s

‘लक्की ड्र’बाट छानिएका आधा मात्रैले दिए जापानी भाषा परीक्षा

तुलसी सुवेदी

जापानी भाषा परीक्षाका लागि लक्की ड्रबाट छानिएका मध्ये आधा मात्रै परीक्षामा सामेल भएका छन्। छनोट भएका एक हजार जना मध्ये पाँच सय ४७ ले मात्रै परीक्षा दिएका छन्।

जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर) का लागि परीक्षा सञ्चालन गरिरहेको छ। तेस्रो एवं अन्तिम चरणको परीक्षा कात्तिक २६, २७ र २८ हुँदै छ। कात्तिक १०, ११ र १२ गते पहिलो चरणको र कात्तिक १९, २० र २१ गते दोस्रो चरणको परीक्षा भइसकेको छ। भाषा परीक्षामा उत्कृष्ट मात्रै जापान जान पाउनेछन्। जापानले आफूलाई चाहिने कामदार लक्षित गरी केही बढी परीक्षार्थी लक्की ड्रबाट छनोट गरेको थियो। परीक्षामा सामेल उत्कृष्ट व्यक्ति मात्रै जापान जान पाउनेछन्।

लक्की ड्रबाट छनोट भएका परीक्षार्थीले परीक्षा हुनु तीन दिन अघिसम्म भौचर लिनुपर्छ। अन्तिम परीक्षा अब मंगलबार सञ्चालन हुने भएकाले भौचर लिने समय धेरै नभएकाले परीक्षार्थी बढ्ने सम्भावना कम छ। छनोटमा परेका परीक्षार्थीले भाषा परीक्षाका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ। नर्सिङ केयरको भाषा परीक्षाका लागि १३ हजारले अनलाइन फारम भरेका थिए। भाषा परीक्षामा उत्तीर्ण भएका सीप परीक्षणमा सहभागी हुन पाउँछन्। जापान फाउन्डेसनले डिल्लीबजारस्थित युनिभर्सल ल्याङवेज एन्ड कम्प्युटर इन्स्टिच्युटबाट भाषा परीक्षा सञ्चालन गरेको थियो। नर्सिङ केयरमा जानेले एन फो तहको भाषा परीक्षा पास गर्नुपर्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार भाषा र सीप परीक्षापछि जापान जाने प्रक्रिया सुरु हुन्छ। स्किल वर्कर भिसामा जाने कामदारले सुरुमा भिसाका लागि आवेदन दिनुपर्छ। नेपाली कामदार लैजानेमा जापानले प्राथमिकता दिएको उनले बताए। नेपाली कामदारका लागि जापान आकर्षक मुलुक मानिन्छ।

जापानले दुई÷दुई महिनामा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ। उसले नेपालसहित नौ मुलुकबाट कृषि, नर्सिङ केयर, सवारीसाधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग क्षेत्रमा कामदार लैजान लागेको छ। खाद्य र पेयपदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी उद्योग, माछापालन व्यवसाय, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवं हवाई उद्योगमा विदेशी कामदार लैजानेछ। जापानले नेपालसहित नौ मुलुकबाट विदेशी कामदार लैजाने तयारी गरे पनि सात मुलुकबाटै प्रक्रिया सुरु भएको जापान फाउन्डेसनले जनाएको छ। जापानले नेपालसहित फिलिपिन्स, भियतनाम, मंगोलिया, म्यानम्यारलगायत देशबाट ५ वर्षभित्र तीन लाखभन्दा बढी कामदार लैजाने घोषणा गरेको छ। तर, कुन देशबाट कति कामदार लैजाने भन्ने यकिन गरेको छैन।

Published on: 8 November 2019 | Annapurna Post

Link

Back to list

;