s

माइग्राम्सको नाममा ३० लाख डलर बाहिरियो

होम कार्की

हालै परराष्ट्र मन्त्रालयले ‘माइग्राम्स’ बापत शुल्क उठाउने संस्थालाई कारबाही गर्ने र त्यसबापत मलेसिया पठाएको रकम नेपाल फिर्ता गर्ने निर्णय गर्‍यो । 

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि दर्ता (माइग्राम्स) गर्न प्रतिकामदार ३० डलर लिने गरिएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महतका अनुसार माइग्राम्सको छानबिन गर्न गृह र श्रमलाई अनुरोध गरिसकिएको छ । ‘बायोमेट्रिकको विषयमा मलेसियाले जिम्मा लियो । तर, माइग्राम्सबापत रकम उठाउन कसैलाई अधिकार नदिएको मलेसियाले जनाएको छ,’ परराष्ट्रमन्त्री प्रकाशशरण महतले भने, ‘यसरी अबैध रूपमा भइरहेको कारोबारलाई रोक्नुपर्छ । कामदारसँग जथाभावी उठाएको रकम फिर्ता गर्ने हो ।’ 

वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार पछिल्लो आठ महिनामा एक लाख कामदारको स्वास्थ्य परीक्षण गर्नका लागि दर्ता (माइग्राम्स) गरेबापत ३० लाख डलर हुन्डी गरी मलेसिया पठाइसकेका छन् । 

परराष्ट्रको निर्णयपछि व्यवसायीहरूले त्यसबापत पठाउनुपर्ने रकम रोक्नुपर्ने हो । तर, व्यवसायीहरू उल्टो दैनिक थप १५ हजार डलर पठाइरहेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहण गुरुङ भन्छन्, ‘माइग्राम्सबापत रकम नपठाए बायोमेडिकल हुँदैन । बायोमेडिकल नभए कामदारलाई मलेसिया पठाउन सकिँदैन ।’

मलेसिया जाने कामदारको हकमा माइग्राम्स गर्न भन्दै गत १ मेबाट प्रतिकामदार ३० डलर लिँदै आएको हो । व्यवसायीले सुरुमा यो रकम नपठाउँदा १ देखि १२ मेसम्म मलेसियाबाट कलिङ भिसा नै आउन रोकिएको थियो । 

त्यसपछि व्यवसायीले आफ्ना एजेन्टमार्फत बेस्टिनेट एसडी एनबी एच डी कम्पनीको मलेसियाको क्वालालम्पुरस्थित जलानमा रहेको मलेसिया बैंकिङ बरहड (मे बैंक) को खाता नम्बर ७१४४ ७७ ००१७२३ मा रकम जम्मा गर्दै आएका छन् । त्यसपछि कामदारलाई जाने बाटो खुल्यो । तर, बायोमेडिकल गर्न कामदारले छुट्टै ४५ सय रुपैयाँ स्वास्थ्य संस्थालाई बुझाउनुपर्छ । बेस्टिनेट कम्पनीले बायोमेडिकल गराउनका लागि काठमाडौंमा ३९ वटा स्वास्थ्य संस्थालाई छनोट गरेको थियो । 

व्यवसायी संघका महासचिव गुरुङ बायोमेट्रिक सञ्चालन गर्ने स्वास्थ्य संस्थाहरूबाटै मलेसियामा जम्मा गरेको रकम उठाउनुपर्ने दाबी गर्छन् । ‘माइग्राम्सको दर्ता शुल्क भुक्तानी गरी बायोमेडिकल गर्ने बाटो खुला हुन्छ । त्यसैले माइग्राम्स र बायोमेडिकल गर्ने संस्था एउटै हुन् । नेपाल सरकारले तत्काल बायोमेडिकल गर्ने ३९ स्वास्थ्य संस्थालाई कारबाही गरेमा माइग्राम्स खारेज गर्न सकिन्छ ।’

स्वास्थ्य व्यवसायीहरू माइग्राम्समा आफ्नो जिम्मेवारी नरहेको बताउँछन् । ‘माइग्राम्सबापत कसलाई कति रकम पठाउँछन् हामीलाई थाहा छैन । माइग्राम्सको सफ्टवेयर म्यानपावर व्यवसायी नै चलाउँछन् । यसमा उहाँहरू नै जिम्मेवार हुनुहुन्छ,’ नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का भन्छन्, ‘बायोमेडिकल गर्ने संस्थालाई माइग्राम्सबापत रकम दिएको प्रमाण पेस गरेमा हामी डबल भुक्तानी गर्छौं ।’

Published on: 21 January 2017 | Kantipur

Back to list

;