s

मधेस प्रदेश श्रमाधान रोजगार मेला, करिब ६ हजारले गरे मेलाको अवलोकन

संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा “मधेस प्रदेश श्रमाधान रोजगार मेला“ मधेस प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ।मधेस प्रदेशको जनकपुरको उद्योग वाणिज्य संघको सभा हलमा आयोजित मेलामा करिब ६ हजार व्यक्तिले अवलोकन गरेका छन्।

मेला शुरु भएको पहिलो दिन जेठ १९ गते शनिवार करिब तीन हजार पाँच सय र २० गते आइतबार करिब दुई हजार पाँच सयले मेलाको अवलोकन गरेका छन्।दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन्।

मेलामा रोजगारीको लागि होटेलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैङ्कमा २७ र सेक्युरिटी गार्ड तर्फ ८० जना गरि जम्मा २४७ जना आवेदकहरूलाई अन्तरवार्ताको लागि बोलाइएको छ।

मेलामा उद्योग प्रतिष्ठानका १४ होटल संस्थाहरू–४ रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाको २ तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रसमेत ६ गरी जम्मा ३७ वटा स्टल राखिएका थिए।

नेपाल उद्योग परिसंघ मधेस प्रदेशको संयोजनमा भएको मेलाको शनिवार माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरेका थिए।त्यस्तै मेलामा माननीय प्रदेश श्रम तथा यातायात मन्त्री बेची लुगेलीको उपस्थिति रहेको थियो।

मेलामा श्रमाधान संवाद अन्तर्गत ४ वटा प्यानलहरूमा श्रम आप्रवासन र कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सूचनाको असर, मधेशमा महिला उद्यमी सङ्घर्ष बिचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षाको प्यानल छलफल सम्पन्न भयो।उक्त प्यानल छलफलमा करिब २ हजार जनाको उपस्थिति रहेको थियो।

आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेलाको श्रम’ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालय र वीरगन्ज महानगरपालिका, जनकपुर, कलैया, जीतपुर सीमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजकका रुपमा रहेका थिए।

देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका छन।अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुन एकीकरण परियोजना (रेमी) ले पनि मेलामा विशेष सहयोग गरेका छन।मेलामा सहयोग पुर्‍याउने सबैलाई आयोजकका तर्फबाट प्रशंसा पत्र वितरण तथा धन्यवाद ज्ञापन गरिएको छ ।

Published on: 3 June 2024 | Nagarik

Link

Back to list

;