s

लकडाउनका कारण २२ दशमलव ५ प्रतिशत मानिसले रोजगारी गुमाए

कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि निजी क्षेत्रमा काम गर्ने २२ दशमलव ५ प्रतिशत मानिसले रोजगारी गुमाएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोभिड– १९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी सर्वेक्षण प्रतिवेदन’अनुसार २२ दशमलव ५ प्रतिशत कर्मचारी/कामदारहरूले रोजगारी गुमाएका छन् । यो अवधिमा होटेल, रेस्टुरेन्ट क्षेत्रमा सबैभन्दा बढी कर्मचारी/कामदारहरू कटौती भएको पाइएको छ ।

त्यस्तै घरेलु उद्योग, लघु उद्यमलगायतका खुद्रा व्यापारिक क्षेत्रमा सबैभन्दा धेरै कामदार कटौती भएको राष्ट्र बैंकले जनाएको छ । लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा र ३५ प्रतिशत आंशिक रूपमा सञ्चालनमा रहेका छन् । त्यसबाहेक ६१ प्रतिशत उद्योग व्यवसायहरू पूर्ण रूपमा बन्द भएका छन् ।

अधिकांश उद्योग/व्यवसायहरू बन्दा हुँदा अर्थतन्त्रमा गहिरो असर परेको निष्कर्ष राष्ट्र बैंकले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनको रहेको छ ।

लकडाउनको अवधिमा उद्योग/व्यवसायहरूले औसतमा १८ दशमलव २ प्रतिशत तलब कटौती गरेका छन् । अन्य सुविधामा पनि उल्लेख्य कटौती गरेको प्रतिवेदनमा उल्लेख छ ।

अधिमा उद्योग व्यवसायहरूले औसतमा ७३ दशमलव ८ प्रतिशत उत्पादन/कारोबार घटेको बताएका छन् । ठूलो परिमाणमा उद्योग/व्यवसायहरूको उत्पादन घट्नुले आर्थिक क्रियाकलापमा उल्लेख कमी आएको पुष्टि हुने राष्ट्र बैंकको निष्कर्ष छ ।

 सर्वेक्षणले अधिकांश उद्योग–व्यवसायहरूले नेपाल सरकारले बजेटमा व्यवस्था गरेअनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराए रोजगारीलाई पूर्ण रूपमा निरन्तरता दिन सक्ने देखाएको छ ।

Published on: 6 August 2020 | Nayapatrika

Link

Back to list

;