s

लकडाउनले बुवाको मुख हेर्ने धोको अधुरै : भारतीय क्वारेन्टाइनमै किरिया

भगीरथ अवस्थी

 

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिका ३ का अमरसिंह धामीले गत मंसिरमा बुढेसकालका बुवासँग छुट्टिदा छिट्टै घर फर्कन्छु भन्ने वाचा गरेका थिए । परिवार पाल्नका लागि गाउँमा कुनै रोजगारी नहुँदा अमर आफ्ना २ भाइसहित भारतको पिथौरागढ लागे । ८३ वर्षीय उजले धामी गहभरी आँसु भर्दै छिटो आउनु छोरा भन्दै थिए । प्रत्युत्तरमा अमरले बिसुका लागि जसरी पनि घर आउँछु भनेका थिए । 

आफ्ना जन्मदिने बुवासँगको त्यही संवाद नै अमरका लागि अन्तिम संवाद बन्यो । बिसुका लागि घर आउने तयारी गरेका अमर सीमा नाका बन्द हुँदा घर आउन पाएनन् । उनी  मात्रै नभएर उनका भाइ प्रेमसिं धामी र रामसिं धामीले पनि बिसुका लागि घर आउन पाएनन् । 

जीवनको  अन्तिम श्वास फेर्नुअघि पनि उजले धामी पिथौरागढमै रहेका छोराहरुका बारेमा सोधिरहे । तर लकडाउनका कारण उनीहरु अहिले फर्कन नसक्ने भन्दै घरपरिवारले वृद्ध उजले धामीको चित्त बुझाए । छोराहरुसँग अन्तिम भेटघाट गरेर प्राण त्याग्ने उजलेको धोको पनि अधुरै रह्यो । अन्तिम घडीमा बुवाको मुख हेर्ने धोको छोराहरुको पनि अधुरै रह्यो । 

वैशाख ७ गते उजलेले प्राणत्याग गरेपछि उनका ५ छोरा मध्ये तीन छोरा अहिले भारतको पिथौरागढमा रहेको क्वारेन्टाइनमै किरियामा बसिरहेका छन् । ‘बिसुका लागि घर फर्किन भनेर आएका हौं । तर बुवासँग भेट हुन पाएन। सात गते बुवाले संसार छोड्नु भएछ । बुवालाई दागबत्ती दिन नपाउँदा साह्रै खल्लो लागेको छ’, अमरसिंह धामीले अन्नपूर्णसंग फोनमा भने, ‘हामीलाई घर फर्किन देऊ, बुढेसकालका बुवा बिरामी  छन् भनेर धेरै पटक भन्यौं । हाम्रो आवाज कसले सुन्थ्यो र ? अहिले क्वारेन्टाइनमै किरियामा बसेका छौं ।’ 

भारतीय क्वारेन्टाइनमा किरिया गर्दा साह्रै समस्या भएको धामीले बताए । उनले भने, ‘हाम्रो पनि आफ्नै संस्कार छ । बिसुका लागि घर फर्कन दिएको भए यस्तो समस्या हुने थिएन् । जन्म दिने बुवालाई अन्तिममा भेट नहुँदा कस्तो होला ?’ 

‘क्वारेन्टाइनमै बसेर किरिया गरिरहेका छौं । बुवाको बितेको चार दिन भइसकेको छ । तर अझै पनि स्वदेश फर्कन पाउने कुनै छाँटकाँट छैन’, रामसिंह धामीले भने, ‘आफ्ना आफन्त बित्दासम्म स्वदेश फर्कन नपाउने कस्तो बिडम्बना हो । हाम्रै देशको क्वारेन्टाइनमा भएको भए हामी हिँडेरै पनि घर पुग्थ्यौं ।’ 

बुवाको बितेको चार दिन भइसक्दासमेत स्वदेश फर्कन नपाउँदा सारै खल्लो लागेको प्रेमसिं धामीले बताए । उनले भने, ‘घरमा बुवा बित्नुभएको छ । क्वारेन्टाइनमै किरिया बस्नुपरेको छ । यस्तो अवस्थामा समेत आफ्नो देश फर्किन पाइएको छैन।’ 

भारतको धारचुला र झुलाघाटका विभिन्न क्वारेन्टाइनमा गरेर बैतडीका मात्रै ९ सय बढी मजदुर बसिरहेका छन् । उनीहरुले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको भए पनि अहिलेसम्म स्वदेश ल्याउने विषयमा केही पहल भएको छैन । 

किरियापुत्रीलाई स्वदेश फर्काउने प्रयास 

जिल्ला प्रशासन कार्यालय बैतडीले भने भारतीय क्वारेन्टाइमा बसेका किरियापुत्री नेपाल ल्याउन पहल भएको जनाएको छ । आइतबार बुवाको मृत्यु भएपछि उनीहरुलाई  स्वदेश फर्काउने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । उनले भने, ‘भारतीय  क्वारेन्टाइनमै किरियामा बसेका तीनै भाइलाई स्वदेश फर्काउन भारतीय प्रशासनसँग समन्वय भइरहेको छ । सकेसम्म हामी छिटो स्वदेश फर्काउने प्रयासमा छौं ।’ 

उनीहरुलाई नेपाल भित्रिँदा स्वास्थ्य चेकजाँच लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरेर फर्काउने जनाइएको छ । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्टका आमाको पनि निधन भएपछि ६ दिनपछि नेपाल भित्र्याइएको थियो ।

Published on: 22 April 2020 | Annapurna Post

Link

Back to list

;