s

मध्यपूर्वका राष्ट्र मल्टिपल भिसा जारी गर्दै

मुना कुँवर

मध्यपूर्वका राष्ट्रहरूले विश्वकपलाई लक्षित गरी मल्टिपल भिसा दिन सुरु गरेका छन् । २० नोभेम्बरदेखि कतारमा हुन लागेको वल्र्डकपलाई लक्षित गर्दै साउदी अरब, युनाइटेड अरब इमिरेट्स, ओमान, बहराइन, कुवेत र यमनले मल्टिपल भिसाको व्यवस्था गरेका हुन् ।

विश्वकप हेर्न अनलाइनबाट नै टिकट पाएका दर्शकले कतार र रंगशाला प्रवेशका लागि हाया कार्ड बनाउनुपर्छ । सोही हाया कार्डका आधारमा मध्यपूर्वका राष्ट्रहरूमा मल्टिपल भिसा पाउन सकिन्छ । मल्टिपल भिसा पाएका दर्शकले भिसा अवधिभर मध्यपूर्वका कुनै पनि मुलुकमा जान–आउन सक्नेछन् । जस्तै, हाया कार्ड भएका दर्शकले दुबईबाट पनि मल्टिपल भिसा लिन सक्नेछन् । भिसा पाइसकेपछि दुबईबाट नै कतार आउ–जाउ गर्न सक्नेछन् । त्यसैगरी, कतार दूतावासबाट पनि मल्टिपल भिसा लिन सकिनेछ । कतार पुगेपछि भिसा अवधिमाभर मध्यपूर्वका अन्य देशमा पनि सहजै आउ–जाउ गर्न सकिनेछ ।

मध्यपूर्वका देशहरूले न्यून शुल्कमा भिसा जारी गरेका छन् । साउदी अरबले भिसा निःशुल्क गरेको छ । तर, २४ डलरबराबरकोे बिमा पोलिसी भने अनिवार्य गर्नुपर्छ । त्यस्तै, युएई सरकारले भिसाका लागि सय दिराम र बिमा अनिवार्य गरेको छ । यी देशहरूले ९० दिनको मल्टिपल भिसा दिँदै छन् । युएई र कतारले नोभेम्बर १ देखि मल्टिपल भिसा सुरु गरेका छन् । साउदीले भने विश्वकप सुरु हुनुभन्दा १० दिनअघिदेखि यस्तो भिसा जारी गर्नेछ । कतारका पाँच सहर लुसेल, अलखोर, अल रेयान, अलवक्राह र दोहामा गरी आठ स्टेडियममा प्रतियोगिता चल्नेछ । यसपटकको विश्वकपमा ३२ देशका टोलीहरू सहभागी हुँदै छन् । विश्वकपका लागि कतारले अत्यन्त कडा सुरक्षा व्यवस्था मिलाएको छ ।

सुरक्षाका लागि विभिन्न देशसँग सहकार्य गर्दै

विश्वकप प्रतियोगितामा करिब १२ लाखभन्दा बढी दर्शकले कतार भ्रमण गर्ने अपेक्षा गरेको स्थानीय विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । कतार सरकारको सुरक्षाबलले १३ देशका साझेदारहरूसँग मिलेर देशभर पाँचदिने सुरक्षा अभ्यास गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अभ्यास आपत्कालीन सेवाहरूको तत्परता र प्रतिक्रियाशीलता परीक्षण गर्ने उद्देश्यले गरिएको हो । प्रतियोगिताको सुरक्षा समितिका अनुसार अभ्यासमा ३२ हजार सरकारी सुरक्षाकर्मी र १७ हजार निजी सुरक्षाकर्मीको सहभागिता रहेको छ ।

टर्कीले स्टेडियम र होटेलको सुरक्षाका लागि तीन हजारभन्दा बढी सुरक्षाकर्मी पठाउने घोषणा गरेको छ । त्योसँगै टर्कीले सय विशेष अपरेसन प्रहरी अधिकारी, ५० बम विशेषज्ञ र ८० वटा स्निफर कुकुरहरू पनि पठाउने जनाएको छ । टर्कीका आन्तरिक मन्त्री सुलेमान सोयलुले टर्कीले ६ सय ७७ कतारी सुरक्षाकर्मीलाई ३८ विभिन्न व्यावसायिक क्षेत्रमा तालिम दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी, कतार सरकारले मोरक्कोसँग सुरक्षा सहयोग सम्झौता गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कतारले प्रतियोगिता अवधिभर प्राविधिक व्यवस्थामा सहयोग गर्न संयुक्त राज्य अमेरिकाको रक्षा विभागसँग सम्झौता गरेको छ ।

पीडित आप्रवासी कामदारलाई क्षतिपूर्ति नदिने कतारको निर्णय

विश्वकप प्रतियोगिताको दिन नजिकिँदै गर्दा कतारका श्रममन्त्री अलि बिन सामिख अलमारीले आप्रवासी कामदारका लागि खडा गर्ने भनिएको क्षतिपूर्ति कोषलाई अस्वीकार गरेका छन् । कतारमा हुने वल्र्डकपलाई लक्षित गरी निर्माण गरिएका पूर्वाधार निर्माणका क्रममा गम्भीर घाइते, मृत्यु भएका र ज्यालामा ठगिएका आप्रवासी कामदारका लागि यस्तो कोष खडा गरिने कतारले प्रतिबद्धता गरेको थियो ।

ग्लोबल इनिसिएटिभ एट ह्युमन राइट वाचका निर्देशक मिक्की वर्डनले कतारले विश्वकपको पूर्वाधार निर्माणका क्रममा शोषित आप्रवासी कामदारको विषयमा गरेको निर्णय अस्वीकार गर्नु लज्जास्पद भएको बताएका छन् । कतार सरकारले आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन धेरै ढिलो भइसकेको उनको भनाइ छ । वाचले मृतक कामदारको शव स्वदेश फिर्ता गर्न, कागजपत्र बनाउन, सम्बन्धित मृतकको परिवारको सहमति लिन, मृत्यु प्रमाणपत्र, प्रहरी रिपोर्ट, मेडिकल रिपोर्ट, हवाई टिकटलगायतका प्रक्रियाका लागि कोषको आवश्यकता पर्ने बताएको थियो । विश्वकपको गरिमालाई बचाउन फिफाले क्षतिपूर्ति कोष स्थापना गर्न आवश्यक रहेको वाचका निर्देशक वर्डनले बताए । यसमा कतार सरकारले पनि सहयोग गर्नुपर्ने उनको धारणा छ ।

गत १३ अक्टोबरमा काउन्सिल अफ युरोपको सुनुवाइमा फिफाका महासचिव अलास्डेयर बेलले क्षतिपूर्तिको विषयमा चासो देखाएका थिए । त्यस्तै, युनियन अफ युरोपेली फुटबल एसोसिएसनले कतारका आप्रवासी कामदारको अधिकारसम्बधी काम गर्ने कार्यसमितिले फिफालाई भेटेर अक्टोबरको अन्त्यसम्ममा कामदारको उपचारका लागि आग्रह गरेको थियो । सो समयमा फिफाले एक हप्ताभित्रमा नै यसको जवाफ दिने बताएको थियो । फिफाले लामो समयदेखि विश्वकप विरासत कोषमा योगदान दिँदै आएको वाचले जनाएको छ । यसअघि दक्षिण अफ्रिका र ब्राजिलले विश्वकप आयोजना गर्दा फिफाले १० करोड डलर सहयोग गरेको थियो ।

सन् २०१० मा फिफाको २२ सदस्यीय कार्यकारिणी सदस्यहरूबीच भएको मतदानमा कतारले विश्वकप आयोजना गर्ने अधिकार पाएको थियो । विश्वकपका लागि अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियाको प्रस्ताव गरेका थिए । २९ लाख जनसंख्या भएको कतार विश्वकै धनी देशहरूमध्ये एक हो । विश्वकपका लागि कतारले सातवटा नयाँ रंगशाला निर्माण गरेको छ भने सयवटा नयाँ होटेलहरू, मेट्रोरेल र नयाँ सडकहरू निर्माण गर्दै छ ।

हाया कार्ड भनेको के हो ?

कतारमा हुने विश्वकप प्रतियोगिता हेर्न दर्शकले अनिवार्य लिनुपर्ने प्रवेश कार्डलाई हाया कार्ड भनिन्छ । यसका लागि पनि अनलाइनबाट नै आवेदन दिन सकिन्छ । हाया कार्डकै आधारमा दर्शक कतार र रंगशाला प्रवेश गर्न पाउनेछन् भने खेल हुने दिनमा मेट्रो र बसमा पनि निःशुल्क यात्रा गर्न पाउँछन् । हाया कार्ड भएका विदेशी दर्शकलाई भिसाको आवश्यकता पर्दैन । हाया देखाएर नै कतार प्रवेश गर्न पाउनेछन् । उनीहरू २३ जनवरीसम्म कतारमा रहन पाउनेछन् । हाया कार्ड फिफा वल्र्डकप २०२२ को वेबसाइट वा हाया कतारको वेबसाइटमा गएर आवेदन दिन सकिनेछ । हाया कार्ड आवेदनका लागि टिकटको नम्बर, व्यक्तिगत विवरण, पासपोर्ट विवरण र घरको विवरण भर्नुपर्छ । विदेशी दर्शकले आफू बस्ने ठाउँको विवरण दिनुपर्नेछ । त्यस्तै, इमर्जेन्सी सम्पर्क नम्बर पनि भर्नुपर्छ ।

Published on: 7 November 2022 | Naya Patrika

Link

Back to list

;