s

लकडाउनले अप्ठ्यारोमा परेका चार सय मजदुरलाई ४१ दिनदेखि दैनिक निःशुल्क खाना

गणेश लम्साल, विराटनगर

 

विराटनगरका केही युवाले लकडाउनको कारण अप्ठ्यारोमा परेका झण्डै चारसय मजदुरलाई ४१ दिनदेखि निरन्तर साँझबिहानको खाना खुवाउँदै आएका छन् ।

लकडाउनको कारण रोजगारी गर्न नपाएका दैनिक ज्यालादारी मजदुर, कवाडी बटुल्ने र भिख मागेर खानेसहित भण्डै चार सय मजदुरलाई दैनिक बिहान-बेलुकाको खाना खुवाउने व्यवस्था मिलाइएको छ ।

दैनिक काम गरेर साँझ-बिहानको छाक टार्दै आएका बिपन्न मानिस लकडाउनले भोकभोकै पर्ने अवस्था आएपछि विराटनगरका स्थानीय केही युवाले उनीहरुलाई निःशुल्क खानाखाने व्यवस्था मिलाएका हुन् ।

विराटनगरका वसिम आलम, पप्पु अन्सारी, पेरिस सुवेदी, प्रज्वल अधिकारी, सञ्जु सापकोटा, दीपा दर्नाल, विकास महतो, दिपेन मरिक, भवेश पौडेल, रानिष लामा, मिनमा तामाङ, कृष्ण आलेसहितका युवाको सक्रियतामा खाना खाने व्यवस्था मिलाइएको हो ।

लकडाउनको केही दिनपछिदेखि नै अप्ठ्यारोमा परेकाहरुलाई खाना खाने व्यवस्था मिलाइएको युवा समूहका अगुवा वसिम आलमले बताए ।  खाना खुवाउनका लागि सरकारी र गैरसकारी संस्थाको पैसा भने नस्वीकारिएको आलमको भनाई छ । ‘स्थानीय दाताले दिएको सहयोगले नै अहिलेसम्म साँझ बिहान खाना खुवाउने व्यवस्था मिलाउँदै आएका छौँ,’ उनले भने ।

उनीहरुले स्थानीय किसानसँग तरकारी सहयोग माग्ने गरेका छन् । खेतबारीमै गएर तरकारी टिपेर ल्याउने, दाताहरुबाट चामल, दाल र तेल सहयोग जुटाएर खानाको व्यवस्था मिलाइएको छ । समूहका सदस्य पप्पु अन्सारीले लकडाउनको कारण बन्द भएको आफनो रोयल बिर्यानी हाउसमा बिहानको खाना पकाइदिने गरेका छन् ।

त्यसैगरी साँझ भने राजेश खड्काले आफनो कृष्ण पार्टी प्यालेसको किचनमा खाना पकाइदिने व्यवस्था मिलाएका छन् । पकाएको खाना डब्बामा  प्याक गरेर सडकमा बसिरहेकाहरुसम्म पुरयाउने गरिएको छ। त्यो काममा स्वयंसेवक खटिँदै आएका छन्।

स्वयंसेवक खाना मोटरसाइकलमा राखेर साँझ बिहान विराटनगर महानगरभरि घुम्छन् । त्यसरी घुमेर सडकमा भेटिएका भोकाहरुलाई खाना वितरण गर्ने गरिएका छ । समुहका युवा सदस्यहरु पालो मिलाएर साँझमा १२ र  बिहान २० जना खाना पकाउन  र बाँड्नमा खटिँदै आएका छन् ।

भोकाहरुलाई खाना खुवाउने अभियान लकडाउनभर जारी राख्ने योजना रहेको अभियानका अगुवा युवा वसिर आलमले बताए। उनका अनुसार सुरुका केही दिन साँझ बिहान सडकमा दुई सय जति मात्र मजदुर खाना खाने हुन्थे । तर, लकडाउन लम्बिँदै जाँदा आजभोली दैनिक बिहान दुई  सय ५० र साँझ एक सय ५० जना खाना खाने हुन थालेका छन् । 

Published on: 10 May 2020 | Nayapatrik

Link

Back to list

;