s

मध्यपहाडी बन्यो रोजगारीको गन्तव्य

टीआर सेनेहाङ

राष्ट्रिय गौरवको योजना मध्यपहाडी लोकमार्गमा काम गर्ने मजदुरमध्ये अधिकांश जिल्ला बाहिरका छन्। पहाडै पहाड हुँदै पाँचथरको चियो भन्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जोडिने मध्यपहाडी लोकमार्गको तेह्रथुम जिल्लामा पर्ने विभिन्न सडकखण्डमा काम गर्ने मजदुर तराई र सुदूरपश्चिमका छन्।

गाउँघरमा काम पाए पनि ज्याला कम हुने र कामको निरन्तरता पनि नहुने भएकाले घरमा श्रीमतीलाई एक्लै छाडेर पनि यति टाढासम्म आएर काम गरिरहेको कञ्चनपुरको बेलौरी नगरपालिकाका ३६ वर्षीय प्रेमकुमार चौधरीले बताए। कामका लागि चौधरी मात्र होइन उनका दुई जना भान्जा पनि तेह्रथुममा छन्। डेढ महिनाअघि अलिअलि भएको बालीनाली थन्काएर चौधरी मजदुरीका लागि दोस्रो पटक यता आएका हुन्।
 
उनी गत असारमा ६ महिना यतै काम गरेर घर फर्किएका थिए। बेलौरी नगरपालिकाकै रामबहादुर चौधरीका दाजुभाइ पनि अहिले तेह्रथुममा मजदुरी गरिरहेका छन्। चौधरी जस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका मात्रै २० जना युवा अहिले मध्यपहाडी लोकमार्गको तेह्रथुम खण्ड अन्तर्गत ओयाक्जुङमा कार्यरत छन्। लोकमार्गमा काम गर्दा दैनिक पाँच सयदेखि १२ सयसम्म कमाइ हुने मजदुर टोलीका संयोजक प्रेमकुमार चौधरीले बताए। ‘मिस्त्रीको दैनिक १२ सयसम्म हुन्छ, अरु हेल्पर र ढुंगाको काम गर्नेको पाँच सयदेखि सात सय सय, बढीमा नौ सयसम्म कमाइ हुन्छ', उनले भने।
 
लोकमार्गमा काम गर्नेको प्रतिव्यक्ति दैनिक ज्यालाबाट मासिक २५ देखि ४० हजार रुपैयाँसम्म कमाइ हुने गरेको छ। उनीहरू सिकिस्त बिरामी पर्दा र चाडपर्व बाहेक अन्य समयमा घर पुग्दैनन्। ६ महिनामा एक पटकसम्म घरमा पुगेर घर व्यवहार मिलाउने र फेरि मजदुरिमै फर्किने चलन रहेको प्रेमकुमारले बताए। उनीहरूले ठेकेदार कम्पनीबाट काम लिएर मेसिनरी वाल, ग्याभिङ भर्ने, नाली निर्माणलगायत काम गरिरहेका छन्। ‘गाउँमा खेती गर्ने जमिन कम छ, मजदुरी गर्दा ज्याला पनि कममात्रै पाइन्छ', रामबहादुरले भने, ‘त्यसैले दुई चार पैसा जोहो गर्न यता आएका हौं।'
 
पढ्ने र भविष्य बनाउने उमेरका धेरै युवा पनि गरिबीका कारण मजदुरी गर्न आइपुगेका छन्। कक्षा-११ को पढाइ पूरा गर्ने खर्च नहुँदा मजदुरी गर्न आएका बेलौरी नगरपालिका-६ का अशोककुमार चौधरीले बताए। उनले पढ्न मन भएको तर कमजोर आर्थिक अवस्थाले मजदुरी गर्नुपर्ने बाध्यता भएको सुनाए।
 
मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथुममा तमोर नदीको माझीटार दोभानदेखि म्याङलुङ सडकखण्ड (८९ किमि) का विभिन्न क्षेत्रमा धमाधाम काम भइरहेको छ। माझीटार सक्रान्ति हुँदै म्याङलुङ जोडिने सडकखण्डमा अहिले ग्याभिङ, ब्याक कटिङ, ड्रेन निर्माण, सडक चौडा गर्नेलगायत काम भइरहेका छन्।
 
सडक निर्माणका क्रममा अहिले तेह्रथुममा एक हजारभन्दा धेरै मजुदर कार्यरत छन्। १७ वर्षे ठिटादेखि बुढापाका पनि लोकमार्गमा मजदुरी गरिरहेका भेटिन्छन्। कतिपय परिवारसहित साना नानीसमेत लिएर मजदुरी गरिरहेका भेटिन्छन्। तीमध्ये अधिकांश पश्चिम तथा तराईका मजदुर रहेको इन्जिनियर सुरेश तुम्बाहाम्फेले बताए।
 
उनका अनुसार पश्चिम नेपालका कञ्चनपुर, कैलाली, रुकुम, रोल्पा, सुर्खेत, सल्यान डोटी ,सप्तरी , सिरहा र सुनसरीका समेत गरी सात सय कामदार छन्। बाँकीमध्ये केही तेह्रथुमकै स्थानीय र संखुवासभा तथा भोजपुरका पनि केही कामदार रहेका उनले बताए। यहाँ मजदुरी गर्न आएका गत मंसिर २१ मा सम्पन्न भएको दोस्रो चरणको चुनावमा मतदान गर्न गाउँ फर्किएनन्।
 
यो खण्डमा कालोपत्रेसम्म गर्न कोसी न्यौपाने, सिंह एन्ड ब्रदर्स, रसुवा, हिलाई, सिद्धिसाई, कालिकालगायत निर्माण कम्पनीले कामको जिम्मा पाएका इन्जिनियर तुम्बाहाम्फेले बताए। ‘विभिन्न खण्डको काम विभिन्न चरणमा गरेर भइरहेको छ', उनले भने, ‘बीचबीचमा चुनाव र चाडपर्वले असर गरे पनि अहिले पुनः काम धमाधम सुरु हुँदैछ।'
 
Published on: 1 January 2018 | Annapurna Post

Back to list

;