s

मधेशमा श्रमाधान रोजगार मेला

श्रमिक र रोजगारदातलाई जोड्ने उद्देश्यले मधेश प्रदेशको जनकपुरमा शनिबारदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरेको मेला आइतबार समापन हुनेछ । मेला उद्घाटन गर्दै मन्त्री अर्यालले क्षमतायुक्त युवालाई आफ्ना उद्योगमा धेरैभन्दा धेरै रोजगारी दिन मधेशका उद्योगीलाई आग्रह गरेका छन् ।

मन्त्री अर्यालले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेशबाट ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि औँल्याए । ‘यो मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या तथा आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु,’ उनले भने ।

त्यस्तै, मन्त्री अर्यालले सरकारले रोजगार बैंकको अवधारणा अघि सारेको पनि बताए । नेपालबाट भारत जाने श्रमिकको तथ्यांक संकलनको काम पनि भइरहेको मन्त्री अर्यालले बताए । रोजगारीसम्बन्धी केही समस्या परे ११४१ मा पैसा नलाग्ने श्रमाधान कलसेन्टरमा गुनासो राख्न उनले आग्रह गरे ।

मधेश प्रदेशको श्रम तथा यातायातमन्त्री बेची लुंगेलीले श्रम क्षेत्रका समाधानका लागि मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । मेलाबाट बढीभन्दा बढी मधेश प्रदेशका युवाले लाभ लिने विश्वास पनि व्यक्त गरिन् । ‘मधेश प्रदेशमा बेरोजगारी समस्या व्यापक छ । यहाँबाट विदेश पलायन हुनेको संख्या धेरै छ । यो मेलाले ठूलो योगदान पु¥याउनेछ भन्ने अपेक्षा छ,’ उनले भनिन् ।

वैदेशिक रोजगारीमा जानेका लागि, देशमै केही गर्छु भन्नेका लागि र वैदेशिक रोजगारीबाट फर्किएकाका लागि मेलामा धेरै विषय सिक्ने अवसर भएको उनको भनाइ थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले श्रम बजारको मागअनुसार श्रम शक्ति उत्पादनमा सहयोग पुग्ने बताए । नेपाली रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र श्रमिक तथा उद्योगमैत्री बनाउँदै लगिने पनि उनले बताए ।

मेलाको उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य मनीष झाले मेलालाई अवसरका रूपमा लिनुपर्ने बताए । मेलामा मधेशका उद्योग–प्रतिष्ठानसहित विभिन्न परियोजना र सरकारी निकायका ३० भन्दा बढी स्टल राखिएका छन् ।

यसैबीच, गण्डकी प्रदेशमा २१ र २२ जेठमा श्रमाधान रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा हुन लागेको हो ।

Published on: 3 June 2024 | Naya Patrika

Link

Back to list

;