s

मानव तस्करीमा निकट व्यक्ति

ठाकुरसिंह थारू

एक वर्षमा साढे सात सय महिला हराए  -सचेतनाका लागि मेची–महाकाली अभियान

वैदेशिक रोजगारीका नाममा मानव तस्करीमा निकट व्यक्तिको संलग्नता रहने गरेको पाइएको छ । चिनजानका आधारमा विश्वासमा पार्न सहज हुने भएकाले मानव तस्करले निकटका व्यक्ति प्रयोग गर्न थालेका हुन् । राम्रो कमाइ हुने भन्दै खाडी मुलुक पुर्‍याउने नाममा भारत लैजाने गरेका छन् 

वैदेशिक रोजागरीका लागि भारत लगिएका अधिकांश महिला सम्पर्कविहीन हुने गरेका छन् । ‘मानव तस्करीका घटनामा आफन्त र नजिकका व्यक्तिको प्रयोग हुने गरेको छ । अशिक्षा र गरिबीका कारण मानव तस्करले सहजै प्रलोभनमा पार्दै भारत लैजाने गरेका थुप्रै घटना छन्,’ प्रमुख जिल्ला अधिकारी रमेश केसीले भने, ‘निकटकै व्यक्ति मानव तस्करीमा लागेपछि चुनौती थपिएको हो । त्यसका लागि सचेतना आवश्यक छ ।’
 
मानव तस्करीको शृंखला बढ्दै गएपछि सरोकारवाला संस्थाले मेची–महाकाली जनचेतना अभियान सुरु गरेका छन् । टोली महोन्द्रनगरबाट आइतबार नेपालगन्ज आइपुगेको छ । उक्त टोलीले मानव तस्करीविरुद्ध सडक नाटकलगायत सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । अभियानको मूल सन्देश ‘हाम्रो आवाज मानव बेचबिखनबाट मुक्त समाज’ रहेको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले बेरोजगारीका कारण नेपाली चेली खाडी मुलुकमा बेचिनुपरेको बताए । ‘बेरोजगारी व्याप्त छ । मानव बेचबिखनको मुख्य कारण यही हो,’ उनले भने, ‘बेरोजगार महिला छिट्टै प्रलोभनमा पर्छन् । उनीहरूको कमजोरीको फाइदा उठाउँदै तस्करले बिक्री गर्छन् ।’
 
मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपाल नेपालगन्जका अनुसार एक वर्षमा यहाँबाट मध्यपश्चिम क्षेत्रका साढे सात सयभन्दा बढी नेपाली महिला भारत पुर्‍याइएका छन् । उनीहरू भारत र खाडी मुलुकमा बिक्री भएको शंका गरिएको छ । तीमध्ये ६७ जनाको उद्धार भएको छ । ७ सय ६७ अझै बेखबर रहेको माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले बताए । उनका अनुसार नेपालगन्ज नाका भएर भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी परेका छन् । हराउनेमा सबैभन्दा बढी बाँकेका छन् । यहाँका २ सय ८ महिला हराएको भन्दै उजुरी परेको छ । तीमध्ये ४ को भारतको रेडलाइट क्षेत्रबाट उद्धार गरिएको छ ।
 
त्यस्तै सुर्खेतबाट भारत छिरेका १ सय ७१ महिला हराएको भन्दै खोजीका लागि निवेदन परेकामा २ को उद्धार भएको छ । दाङका ९२ महिला हराएकोमा २ को भारतबाट उद्धार भएको माइती नेपालले जनाएको छ । आर्थिक प्रलोभनमा परी भारत जाने बर्दिया, सल्यान, रोल्पा, दैलेख, जाजरकोटलगायतका महिला छन् । ‘रोजगारीका लागि भारत गएर सम्पर्कविहीन महिला निकटकै व्यक्तिको सम्पर्कमा त्यहाँ पुगेका हुन् । उनीहरूको खोजी भइरहे पनि सम्पर्क गर्न सकेका छैनौं,’ कोइरालाले भने, ‘महिलाको उद्धारका लागि हामीसँग कानुनी संयन्त्र नभएका कारण समस्या भएको हो ।’
 
कतिपय फेसबुकको सम्पर्ककै प्रेममा परी भारत पुर्‍याइएका छन् । अपरिचित व्यक्तिसँग सामाजिक सञ्जालमा मायाप्रेमपछि बिहेबारी गर्ने भन्दै भारत जाने गरेका घटना पनि छन् । त्यस्तै खाडी मुलुकमा रोजगारीका लागि जाने भन्दै केही भारत पुग्नेगरेका छन् ।
 
तर उनीहरूलाई भारत लैजाने गिरोह भने पक्राउ पर्न सकेका छैनन् । २०१७ मा नेपालगन्ज नाकाबाट २ सय २३ महिलालाई घर फिर्ता गराइएको माइती नेपालले जनाएको छ । सन् २००२ यता मध्यपश्चिम क्षेत्रबाट ४ हजार ३ सय १८ महिला हराएको निवेदन परेको छ । तीमध्ये ६ सय १९ को उद्धार गरिएको छ । वैदेशिक रोजगारीका लागि भारत हुँदै विदेश जानेहरू हराउने क्रम जारी छ । त्यस्ता उजुरीमा फेला पर्ने संख्या निकै कम छ । पारिवारिक कलह, आर्थिक समस्या, लहैलहैका कारण महिला तथा बालबालिका हराउने गरेको प्रहरीले जनाएको छ । बालबालिका भने अभिभावकको संरक्षण अभावमा हराउने गर्छन् ।
 
मानव तस्करीलगायत अपराध नियन्त्रणका लागि सीमावर्ती नेपाल–भारत सुरक्षा अधिकारीको काउन्टर पार्ट बैठक हुँदै आएको छ । आलोपालो गरी नेपाल–भारतमा हुने सुरक्षा बैठकमा पनि उक्त मुद्दा प्राथमिकतासाथ उठ्ने गरेको छ । तर मानव तस्करीका घटना भने नियन्त्रणमा समस्या थपिँदै गएको छ ।
 
Published on: 26 February 2018 | Kantipur

Back to list

;