s

‘मालिक धनिकके धनिके रहिगेल, हम गरिबके गरिबे’

अनिल यादव/मणिलाल विश्वकर्मा

गिरहत (मालिक)को गोठमा जोतिँदाजोतिँदै मैलो भइसकेको छ, आफूले लगाएको निलो टिसर्ट, कालो हाफ पाइन्ट र टाउकोमा बेरिएको गम्छा । फुसको छानो भएको एककोठे आफ्नै झुपडीको ढोकामा खाली खुट्टै झोक्राइरहेका छन्, गुलेती सदा । उमेरले ४५ पुगे, तर उनको पातलो ख्याउटे शरीर, सेतै फुलेको दाह्री देखेर ६० कम भन्दा कसैले पत्याउँदैन उनलाई ।

साँघुरो उनको कोठाभित्र छिर्दा बाँसको एउटा बिस्तरा भेटिन्छ । जहाँ ओढ्ने, ओछ्याउनेलगायत कपडा छरपस्ट छन् । त्यसैलाई देखाउँदै उनी भन्छन्, ‘यस्तै हो हजुर, हामी हरवाचरवा बस्ने ठाउँ । खानलाई त दुःख छ, अरू सुखको के कुरा !’
हरवाचरवा अर्थात् गिरहतको घरमा हलो जोत्ने, खेतीपाती गर्ने, गाईवस्तु चराउने उनको पुख्र्यौली काम ठानियो । बाबु सोतीलालदेखि दाजुहरू सिलट र बिलट सबै उनकै आँखाअघि हरवाको काम गर्दागर्दै अस्ताए ।

करिब २० वर्षअघि श्रीमती रामसतीदेवी सदा पनि स्थानीय धनिकलाल सनौगियाको घरमा हरवा बसिरहेकै वेला बिरामी परिन् । उपचारका लागि १० हजार आवश्यक पर्‍यो । गुलेती र उनकी श्रीमतीले उपचारमा सहयोग गर्न पटक–पटक बिन्ती गरे । तर, मालिकले पत्याएनन् । ‘हामी गरिब दलितलाई कसैले पत्याउँदैन । जति रोइकराइ गरे पनि तिर्न सक्दैन भनेर पत्याएन । त्यसपछि उपचार गर्न नपाएर श्रीमती बितिन् । त्यसपछि म त्यहाँको काम छाडेर अर्को गिरहत खोजँे,’ गुलेतीले मैथली भाषामा भने ।

दुई छोरी र एक छोराका बुबा गुलेतीले १० वर्षको उमेरदेखि गिरहतको काम गर्न थालेका हुन् । ३५ वर्षको अवधिमा अहिलेसम्म उनले १० जना गिरहत फेरिसके । तर, जति गिरहत फेरे पनि उनको दुःख र अभाव फेरिएन । काम गरेका गिरहतहरूको नाम पनि उनले भुलेका छैनन् । सोध्यो भने फटाफट भनिदिन्छन्, ‘जीवछ गोहिवार, जगदेव गोरहान, लालविहारी गोइत, रामप्रसाह रोहिता, हरि साह, देवानजी सनौगिया, छरिया लुदरवार र डोमी कलाल ।’

अप्ठेरो परेका वेला असहयोग र निरन्तर किचकिचका कारण गिरहत फेर्दे हिँड्नु उनको बाध्यता बन्यो । भन्छन्, ‘वर्षको ४० किलो धान दिनसमेत हिच्किचाउँथे, घर व्यवहार चलाउन लिएको थोरैतिनो ऋणबापत कम्तीमा दुईदेखि तीन वर्षसम्म काम गर्दा पनि अझै बाँकी छ भन्दै काम जोताउँथे । हाम्रा कारण उनीहरू धनी भइरहे । तैपनि दुःखमा नहेरेपछि गिरहत फेर्दै हिँड्नुपर्‍यो । तर, जति फेरे पनि दुःख उस्तै रह्यो ।’

दुई छोरीका बुबा गुलेतीको पछिल्लो गिरहतसँगको कथा पनि उस्तै पीडादायी छ । छोरीलाई बिहे गराउँदा लिएको ऋणबापत तीनवर्षयता उनी गाउँकै गिरहत विजयकुमार रजकको गोठमा काम गर्न गइरहेका छन् । गत वर्ष मात्रै जेठी छोरी ममताको विवाह गराउन रजकसँग उनले ६० हजार ऋण लिएका थिए । गिरहतकोमा काम गरेबापत एक वर्षमा आधा ऋण कटौती हुने सम्झौता छ । भन्छन्, ‘ऋण चुक्ता गर्न अब एक वर्ष काम गर्नुपर्नेछ ।’ उनले पाउने वार्षिक ज्यालाको हिसाब निकाल्दा दैनिक ८३ रुपैयाँ हुन्छ, जबकि सरकारको श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य विभागले १ साउन २०७८ देखि लागू गरेको न्यूनतम ज्यालाअनुसार दैनिक पाँच सय ७७ रुपैयाँ हुन आउँछ ।

गुलेतीलाई ऋण चुक्ता गर्न भनेजस्तो सहज भइरहेको छैन । हरेक दिन बिहान ७ बजेदेखि राति ९ बजेसम्म वस्तुभाउलाई घाँसपानी र गोबरकर्चीको काम गर्दा पनि उनलाई खानलाउन हम्मे छ । कारण, ऋण कटाउने कि छाक टार्ने ? ‘काम गरेपछि पाइने खानेकुरा ल्याएर बाबुछोरी बाँडेर खान्छौँ,’ उनी भन्छन्, ‘शरीरको अवस्थाका कारण गह्रौँ काम गर्न नसक्ने भएँ । त्यसैले घाँसपानी र गोबरकर्चीको काम गर्दै छु । दुई वर्षमा छोरीको बिहेको ऋण तिर्छु भनेर वेलावेला गिरहतलाई पैसा माग्नैपर्ने बाध्यता छ । त्यसैले ऋण कहिले चुक्ता हुन्छ थाहा छैन ।’

यो सिरहास्थित सखुवा गाउँको पुछारमा रहेको एउटा मुसहर बस्तीको कथा हो । बलान खोलाको किनारनजिकै रहेको यो बस्तीमा २५ झुपडी छन्, जो राज्य र समाजबाट किनारीकृत छन्, रोजीरोटीका लागि मालिकको घरमा बँधुवा श्रमिकका रूपमा काम गर्न बाँध्य छन् । जीवनयापन गर्न गिरहतको खेतमा हलो जोत्ने सर्तमा ऋण लिन मजबुर छन् । अनि त्यही ऋणको ब्याज र सावाँ तिर्न नसक्दा गिरहतको दुष्चक्रमा फसेर जीवनभर उनीहरूकै घरमा हरवाचरवा बस्न बाध्य छन् ।
सखुवानन्कारकट्टी गाउँपालिका–४ मा पर्ने खयरबोना चोकदेखि करिब तीन किलोमिटर पूर्वमा रहेको यो बस्ती अहिले आफू पुस्तौँदेखि बस्दै आएको जमिन खोसिने डरले चिन्तित छ । यहाँका हरेक झुपडीको कथा गुलेतीको जस्तै दर्दनाक छ ।

स्थानीय बुढापाकाका अनुसार तीन पुस्ताभन्दा बढी समयदेखि बस्दै आएको यो बस्ती गाउँब्लकमा पर्छ । करिब एक वर्षअघि गाउँका मिथिलेश यादवले बस्तीभित्रको डेढ कठ्ठा जग्गा आफ्नो रहेको दाबी गर्दै झमेला गरे । त्यसपछि बस्तीका हरेक घरले मजदुरी, ऋणकर्जा गरेर १५–१५ हजार रुपैयाँ बुझाएका छन्, तर जग्गाको स्वामित्व अझै यकिन भएको छैन । आइतबार नयाँ पत्रिकाकर्मी यो बस्तीमा पुग्दा अधिकांशले यादवसँग लड्न नसकेकाले १५ हजार बुझाउन बाध्य भएको बताए ।

गत वर्ष बर्खा सुरु हुनैलाग्दा अमृतादेवी सदाको घरको छानो भत्कियो । पानी चुहिन नदिन मर्मत गर्नुपर्ने भयो । तर, मालिक यादवले आफ्नो जग्गा दाबी गर्दै मर्मत गर्न दिएनन् । ‘बर्खामा चुहिएरै बस्नुपर्‍यो,’ अमृताले मैथली भाषामा भनिन्, ‘त्यसपछि कति लड्ने भनेर सबैले १५–१५ हजार उठाएर दिन तयार भयौँ । त्यसपछि पनि जग्गा हाम्रो नाममा हुन सकेको छैन । फेरि मिथिलेशले भित्रभित्रै षड्यन्त्र गरेर उजुरी हालेको छ रे ।’

यस गाउँको क्षेत्राधिकारभित्र पर्ने सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवसँग यसबारे जिज्ञासा राख्दा उनी यो बस्ती गाउँब्लकमा पर्ने भएकाले नापी कार्यालय लहानबाट हकभोगअनुसार नापी भएको र उक्त जग्गामा दाबीविरोध गरेकाले स्वामित्व यकिन गर्न ढिलो भइरहेको बताउँछन् । ‘गाउँपालिका कार्यालयले बस्तीका लागि गर्नुपर्ने काम गरिरहेको छ, नापीले किन ढिलाइ गरिरहेको छ, बुझ्दै छौँ,’ उनले भने ।

२ साउनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बँधुवा श्रम प्रथाका रूपमा अझै विद्यमान रहेको हरवाचरवा प्रथा उन्मूलनको घोषणा गरे । तर, नौ महिनासम्म पनि यो उन्मूलन घोषणा कागजमै सीमित छ, व्यवहारमा देखिएको छैन ।

मधेसमा करिब एक लाख संख्यामा रहेका हरवाचरवाहरू ‘कि न्याय कि पुनस्र्थापना !’ भन्दै संगठित रूपमै ‘अधिकार यात्रा’मा हिँडिरहेका छन्, तर राज्य यसबारे मौन छ । हरवाचरवालाई मुक्त घोषणा गर्नुअघि सरकारले मुक्त कमैया, कमलरी, हलिया र हरवाचरवासम्बन्धी वस्तुस्थिति अध्ययन गर्न राजनीतिक विश्लेषक श्याम श्रेष्ठको संयोजकत्वमा समिति नै बनाएको थियो । समितिले जिम्मेवारीअनुसार प्रतिवेदन पनि बुझायो । तर, त्यो प्रतिवेदन कार्यान्वयनमा आएन । सोमबार सिरहाको जिल्ला प्रशासन कार्यालयअघि हरवाचरवाका ‘अधिकार यात्रा’मा सहभागी हुन आएका श्रेष्ठ स्वयंले भने, ‘नेपालको इतिहासमा अध्ययन समितिको संयोजक स्वयं त्यो निवेदन कार्यान्वयन गर्नका लागि जुलुसमा हिँड्नुपर्ने विडम्बना आइलाग्यो ।’

श्रेष्ठका अनुसार जतिवेला तत्कालीन प्रधानमन्त्रीले हरवाचरवा मुक्त भएको घोषणा गरेका थिए, त्यतिवेला उनले सार्वजनिक रूपमै भनेका थिए– अब हरवाचरवाले ऋण तिर्नुपर्दैन, उनीहरूको पुनस्र्थापना हुन्छ । तर, त्यो भाषण अहिलेसम्म कार्यान्वयनमा आएको छैन ।

जसका कारण मधेसका हरवाचरवाहरू कष्टकर जीवन बाँच्न बाध्य छन् । सखुवाकै ५५ वर्षीया सरयुग सदाको परिवार अर्को एक उदाहरण हो । मुसहर बस्ती प्रवेश गर्ने सुरुमै छ, उनको घर । माटोको भित्ता र फुसको छानोले बनेको झुपडी गत वर्षको वर्षाका कारण उत्तर–पश्चिम कुनापट्टिबाट ढलेको छ । हामी बस्तीमा सरयुगसँग गफिँदै थियौँ, त्यही वेला उनकी ५१ वर्षीया श्रीमती विष्णुदेवी निन्याउरो अनुहार बोकेर कतै बाहिरबाट आइपुगेकी थिइन् । ‘घर मर्मतका लागि पैसा देलान् कि भनेर प्रहरी कार्यालय गएको थिएँ, उल्टै हप्काएर पो पठायो,’ आउनेबित्तिकै ढलेको घर देखाउँदै उनले भनिन्, ‘हामी मरे पनि, हाम्रो घर ढले पनि कसैलाई केही मतलब छैन । गिरहत धनिकके धनिके रहिगेल, हम गरिबके गरिबे ।’

विष्णुदेवीले यसबीचमा घर मर्मतका लागि गाउँपालिका, वडा कार्यालयलाई हारगुहार गरिन्, तर कसैले केही सहयोग गरेनन् । अहिले छोरीपट्टिकी पाँच वर्षीया नातिनीसहित बस्दै आएका उनीहरू घरभित्र–बाहिर गर्दा निहुरिएर हिँड्न बाध्य छन् । उनका तीन छोरीहरू विवाह भएर आ–आफ्नै घर बसिरहेका छन् । जेठा र कान्छा छोरो भने आफ्ना जहानसहित भत्किएको झुपडीसँगै जोडिएको आ–आफ्नो झुपडीमा बसिरहेका छन् ।

गाउँमा कृषि मजदुरीसँगै खेतीपातीको समय सकिएपछि उनीहरू अहिले दिल्ली–पनजाबमा मजदुरी गरेर आफ्नो परिवार चलाइरहेका छन् । उमेर ढल्किँदै गए पनि सरयुगलाई भने दालभात खानै धौधौ छ । करिब ४० वर्षको उमेरसम्म उनले टल्लामा माटो बोक्ने काम गरे । गाउँघरमा ट्याक्टर भित्रिएपछि माटो बोक्ने काम पनि खोसियो । त्यसपछि बस्तीकै जमिन आफ्नो दाबी गरिरहेका गिरहत मिथिलेश यादवकोमा १२ वर्षसम्म हरवा बसे ।

यादवले उनलाई वर्षभरि हलो जोत्ने र वस्तुभाउको काम गरेबापत १० कठ्ठा जग्गा कमाइ खान दिएका थिए । तर, गिरहतको खेती सिध्याएपछि मात्रै आफ्नो जग्गामा समय दिन पाउँदा खासै राम्रो उब्जनी गर्न सकेनन् । गिरहतले सधैँ ‘कमाएर खान जग्गा दिएकै त छु’ भन्दै अरू केही पारिश्रमिक नदिएपछि हातमुख जोर्न गाह्रो भयो । त्यसपछि उनले हरवाको काम नै छाडिदिए । तर, घरपरिवार चलाउनै गाह्रो भएपछि फेरि गिरहतकोमा जान बाध्य भए । वृद्ध शरीरले हलो जोत्न नसकेपछि पछिल्लो तीन वर्षयता उनी गाउँकै अर्का गिरहत कृष्ण सनौगियाको वस्तुभाउ हेर्न थालेका छन् । हरेक दिन बिहान ७ बजेदेखि राति १० बजेसम्म सनौगियाको घरमा वस्तुभाउलाई कुट्टी (परालको टुक्रा) काट्ने, घाँसपानी खुवाउने, गोठ सरसफाइको काम गर्नु उनको दैनिकी हो । त्यसरी काम गरेबापत गिरहतले उनलाई बिहान–बेलुकाको खाना र मासिक आठ सय रुपैयाँ ज्याला दिन्छन् । ‘हाम्रो कर्मै यस्तो रहेछ । गिरहतको काम नगरी रोजीरोटी चल्दैन,’ उनले भने ।

बाच्छासँगै सुत्छ सोम्नीदेवीको परिवार

यही बस्तीमा साँघुरो एककोठे झुपडीभित्र छिर्दा सोम्नीदेवी सदाको वासस्थानमा पुगिन्छ । भित्र एउटा सानो खाट छ, भुइँमा झुल लगाइएको अर्को ओछ्यान । भुइँको ओछ्यानमा बसिरहेकी थिइन्, सोम्नीदेवी । सँगसँगै कोठामा पशुलाई आहारा खुवाउने डोँढी र भुइँभरि गोबर छरिएका थिए । त्यहीँनेर खेलिरहेकी थिइन्, सोम्नीकी नातिनी । जसले जे भनोस् तर सोम्नीदेवी बस्ने घर पनि यही हो, उनले पालेको बाच्छा बस्ने गोठ पनि यही । आर्थिक संकटका कारण गाईचाहिँ भर्खरै बेचेकी रहेछिन् । भन्छिन्, ‘बर्खामा छानोबाट पानी चुहिएर सुत्नै गाह्रो हुन्छ । दुःखसुख बाँचिएको छ ।’

उनी र उनका श्रीमान् कपलेसर सदा दुवै फरक–फरक गिरहत (मालिक)को काम गर्छन् । सोम्नीदेवी स्थानीय इनरदेव यादवको घरमा खेत रोप्ने काम गर्छिन् । खेतमा काम गरेबापत १५ किलो धान पाउँछिन् । श्रीमान् अर्कै गिरहतकोमा कुट्टी काट्ने काम गर्छन् । सोम्नीदेवीका अनुसार त्यसबापत महिनाको एक हजार कमाउँछन् । छोराबुहारी पनि त्यही बस्तीमा गिरहतको काम गर्न बाध्य छन् । गिरहतको काम गरेबापत सोम्नीदेवीले पटक–पटक ऋण लिएकी छिन् । तर, काम गरेरै तिरिसकेको बताउँछिन् उनी । ‘अप्ठेरो पर्दा ऋण लिने अनि सोहीअनुसार काम गरेर तिर्ने, यहाँ हामी सबैको जिन्दगी चलेकै यसरी हो,’ उनले भनिन् ।

तीन सन्तानकी आमा ३५ वर्षीया मिनादेवी सदा बस्तीका अधिकांश हरवाचरवाहरू आर्थिक अभावका कारण भोकभाकै बस्न बाँध्य भएको बताउँछिन् । स्थानीय मिथिलेश यादवले जग्गा पास गरिदिन्छु भनेर १५ हजार लगेकोमा उनको ठूलो चित्त दुखाइ थियो । भन्दै थिइन्, ‘गिरहतकोमा काम गरेर कमाएको धानचामल सबै बेचेर त्यो पैसा जुटायौँ । तैपनि जग्गा हाम्रो नाममा भएको छैन ।’

आर्थिक अभावका कारण बालबच्चालाई पढाउन नसकिएको उनको गुनासो थियो । ‘दलित लोग कुछो नै बुझैछी तो कति करवै ?’ उनले भनिन्, ‘जसको घरमा काम गरियो उनीहरूले ४–५ वटा घर बनाइसकेँ, हाम्रो हालत भने जस्ताको त्यस्तै छ । यहाँ पैसा पुरुषको हातमा हुन्छ, त्यसैले पनि बच्दैन । एक सय घरमा दिन्छन्, दुई सय आफैँ सकाउँछन् ।’ अहिले मिनादेवी गिरहतको गहुँ र धान काट्ने, बोक्ने काम गर्छिन् भने उनका श्रीमान् गहुँ दाहुनी गर्ने काम गर्छन् ।

छोरीले एसइई दिई, अब पढाउने कसरी ?

यो मुसहर बस्तीमा पुग्दा सबैजसो यहाँका हरवाचरवाहरू आफ्ना दुःख र संघर्षका कथाहरू सुनाइरहेका थिए, तर अमृतादेवी सदाको घरमा बेग्लै रौनक थियो । कारण, गिरहतको घरमा काम गरेर दुःखले पढाएकी छोरी पूजाकुमारीले त्यसै दिन एसइईको अन्तिम परीक्षा दिएर आएकी थिइन् । एक छोरी र दुई छोराकी आमा अमृता दम्पतीले हरवाचरवा गरेरै तीनैजनालाई पढाउने प्रयत्न नगरेको होइन । तर, जेठो छोरा सन्जनलाई आठ कक्षा पढाउँदापढाउँदै छोडाउनुप¥यो । सन्जन अहिले पैसा कमाउन बुबासँगै पन्जाब गएका छन् । कान्छा छोरा श्रवण भने ओभरसियर पढ्दै छन् । अहिले एक्ली छोरी पूजाले एसइई दिएकी छिन् ।

परीक्षा पास हुनेमा पूजा ढुक्क छिन् तर त्यसपछि कलेज पढ्न पाइने हो–होइन, उनी अन्योलमै छिन् । ‘पढ्न पाएँ भने धेरै पढ्न मन छ, अरूजस्तै कलेज जान मन छ,’ पूजाले भनिन् । त्यसमै अमृताले थपिन्, ‘हामी दलितसँग पैसा कहाँ हुन्छ बालबच्चा पढाउनलाई ? खानै त पुग्दैन । तैपनि मलाई मेरी छोरी पढाउने मन छ ।’

Published on: 17 April 2023 | Naya Patrika

Link

Back to list

;