s

लकडाउनमा मजदुरको पीडा : राजधानीमा खान पाइँदैन, प्रशासनले घर जान दिँदैन

विजय कार्की

 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय गेटअगाडि उभिएका थिए, नेपाल प्रहरीका हवल्दार विष्णु भुजेल । उनको छेउैमा लस्करै बसेका थिए, पोकापन्तुरा बोकेका आठजना मजदुर । सबैजना भोक र थकाइले लखतरान देखिन्थे । उनीहरू यहाँ थकाइ मार्न बसेका भने होइनन् । प्रहरीले सोधपुछ गर्न थालेपछि अडिएका हुन् । उनीहरू काठमाडौंबाट महोत्तरीको बर्दिवास जान निस्केका हुन् । 

मध्याह्नको चर्को घाम परवाह नगरी हिँड्नेमा थिए ३० वर्षीय माइला मगर, उनका भाइ देव मगर, साथी केदार विश्वकर्मा, भतिजा र अन्य गाउँका नातेदार । ढुंगेधाराबाट बिहान ११ बजे आलुको तरकारीसँग भात खाएर हिँडेका उनीहरू प्रहरीको अवरोध झेल्दै साढे २ बजे कीर्तिपुर आइपुगेका थिए । उनीहरूमध्ये केहीले चप्पलको भरमा दुई सय सात किलोमिटर परको बर्दिवास पुग्ने लक्ष्य बनाएका छन् । 

उनीहरूले आठ वर्षदेखि काठमाडौंमा काठको (सिकर्मी) काम गर्दै आएको बताए । सातजनाको नाइके रहेछन्, ३० वर्षीय माइला मगर । उनीहरू आठैजना टुक्रुक्क सडक पेटीमा लस्करै बसेका थिए । अन्य स्थानमा प्रहरीले छोडे पनि त्रिवि गेटअगाडि भने प्रहरीले छाड्न मानेन । सडकमा अलपत्र परेका उनीहरूसँग लकडाउनमा किन हिँडेका भनी प्रश्न गर्दा टोली नाइके माइला मगरले अझै यहाँ बसे खान नपाइने दुखेसो गरे । उनले भने, ‘यहाँ त कोठाबाट बाहिरसमेत जान पाइँदैन । आफ्नो घर पुगे आटोपिठो खाएर पनि बाँचिन्छ । तर, प्रहरीले जान दिएको छैन ।’ सिकर्मी कामबाट मासिक सरदर २५ हजार कमाइ हुने गरेको उनले बताए । 

यही पैसाले परिवार पाल्दै आएको उनीहरू बताउँछन् । लकडाउनसँगै काम पनि ठप्प भएको र कमाइ पनि रोकिएको उनीहरूको भनाइ छ । लकडाउनअघि ठेकेदारले दिएको रकमले २४ दिनसम्म खर्चपानी चले पनि बिहीबारबाट खाद्यान्न सकिएको उनीहरूले बताए । ‘भोकै पर्ने अवस्थामा पुगेपछि पैदलयात्रा गरेरै भए पनि घर जाने आँट गरेको देव मगरले बताए । ‘यतिका हप्ता त सरकारले भनेअनुसार गर्‍यौँ । ३ वैशाखपछि बाटो खुलेर घर जाने आशामा बसेका थियौँ । तर, न बाटो खुल्यो न (खाद्यान्न) राहत नै पाइयो,’ उनले भने । टोलीकै अर्का सदस्य केदार विश्वकर्माले दुःख पाइपाई हिँडेर बर्दिवाससम्म जानु रहर नभएको बताए । ‘हामीसँग राहतका लागि चाहिने नागरिकतालगायतका काजपत्र छैनन् । ठेकेदार पनि राहत फारममा हस्ताक्षर गर्न आउन सक्दैनन् । त्यसैले राहत पाएनौँ । भएको खाद्यान्न सकियो । अनि हिँडेका हौँ । प्रहरीले यहाँ रोकेपछि न यता जाने न उता जाने भएका छौँ’, विश्वकर्माले भने ।

पैदलयात्रामा पूर्ण रोक : प्रजिअ 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले पैदलयात्रामा पूर्ण रोक लगाएको बताए । उनले भने, ‘कोरोना संक्रमण बढ्दै गएको सन्दर्भमा लकडाउन थप प्रभावकारी बनाइएको छ । मजदुरहरू भोकै पर्ने अवस्था आएमा वडाका जनप्रतिनिधिमार्फत खाद्यान्नको व्यवस्था हुन्छ ।’ काठमाडौं महानगरपालिका–१५ का (ढुंगेधारा) वडाध्यक्ष ईश्वरमान डंगोलले अलपत्र परेका मजदुरलाई भोलिसम्म खाद्यान्न व्यवस्था हुने बताए । आजलाई भने आफैँ जुगाड गर्नुपर्ने उनको भनाइ छ । 

वडाध्यक्ष र सिडिओसँग सम्पर्क गरी उनीहरूको समस्या राखेपछि वडाध्यक्षले भोलि वडा कार्यालयले ८ बजे खाद्यान्न उपलब्ध गराउने प्रतिबद्धता जनाए । जनप्रतिनिधि र सिडिओको प्रतिबद्धतापछि ती मजदुर त फर्केका छन् । तर, खाद्यान्न उपलब्ध नभए घर जान दिनुपर्ने माग राखेका छन् । उनीहरूले बिहीबार साँझ चिउराकै भरमा गुजारा गर्ने बताए । 

प्रशासनको आदेशअनुसार कसैलाई बाहिर जान दिएका छैनौँ : प्रहरी 

मंगलबारसम्म बल्खु–दक्षिणकाली सडकबाट सयौँको संख्यामा सर्वसाधारण काठमाडौंबाट बाहिरिएका थिए । काठमाडौंमा भोकै पर्ने अवस्थाका मजदुरलाई गृहजिल्ला जान कसैले रोकेका थिएनन् । तर, बुधबारबाट भने प्रशासनको निर्देशनअनुरूप पैदलयात्रीलाई कीर्तिपुरबाट बाहिरिन दिइएको छैन । हवल्दार विष्णु भुजेलले भने, ‘हामीले मंगलबारसम्म त मानवताका आधारमा छोडेका थियौँ । तर, कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रशासनको निर्देशनअनुसार बुधबारबाट जिल्लाबाहिर जान रोकेका हौँ ।’ कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले बिहीबारदेखि राजमार्गमा हिँड्नेलाई पक्राउ गरी मुद्दा चलाउन गृह प्रशासनलाई निर्देशन दिएपछि लकडाउन थप कडा पारिएको हो ।

Publishe on: 17 April 2020 | Nayapatrika

Link

Back to list

;