s

लकडाउनले भारतमा नेपालीलाई मार : सरकारको पत्तो छैन, मनकारीकै भर

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा लकडाउनका कारण समस्या भोगिरहेका नेपालीहरुको उद्धार र राहत उपलब्ध गराउन सरकार एवं दिल्लीस्थित नेपाली दूतावासले त्यति चासो दिएको छैन ।  तर पनि प्रवासमा रहेका सहृदयी तथा मनकारी नेपालीहरु भने उनीहरुलाई सकेसम्म आवश्यक सहयोग उपलब्ध गराउन दिनरात लागिपरेका छन् ।

दिल्लीमा अलपत्र नेपाली नागरिकलाई खाना वितरण गर्दै स्वयंसेवीहरु यकिन तथ्याकं नभए पनि भारतमा करिब १५ लाखको हाराहारीमा नेपाली कामदार रहेको अनुमान छ। भारतले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गत २४ मार्चदेखि लगाएको लकडाउनका कारण तिनै कामदारहरुलाई ठूलो समस्या परेको छ। काम गर्दै आएको व्यापार तथा व्यवसाय बन्द भएपछि कैयौंलाई एक छाकको जोहो गर्न पनि कठिन भएको छ। भारतका राज्य सरकारहरुले रासन कार्डका आधारमा मात्र राहत बाँडेका कारण उनीहरुले सहजै त्यो राहत पाउने अवस्था पनि छैन।

त्यसमाथि लकडाउन लागू हुनुअघि नै नेपाल जान हिँडेका सयौं नेपाली त बाटोमा अलपत्र परेका छन्। उनीहरुमध्ये अधिकांशले राज्यसँग सके नेपाल पठाउन नभए राहत उपलब्ध गराउन माग गर्दै आएका छन्। तर, उनीहरुको त्यो याचनाप्रति दिल्लीस्थित दूतावासले कुनै चासो देखाएको छैन। न त समस्या समाधानका लागि आवश्यक समन्वय नै गरेको छ। दूतावासले राहत वितरणका नाममा अहिलेसम्म डेढ सय जनालाई मात्र राहत बाँडेको छ। प्रवासमा रहेका नेपालीहरुका लागि अभिभावकको भूमिका खेल्नुपर्ने दूतावासले बेवास्ता गरे पनि प्रवासमै रहेका नेपालीहरु भने व्यक्तिगत तवरमा र विभिन्न संस्थाहरुसँगको समन्वयमा लकडाउनका कारण भारतमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न लागि परेका छन्।

राजधानी दिल्लीमा मात्र नेपाल जान हिँडेका र विभिन्न रेस्टुरेन्ट एवं व्यवसायमा काम गर्नेगरी करिब हजारभन्दा बढी अलपत्र अवस्थामा छन्। उनीहरुलाई दिल्लीमै रहेका प्रवासी नेपाली संगठन र केही नेपालीले व्यक्तिगत रुपमै सहयोग गरिरहेका छन्। तीमध्ये आरबी खड्का, सन्दिप राना, व्यवसायीहरु दिपक जीसी, शोभाकर पन्थी, सुदन महत, व्यवसायीहरु राजु खनाल र किसान बोहरा, वकिल प्रेम क्षेत्री, तुलाराम शर्मा, रघुनाथ पाण्डेले ट्याक्सी दिएका छन्। उनीहरुले दिल्ली एनसीआरका क्षेत्रमा पर्ने नोयडा, फरिदाबाद, गाजियाबाददेखि छत्रपुर, सुभासनगरलगायतका दुई दर्जनमा ठाउँमा खाना एवं राहत सामग्री उपलब्ध गराएका छन्। नियमित तीन सयभन्दा बढीलाई हरेक दिन बिहान साँझ खाना दिइरहेका छन्। दिल्ली र एनएनसीआरमा दुई हजारभन्दा बढी परिवारलाई खाद्यान्न उपलब्ध गराइएको छ।

दिल्लीभित्रकै सुभासनगर मेट्रो, पटेल नगर, सख्खरपुर पन्जाबी बागको मेट्रो छेउछाउमा रहेका नेपालीलाई केहीलाई खाद्यान्न दिइएको छ भने केहीलाई बिहान बेलुकी खाना पुऱ्याइएको छ। त्यसका लागि कतिपय स्थानमा स्थानीय व्यवसायीसँग पनि समन्वयय गरिएको छ। ‘जति पनि सम्पर्कमा आएका छन् ती सबैलाई भ्याएसम्म राहत दिने प्रयास गरेका छौं। कहीँकहीँ समन्वय अभावका कारण पुऱ्याउन सकिएको छैन। मुख्य उद्देश्य भनेको कसैलाई भोकै बस्न नदिने भन्ने नै हो,’ अखिल भारत प्रवासी मन्चका केन्द्रीय सचिव आरबी खड्काले भने। रघुनाथ पाण्डेलगायतका केही नेपालीले त व्यक्तिगत रुपमा सहयोग गरिरहेका छन्।

त्यसैगरी लकडाउनका कारण बीच बाटोमै अलपत्र परेका नेपालीहरुलाई पनि यिनै मनकारीहरुले सहयोग गरेका छन्। त्यस्तै सहयोग दिल्लीबाट हिँडेका ९० जनाभन्दा बढी नेपालीहरुले पाए। उत्तरप्रदेशको रामपुरमा अलपत्र परेका उनीहरुलाई खानेबस्ने व्यवस्था मिलाउन दिल्लीस्थत अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले विशेष पहल गरेका थिए। उनकै पहलमा उत्तरप्रदेशका एक मन्त्रीले आवश्यक प्रबन्ध मिलाइदिएका छन्।

भारतको आर्थिक नगरी मुम्बई नेपालीहरुका लागि रोजगारीको आकर्षक गन्तव्य हो। त्यहाँमात्र तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ। लकडाउनले यिनीहरुलाई ठूलै असर परेको छ। तर, त्यहाँका प्रवासी नेपाली संगठनहरुसँग आबद्ध व्यक्तिहरुले लकडाउनका कारण समस्यामा परेका नेपालीहरुलाई राहत दिन कम्मर कसेर लागेका छन्। सम्भवसम्म आफै राहत बाँड्ने गरेको, नभए स्थानीय प्रशासन र संस्थाहरुसँग समन्वय गरेर राहत बाँडिरहेको मुम्बईमा रहेका मोहन देवकरले कान्तिपुरसँग भने। त्यसैगरी डम्बर रावल, मोतिलाल न्यौपानेलगायत पनि राहत बितवरणमा सक्रिय रहेको बुझिएको छ।

उता, नेपाली कामदारहरुको बाक्लो उपस्थिति रहेको कर्नाटकमा पनि उता बैंग्लोरमा ऐनबहादुर रावल, तिलक कँडेल, माधव भण्डारी, गिरधरी सुवेदी र टिका पौडेललगायतका प्रवासी नेपालीहरु राहत वितरण र अन्य आवश्यक सहयोग जुटाउन सक्रिय रहेका छन्।

गुजरातमा पनि नेपाली कामदारहरुको बाक्लो उपस्थिति छ। लकडाउनका कारण धेरैलाई एक छाकको जोहो गर्न कठिन भएको छ। तर, त्यहाँ पनि केही मनकारी नेपालीहरु राहत दिन खटिरहेका छन्। अहमदाबादमा रहेका नरेश सिजापतिले त आफ्नो संस्था पनाह फाउडेन्सनमार्फत् समस्या भोगिरहेका नेपालीहरुलाई सहयोग गरिरहेका छन्। पनाह फाउन्डेसनले हालसम्म तीन सयभन्दा बढी परिवारलाई खाद्यान्न दिइसकेको छ। चामल, दाल, आलु, मसाला, पिठोलगायतका अत्यावश्यक सामग्रीको रासन किट बनाएर नेपालीहरुलाई बाँडिएको फाउडेन्सनका संस्थापक तथा सीईओ नरेश सिजापतिले कान्तिपुरलाई जानकारी दिए। साथै आफूहरु भारतका अन्य राज्यमा अलपत्र र समस्यामा परेका नेपालीहरुलाई सहयोग जुटाउनका लागि पनि लागि परेको समेत उनले बताए। ‘हामीहरुले भारत भरि रहेको गैससको सन्जालमार्फत् नेपालीहरुलाई राहत दिलाउन प्रयासरत छौं,’ उनले भने। उनको संस्थाले समस्यामा परेका नेपालीहरुका लागि भनेर छुट्टै नेपाली हेल्पलाइन नै सञ्चालनमा ल्याएको छ।

चौबीसै घन्टा सञ्चालनमा रहने हेल्पलाइनमार्फत् समस्यामा परेका नेपालीहरु भारतको जुन ठाउँमा भए पनि सहयोग पुऱ्याउने गरिएको पनि सिजापतिले बताए। त्यसैगरी लकडाउनका बेला यदि कुनै कम्पनीले नेपाली कामदारहरुलाई जागिरबाट निकालेको खण्डमा आवश्यक कानुनी सहयोग पनि उपलब्ध गराउने उनको भनाइ छ।

उता भारतको उत्तरपूर्वी राज्य हिमाचलमा पनि प्रवासी संगठनहरुले नै नेपालीहरुलाई सहयोग उपलब्ध गराइरहेका छन्। मूलप्रभाव अखिल भारतीय नेपाली एकता समाजको कुल्लु/मनाली समितिले हिमाचल सरकारसँग मिलेर मजदुरीका बेला पुगेका दुई सयभन्दा बढीलाई राहत उपलब्ध गराएको साइँला लामाले जानकारी दिए। साथै उनले संगठनको तर्फबाट राज्य सरकारको राहत कोषमा सहयोग गरेको बताए।

लकडाउनका कारण समस्यामा रहेका नेपालीहरुलाई सहयोग गरिरहेका मनकारीहरुलाई पछिल्लो समय लकडाउन कहिले टुंगिने भन्ने विषयले गम्भीर बनाउन थालेको छ। उनीहरुलाई लकडाउन लम्बिँदै गयो भने राहतका लागि पर्ने समस्या सँगै गर्मी बढ्दै गएका कारण नेपालीहरुमा स्वास्थ्यका समस्या देखिन हो कि भन्ने चिन्ता पनि त्यत्तिकै छ। भारतमा दोस्रो चरणको लकडाउन आगामी ३ मेसम्म लागू गरिएको छ। तर, संक्रमण नियन्त्रणमा आएन भने लकडाउन अझै लम्बिने सम्भावना छ। ‘लकडाउन अरु थप भयो भने चाहिँ स्थिति भयावह हुनसक्छ। चर्को गर्मीका कारण थप अन्य रोग लाग्ने जोखिम पनि बढ्दैछ। एउटै ठाउँमा बस्ने भएकाले गर्मी बढेका कारण बस्नका लागि समस्या छ। बाहिर बस्न सक्ने अवस्था छैन। घरभित्रै पंखा र कुलर पनि केही छैन,’ खड्काले भने।

Published on: 21 April 2020 | Kantipur

Link

Back to list

;