s

मादागास्करबाट ६ जनाको समूह आज काठमाडौं आइपुग्ने

सुरेन्द्र पौडेल

सरकारले दक्षिण अफ्रिकी राष्ट्र मादागास्करमा अलपत्र परेका २१ जनामध्ये ६ जनालाई उद्धार गरी हिजो काठमाडौं ल्याएको छ भने अन्य ६ जनाको समुह शनिबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

बाँकीलाई क्रमशः ल्याइने मन्त्रालयले बताएको छ । परराष्ट्रका अनुसार हिजो काठमाडौं आइपुगेको टोलीको मादागास्करदेखि काठमाडौं आइपुग्दा लागेको सम्पूर्ण हवाई खर्च आप्रवास सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओम) ले व्यहोरेको छ। हिजो आइपुगेको टोली कतार एयरवेजमा दोहा हुँदै आएको हो।

शनिबार आउने टोलीको खर्च भने सरकारले व्यहोरेको छ। उनीहरुलाई मलेशियाको क्वालालम्पुर हुँदै नेपाल एयरवेजमा काठमाडौं ल्याइने परराष्ट्रले जनाएको छ। दक्षिण अफ्रिकास्थित नेपाली दूतावासका उपनियोग प्रमुख भरत रेग्मी मादागास्कार गई अलपत्र परेका नेपाली रहेको होटलको खर्च र अन्य कागजात मिलाएपछि उनीहरुलाई नेपाल फर्काउन सकिएको हो। मादागास्करमा अलपत्र परेका नेपालीको उद्धारको लागि सरकारले ७५ लाख रुपैयाँ निकासा गरेको थियो।

अलपत्र परेका सबैको राहदानी खोसिएको थियो भने उनीहरु एक छाक खाएर मात्र बस्न बाध्य थिए। अलपत्र परेका मध्ये धेरै एक साताको अन्तरमा त्यहाँ पुगेका थिए। उनीहरुलाई काठमाडौंबाट दिल्ली, दिल्लीबाट मुम्बई, मुम्बईबाट केन्याहुँदै माडागास्कर पुर्याठइएको थियो।

'स्टोर किपर' को जागिर लगाईदिने आश्वासन दिएर माडागास्कर पुर्याएको उनीहरुलाई त्यहाँ यादव नेपाल भन्ने व्यत्तिले होटलमा लगी राखेका थिए। तीनै नेपालले माडागास्कर पुग्ने बित्तिकै भिसा थप गर्नु पर्ने बताउँदै सबैको राहदानी लिएका थिए।

भिसा पनि नथप्ने र राहदानी पनि फिर्ता नगरेपछि अलपत्र परेकाले स्थानीय प्रहरीलाई नेपालका बारे जानकारी गराएका थिए। त्यसपछि स्थानीय प्रहरीले उनलाई प्रक्राउ गरी थुनामा राखेको थियो।

 Published on: 11 August 2012 | Nagarik

Back to list

;