s

लकडाउनले गाँस छिन्यो, हेरिदिने कोही छैन

मनिका झा

 

जनकपुरधाम : लम्बिँदै गएको लकडाउनले गरिब र असहाय भोकभोकै मर्नुपर्ने अवस्था निम्त्याएको छ। प्रदेश २ मा कतै रोजगारी अभावले भोकमरी ल्याएको छ भने कतै घर फर्किने कडा प्रयास र मिहिनेतले सर्वसाधारणको ज्यान लिन थालेको छ।

गरिबीका कारण खान नपाई सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरी रामपुरका मलर सदा मुसहरले लकडाउन अवधिमै ज्यान गुमाए। उनको परिवारमा चार दिनसम्म चुलो बलेको थिएन। भोकसँग लड्न खाली पेट काम खोज्न हिँडेका ५० वर्षीय मलर खेतमा ढलेका थिए। त्यही नै उनको प्राण गएको थियो। उनकी श्रीमती जलेश्वरी श्रीमान्को वियोगमा गरिबी र भोकसँग लड्दै बाँचिरहेकी छन्।

धनुषाको सहिदनगर नगरपालिका–९ घर भएका ३० वर्षीय वीरेन्द्र गोडवैता यादवले बुधबार भोक र उपचार अभावमा सीमा नाकामै ज्यान गुमाउनुपर्‍यो। चरम गरिबीले पिरोलिएका वीरेन्द्र रोजीरोटीका लागि चार महिनाअघि भारतको सुरत गएका थिए। तर, लकडाउनले रोजगारी खोसिएपछि उनी घर फर्किन हिँडे। लामो यात्राले थलिएका उनी सीमा नाकामा आइपुग्दा खाली पेट र कमजोर शरीरले साथ नदिएपछि अस्ताए।

उनले त ज्यान गुमाएपछि परिवारमा ठूलो संकट थपिएको छ। ३ वर्षका छोरा सुरज गुरमैता यादवले बुवाको काजकिरिया गरेका छन्। आर्थिक अवस्था कमजोर हुँदा छोरा र ६ महिनाकी छोरी लक्ष्मीनियाँलाई पाल्न वीरेन्द्रकी श्रीमती २६ वर्षीया सवितादेवी यादवलाई आपत् परेको छ। श्रीमान् गुमाएको शोक र एक्लै छोराछोरी पाल्ने चिन्ताले सवितादेवीलाई मर्नु न बाँच्नु बनाएको छ।

कोरोना संक्रमणले गरिबलाई रोगभन्दा पनि भोकले मर्ने स्थिति बनाएको जनकपुरका पप्पु साह बताउँछन्। गाडी चालकको काम गर्दै आएका साह लकडाउनले गर्दा बेरोजगार बनेका छन्। ‘घरपरिवार पाल्न गाडी चलाउँथें तर तीन महिनायता काम छैन’, उनी दुखेसो पोख्छन्, ‘थोर–बहुत जम्मा पुँजी थियो त्यो पनि सकियो। अब यस्तै रहिरह्यो भने कसरी परिवार पाल्ने ? ठूलो चिन्ता छ।’

लकडाउन लम्बिँदै गए पनि व्यापार, उद्योग र यातायात सञ्चालनका लागि कुनै योजना सरकारले ल्याएको छैन। ‘मान्छेलाई थुनेर ७० दिनसम्म राखिएको छ’, नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हीरा भन्छन्, ‘आर्थिक गतिविधि सञ्चालनतर्फ तीनै तहका सरकारको कुनै नीति छैन। यस्तोमा अब व्यापारीहरू विद्रोहमा उत्रिन थालेका छन्।’

प्रदेश २ कै वीरगन्ज, जनकपुरलगायत सहरमा पसल खोल्न थालिएको छ। प्रदेश सरकारले राहत वितरणमा ६० दिनसम्म ढिलाइ गर्‍यो। संघ सरकारले आफ्ना नागरिकलाई सहज व्यवस्थापनको बन्दोबस्त गरेन। ‘स्थानीय तहले आफू मातहतका क्वारेन्टाइन र आइसोलेसनको बन्दोबस्त पनि मिलाउन नसक्नु निन्दनीय छ’, हीरा भन्छन्, ‘मात्रै लकडाउन लम्ब्याएर केही हुँदैन। यसले रोगभन्दा भोकमरीको त्रास बढाएको छ।’

Published on: 4 June 2020 | Annapurna Post

Link

Back to list

;