s

मायाकुमारीलाई फिर्ता बोलाउन कतारको दबाब

कतार सरकारले नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउन नेपाल सरकारमाथि दबाब बढाएको छ । नेपालका लागि कतारी राजदूत अहमद जासेम अल हमरले मंगलबार गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेलाई भेटी शर्मालाई फिर्ता बोलाएर दुई देशबीचको सम्बन्धमा 'असर पर्न नदिन' लिखित आग्रह गरेको जानकार विशिष्ट अधिकृतहरूले बताए ।

एमाओवादीको सिफारिसमा कतारका लागि राजदूत नियुक्त भएर गएदेखि नै शर्मा विभिन्न विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्चामा छिन् । राजदूत हमरले यसअघि पनि मन्त्रालयमा पुगेर शर्माबारे गुनासो गरेका थिए ।

 बीबीसी नेपाली सेवाका साझा सवाल कार्यक्रममा शर्माले कतार नेपाली कामदारहरूका लागि खुला जेल हो भन्ने अभिव्यक्ति दिएपछि कतार सरकारले आपत्ति जनाएको थियो । त्यो अभिव्यक्ति र साझा सवाल कार्यक्रम निर्माण टोलीको कतार प्रवेशका विषयमा कतारी विदेश मन्त्रालयले शर्मासँग स्पष्टीकरण लिएको थियो ।

शर्माले उक्त घटनालगत्तै एक नेपाली स्तम्भकारलाई आफूविरुद्ध लेखेको भन्दै कतारबाट फिर्ता पठाउन र कान्तिपुर दैनिकमाथि कारबाही गर्नसमेत कतार सरकारलाई लेखेकी थिइन् । उनको विवादास्पद अभिव्यक्ति र कामका विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोधे पनि कारबाही भने गर्न सकेको छैन ।

कतारी राजदूतले शर्माकै विषयमा दोस्रो पटक गुनासो गरेपछि मन्त्रालय गम्भीर भएको अधिकारीहरू बताउँछन् । 'यो घटनाबाट द्विपक्षीय सम्बन्धमै असर नपरोस् भन्ने हाम्रो सरकारको धारणा हो,' हमरले कतार सरकारका तर्फबाट लेखेको पत्रको अंश सुनाउँदै ती अधिकारीले भने। 

Published on: 20 September 2013 | Kantipur

Back to list

;