s

मानव बेचबिखन बढ्दो

‘यसमा संलग्न व्यक्तिहरू प्रहरीभन्दा दुई कदम अगाडि छन्, रुट फेरीफेरी यस्ता आपराधिक काम गरिरहेका छन्’

फातिमा बानु

कुनै बेला वेश्यावृत्तिका लागि महिला बेचिएको सुनिन्थ्यो, लेखिन्थ्यो । पछिल्लो समयमा अंग बेचबिखनलगायत अनेक प्रयोजनका लागि मानव बेचबिखन हुने गरेका घटनाहरू बाहिरिएका छन् । प्रहरीका अनुसार हतियार, लागूपदार्थपछि मानव बेचबिखन विश्वस्तरमै तेस्रो अपराध मानिएको छ । मानव शरीरभित्र हुने सुन्दरता निखार्ने तन्तुका लागि समेत मानव बेचिने गरेको पाइएको छ । मानव बेचबिखन र नियन्त्रण ऐन २००७ अनुसार कुनै पनि उद्देश्यका लागि मान्छे किनबेच गर्नु, कुनै फाइदा लिएर या नलिएर कसैलाई वेश्यावृत्तिमा प्रयोग गर्नु, कानुनले तोकेविपरीत कसैको शारीरिक अंग निकाल्नु, वेश्यावृत्तिमा लगाउनु आदि मानव बेचबिखनका रूप हुन् ।

 
कानुनले मानव बेचबिखन गर्नेलाई बीस वर्ष जेल र दुई लाख रुपैयाँ जरिवाना तोकेको छ । त्यस्तै, कसैलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउनेलाई १० वर्ष जेल र एक लाख जरिवाना तोकेको छ । यस्ता क्रियाकलापमा संलग्न मात्रै हुनेलाई तीन महिना जेल, पाँच हजार जरिवाना तोकेको छ । तर न्यून व्यक्तिहरू मात्रै कारबाहीको दायरामा आउने राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारी बताउँछिन् । ‘प्रहरीले सक्रिय रूपमा काम गर्दैन, मानव बेचबिखनविरुद्ध काम गर्नेहरू नै यसमा संलग्न भइदिँदा अपराधीलाई कानुनको दायरामा ल्याउन मुस्किल छ,’ उनले भनिन् । प्रहरीको प्रक्रिया झन्झटिलो हुँदा पनि पीडितहरू उद्धार गर्न अप्ठ्यारो भइरहेको उनी बताउँछिन् । ‘शंका लागेको व्यक्तिको दोहोर्‍याएर बयान लिइँदैन, उजुरीलिँदा संवेदनशीलता खासै अपनाइँदैन, गोपनीयतामा पीडित ढुक्क हुन सक्ने अवस्था छैन ।’उनले भनिन् ।
 
मानव बेचबिखनका ट्रेन्डहरू परिवर्तन भइरहने हुँदा यस्ता अपराध न्यूनीकरण हुन नसकेको आयोगका अध्यक्ष अनुपराज शर्मा बताउँछन् । ‘यसमा संलग्न व्यक्तिहरू प्रहरीभन्दा दुई कदम अगाडि छन्, रुट फेरीफेरी यस्ता आपराधिक काम गरिरहेका छन् ।’ उनले भने ।
 
नेपालमा विपद्, सहज वैदेशिक रोजगारी, घरेलु हिंसा, अशिक्षा, गरिबी र फितलो कानुन कार्यान्वनका कारण बेचबिखनका घटना बढेका छन् । प्रवक्ता अन्सारी भन्छिन्, ‘गरिबले व्यवसाय गर्न ऋण पाउँदैनन्, वैदेशिक रोजगारीमा जानका लागि सजिलै ऋण पाउँछन्, ऋण खोज्ने काममा मानव बेचबिखन गर्ने दलाल नै संलग्न छन् ।’
 
विशेषगरी महिला र बालबालिका बेचबिखनमा पर्ने गरेको तथ्यांकले देखाएको छ । पछिल्लो समयमा इन्टरनेटको बढ्दो प्रयोगले मानव बेचबिखनको जोखिम बढाइरहेको छ । अन्सारी भन्छिन्, ‘अनलाइनमार्फत अशिक्षितभन्दा शिक्षित बढी फसेका छन्, अनलाइनमा कुरा गरेको भरमा बिहे गर्न तयार हुने प्रवृत्तिले उनीहरू बेचबिखनको सिकार भइरहेका छन् ।’ आयोगमा आर्थिक वर्ष २०७३/०७४ मात्रै मानव बेचबिखनसम्बन्धी दुई सय १२ वटा उजुरी दर्ता भएका छन् । जसमा ९५ प्रतिशत महिला नै छन् । घटनामध्ये हरेक १० जनामा ४ जना बालबालिका हुने गरेको प्रहरीले जनाएको छ । हरेक चार जनामा ३ जना कुनै औपचारिक शिक्षा प्राप्त नगरेको देखिन्छ । बेचबिखनसम्बन्धी उजुरीको जातिगत स्थिति हेर्दा ४८ प्रतिशत जनजाति, २९ प्रतिशत ब्राह्मण/क्षत्री, १५ प्रतिशत दलित र ८ प्रतिशत मधेसी समुदायका व्यक्ति छन् ।
 
मानव बेचबिखनविरुद्धमा कार्यरत विभिन्न गैरसरकारी संस्था, नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा र विदेशस्थित नेपाली दूतावासबाट लिएको तथ्यांकअनुसार यस वर्ष १३ सय मानव बेचबिखनका उजुरी परेका छन् ।
 
Published on: 2 February 2018 | Kantipur

Back to list

;