s

लमजुङका १९ युवा भारतको हरिद्वारमा अलपत्र, उद्दारका लागि सरकारसँग अपिल

बेलिना थापा

लमजुङ, वैशाख २० गते । लमजुङका १९ जना युवा भारतको उत्तरखण्डस्थित हरिद्धारमा अलपत्र परेका छन् । बेंसीसहर नगरपालिका, मस्र्याङदी गाउँपालिका, क्व्होलासोंथर गाउँपालिका र दोर्दी गाउँपालिका युवा उत्तरखण्डस्थित हरिद्धार जिल्लाको सिवालीकनगर पवनपुत्र कोलानीमा अलपत्र अवस्थामा छन् । 

उनीहरुका अनुसार मस्र्याङदी गाउँपालिकाका मात्रै ११ जना अलपत्र छन् । बेंसीसहर नगरपालिका वडा नं. ९ का ६ जना, मस्र्याङदी गाउँपालिका १ का ६ जना, २ का २ जना र ९ का ३ जना छन् । क्व्होलासोंथर गाउँपालिका ३ को १ जना, दोर्दी गाउँपालिका ८ का १ जना छन् । उनीहरु ३ महिनाअघि ग्लाज ट्रेडिङ इन्डिया प्रालि  मार्फत काममा खटिएका थिए । सुरुमा स्टोरकिपरको काम भन्दै लगेपनि पछि मल्ट्रीपल बिजनेस काम गर्दै आएका उनीहरु लकडाउनका कारण स्वदेश फर्कन नपाएका हुन् । उनीहरु काममा प्रवेश गरेको १ महिनामा लकडाउन भएको र तलब समेत नपाएको उनीहरुले बताएका छन् । 

मस्र्याङदी गाउँपालिका २ घनपोखराका पूर्ण विश्वकर्माका अनुसार क्याम्पमा बस्दै आएका उनीहरुलाई लकडाउनपछि क्वारेन्टाइनमा राखिएको छ । लकडाउनअघि नेपाल फर्किन्छु भन्दा जान नदिएको र अहिले क्वारेन्टाइनमा बस्न लगाएको उहाँले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा बसेको शनिबार २५ दिन भएको छ । खान र बस्नका लागि निकै समस्या भएको उहाँले बताउनुभयो । ‘कोठा साँघुरो छ । एउटै कोठामा १३÷१४ जना बस्नुपरेको छ । खाना पनि दिनको एकपटक, त्यो पनि गिलो न गिलो, थोरै दिन्छ । पानी जस्तो सङ्लो तरकारी हुन्छ’ उहाँले भन्नुभयो, ‘बस्न र खानकै लागि समस्या भो । यसरी कतिदिनसम्म बस्ने । केही दिन यसरी बसिए मरिन्छ ।’ 

काम गर्ने कम्पनीमा भने कुनै सम्पर्क हुन नसकेको उनीहरुले बताएका छन् । कम्पनीबाट तलब नपाउँदा निकै अप्ठ्यारोमा परेको बेंसीसहर नगरपालिका ९ का सन्दिप गुरुङले बताउनुभयो । रोजगारीका लागि भारत गएको र काम गरेको १ महिनापछि लकडाउन हुँदा झनै समस्या परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘काम गरेको तलव पनि पाइएन । अहिले कम्पनीसंग सम्पर्क पनि छैन । एउटै कोठामा कोच्चिएर बस्नु परेको छ । उनीहरुले दिएको खाना मुखमा हाल्दा वाकवाकी आउँछ । हामी बरु भोकै भएपनि गाउँघरमै आउन चहान्छौं । सरकारले उद्दार गरिदिनु प¥यो ।’ 

मस्र्याङदी गाउँपालिका ९ सिम्पानीका सविन विकका अनुसार अलपत्र परेका सवैको समस्या एउटै हो । स्थानीय प्रहरी नेपाल सरकारले उद्दार गरेमा आफूहरुले छोड्ने बताएको विकले बताउनुभयो । नेपालमा के कसरी आउन सकिन्छ भन्ने विषयमा जानकारी नभएको उहाँले बताउनुभयो । 

मस्र्याङदी गाउँपालिका १ घनपोखराका आशिष विकले आर्थिक समस्याका कारण रोजगारीका लागि आउँदा झनै समस्या व्यहोर्नुपरेको बताउनुभयो । कम्पनीले एउटा काम भनेर अर्को काममा लगाएको र अर्को काम गर्दा पनि तलब नपाएको उहाँले बताउनुभयो । नेपाल आउनका लागि सञ्चारमाध्मयमार्फत गुहार मागिएको उहाँले बताउनुभयो । 

लमजुङका मात्र नभएर सिन्धुपाल्चोक, पोखरा, बाग्लुङ, स्याङजा, दार्चुला लगायतका युवा उनीहरुसंग छन् । सबैगरी ३५ नेपाली युवा अलपत्र अवस्थामा रहेको उनीहरुले बताएका छन् । भारतीय प्रहरीलाई खबर गरेपछि नेपाल सीमा क्षेत्र महेन्द्रनगर कञ्चनपुन नाकासम्म पु¥याउन भारतीय प्रहरी तयार रहेको उनीहरुले बताएका छन् । बोर्डरसम्म प्रहरीले पु¥याईदिए पनि त्यहाँबाट प्रवेश हुन नेपाल सरकारको अनुमति चाहिने उनीहरुले बताएका छन् । क्वारेन्टाइन बसेको ठाउँबाट महेन्द्रनगरको कञ्चनपुर सीमा क्षेत्रसम्म आउन ७ घण्टा लाग्ने उनीहरुले बताएका छन् । अलपत्र अवस्थाका उनीहरुले आ–आफ्नो जिल्लाको स्थानीय तहका प्रमुख तथा वडाध्यक्षलाई समेत उद्दारका लागि पहल गर्न सम्पर्क गरेको बताएका छन् ।

Published on: 2 May 2020 | Gorkhapatra

Link

Back to list

;