
विभागको तथ्यांक अनुसार संस्थागत अर्थात् म्यानपावर कम्पनी भन्दा अन्य प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या क्रमशः बढेको देखिएको छ ।
 
Published on: 20 February 2018 | Madhyanha

Back to list

;