s

मध्यपूर्वमा एक लाख नेपाली उद्धारको पर्खाइमा, कोरोनाबाट विदेशमा एक सय ९२ नेपालीको ज्यान गयो

गैरआवासीय नेपाली संघले मध्यपूर्वका देशमा अझै एक लाखभन्दा बढी नेपाली उद्धारको पर्खाइमा रहेको जनाएको छ । 

एनआरएनएको कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले मध्यपूर्वमा धेरै नेपाली समस्यामा रहेको जनाउँदै छिटाे उद्धारको आवश्यकता रहेको जनाएका छन् । उनले विदेशमा रहेका गैरआवासीय नेपालीलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल सरकारलाई समेत आग्रह गरेका छन् । 

पछिल्लोपटक सरकारले सर्तसहित विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर्ड उडान गर्ने निर्णय गर्नु सकारात्मक भए पनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको अध्यक्ष पन्तले बताए ।  

सरकारले स्वदेश फिर्तीमा उचित सम्बोधन नगरिदिँदा नेपालमा आफन्तको काजकिरिया गर्न जानेदेखि व्यावहारिक काम नेपाल नगई नहुने गैरआवासीय नेपालीलाई समस्या भएको उनको भनाइ छ । उनले भने, ‘आवश्यक भिसा, सुविधा उपलब्ध गराई नियमित उडानमार्फत नेपाल फर्कने वातावरण मिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो ।’  संघले अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यावहारिक र व्यवस्थित गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको हो । 

गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार चार सय ४१ जनाको उद्धार गरिएको छ । विभिन्न ३० मुलुकमा भएका तीन सय २७ उडानमार्फत उनीहरूलाई उद्धार गरिएको हो ।   

कोरोनाका कारण विदेशमा मात्रै एक सय ९२ नेपालीको मृत्यु 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट शनिबार साँझसम्म १६ देशमा एक सय ९२ नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लगजम्बर्गमा थप एकजनाको निधन भएको जनाएको छ । 

स्वास्थ्य समितिका अनुसार यो साता पनि अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको हो । विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अस्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजग रहन आग्रहसमेत गरेका छन् ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्विडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका नेपालीको ज्यान गएको हो ।

हालसम्म विदेशमा मात्र ३४ हजार तीन सय एकजनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात् ३२ हजार दुई सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।

Published on: 24 August 2020 | Nayapatrika

Link

Back to list

;